ओलीलाई फागुन २१ को निर्वाचनमा लतारेर ल्याउनुपर्छ : घनश्याम भुसाल

‘हामी विप्लवसँग मिलेर चुनावमा जान्छौँ’


२०८२ कार्तिक २८ शुक्रबार ११:१४ बजे

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का संयोजक घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २१ गतेको चुनावमा सबै मिलेर लतारेर ल्याउनुपर्ने बताएका छन् ।

ओलीकै कारण चुनाव बिथोलिनसक्ने भन्दै नेता भुसालले उनलाई चुनावमा सरकार, राजनीतिक दल र नागरिक समाजले लतारेर ल्याउनुपर्ने बताए ।

 ‘चुनावका लागि ओलीजी मात्रै वाधक हो। अरु कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो,’ भुसालले भने, ‘मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन।’

सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ।

‘अरु राजनीतिक वातवरणको हिसावले भन्नुहुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन,’ भुसालले थपे, ‘ओलीजीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ। उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न। उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन्।’ 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गर्ने म्यान्डेट पाएको छ । अन्य दल चुनावको तयारीमा लागिरहँदा एमाले भने संसद् पुनःस्थापनको पक्षमा छ ।

नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित निर्वाचनमा जाने बताए। ‘हामीसँग अलरेडी पार्टी छँदै छ। आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं। हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौं,’ भुसालले भने, ‘हामी विप्लवजीहरूसहित चुनावमा जान्छौं।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७