एकीकृत समाजवादी तीनतिर : माधव माओवादीसँग एकता, झलनाथ पुनर्गठन र रामकुमारी एमालेसँग


२०८२ कार्तिक १६ आइतबार १९:२९ बजे

काठमाडौँ : पार्टी एकता गर्ने निर्णयले एकीकृत समाजवादीमा विग्रह आएको छ । नेकपा (एकीकृत समाजवादी) र नेकपा(माओवादी केन्द्र)बीच एकता हुने भएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला गरेका छन् ।

माओवादीसँग एकता गर्ने नीतिगत निर्णय एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुले शनिबार छुट्टै भेला गरी पार्टी पुनर्गठन गर्नेबारे छलफल गरेका छन् । नेता दामोदर अर्यालले एकीकृत समाजवादीको पुनर्गठनमा उभिन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरिएको बताए ।

शनिबार भएको छुट्टै भेलामा खनाल र भुसालका साथै उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्यहरू जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुलीलगायत सहभागी थिए । नेता अर्यालका अनुसार केन्द्रीय कमिटीका ४५५ मध्ये १५८ जना पुनर्गठनको पक्षमा उभिने जानकारी दिएको दाबी गरे ।

यता, झलनाथ खनाल र घनश्याम भुसाल लगायतका नेताहरूले पार्टी पुनर्गठनको कुरा गरिरहे पनि केही नेताहरूले यसरी अल्झिन नहुने भन्दै एमालेसँग संवाद थालेको बताइएको छ ।

निवर्तमान सांसद तथा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले १९ गते पछि निर्णय गरिने बताएका छन् । उनले एमालेबाट पनि फर्किनको लागि आग्रह भएकाले त्यतातर्फ जाने सम्भावना रहेको संकेत गर्दै बीचमा त्यतिकै अल्झिन नहुने बताएका छन् ।

श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले छुट्टै छलफल गरिरहेका छन् । उनले घनश्याम भुसालको नेतृत्वमा अगाडि बढेको समूहमा नजाने भने निश्चित भएको उनले बताए । भुसालले आज बोलाएको छलफलमा पनि आफूहरू सहभागी नभएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई लक्ष्य गरी घर फर्कन आह्वान गरेका थिए । एमाले अध्यक्ष ओलीको आव्हानपछि एकीकृत समाजवादी पार्टीको एउटा समूह पुरानै पार्टी एमालेमा फर्किने गरी संवादमा जुटेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७