माओवादी र एकीकृत समाजवादीको एकता रोक्न जनार्दन शर्माको माग
माओवादी आन्दोलनका बलिदानीको सपना र त्यागलाई बेवास्ता गर्ने एकता अस्वीकार्य
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा (एकीकृत समाजवादी) सँगको प्रस्तावित पार्टी एकता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा उनले यस्तो माग राखेका हुन्।
शर्माले बैठकमा एकता प्रक्रियालाई 'अध्ययन र पुनर्विचार आवश्यक रहेको' भन्दै स्थगित गर्नुपर्ने माग राखे । उनले भने, 'हामीले पार्टीको वैचारिक स्पष्टता, संगठन पुनर्गठन र जनपक्षीय दिशा तय नगरी हतारमा एकता गर्ने हो भने, त्यसले आन्दोलनलाई बलियो बनाउने होइन, कमजोर बनाउनेछ।'
उनका अनुसार एकीकृत समाजवादीसँगको तत्कालको एकता देशको विद्यमान राजनीतिक संकटको दीर्घकालीन समाधान बन्न सक्दैन । शर्माले माओवादी आन्दोलनका बलिदानीहरूको सपना, त्याग र जनआकांक्षालाई बेवास्ता गर्दै अन्धाधुन्ध एकता अघि बढाउन खोज्नु अनुचित हुने उनको टिप्पणी छ ।
'वैचारिक स्पष्टीकरण र संगठनात्मक तयारीबिना हुने एकता क्रान्तिकारी धारलाई कमजोर बनाउने र दक्षिणपन्थी प्रवृत्तिलाई बल पुर्याउने खतरा हुन्छ।' उनको भनाइ छ ।
उनले हतारमा गरिने एकता केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न त उपयोगी देखिन सक्ने तर व्यापक कम्युनिस्ट आन्दोलनका लागि हानिकारक हुने दाबी गरे। शर्मा भन्छन्, 'एकता दीर्घकालीन रूपमा सुदृढ बनाउन आवश्यक गृहकार्य र स्पष्ट दिशाबिना अघि बढ्नु आन्दोलनको हितमा हुँदैन।'
माओवादी केन्द्रको सचिवालय बैठकमा एकता प्रक्रिया, आगामी महाधिवेशन तयारी र संगठन पुनर्गठन सम्बन्धी एजेन्डामा छलफल जारी रहेको बताइएको छ ।
.gif)

.png)

