माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा


२०८२ कार्तिक ७ शुक्रबार १४:२३ बजे

काठमाडौँ : वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहमति बनेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

उनका अनुसार, चुनाव चिह्न र सङ्गठनात्मक संरचनाबारे भने अझै छलफल जारी छ । एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ, जसले एकता प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

सुरुवाती चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकबीच एकता गर्ने पहल भए पनि विप्लव समूह पछि हटिसकेको छ। अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टीबीच एकताको वार्ता निष्कर्षतर्फ बढेको बताइएको छ।

एक पदाधिकारीका अनुसार, कात्तिक मसान्तभित्रै एकताको टुङ्गो लाग्ने सम्भावना उच्च छ । प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएपछि निर्वाचन आयोगमा कात्तिक ३० भित्र दर्ता हुनुपर्ने संवैधानिक व्यवस्थाले पनि यी दलहरूलाई एकताको दिशातर्फ चाँडो बढ्न प्रेरित गरेको हो।

एकीकृत पार्टीको नेतृत्व माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने निश्चित भइसकेको छ। माधवकुमार नेपालको भूमिकाबारे भने सहसंयोजक वा अन्य जिम्मेवारीका विकल्पमा छलफल जारी छ।

दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई एकीकृत समितिमा समावेश गर्ने तयारी भइरहेको छ । यस अनुसार, माओवादी केन्द्रका ४०८ र समाजवादीका करिब ३४० सदस्य एकीकृत केन्द्रीय समिति बनाइने भएको छ। महिन्द्र राय यादवको पार्टी मिसिएपछि समिति सदस्य संख्या आठ सय नाघ्ने अनुमान गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७