चुनावी परिणाम हार नभई भविष्यको लागि मूल्यवान बीउ : कुलमान घिसिङ
काठमाडौं : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा उम्मेदवार, प्रदेश र जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रमको पहिलो दिन उम्मेदवार, प्रदेश र जिल्ला संयोजकबीच गहन छलफल भएको थियो । छलफलमा निर्वाचनको अनुभव, जनसम्पर्कको स्वरूप, सङ्गठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौती, र छोटो समयमै पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिको विस्तृत विश्लेषण गरिएको थियो । सहभागीहरूले सीमित स्रोत र प्रारम्भिक सङ्गठनात्मक अवस्थाबाहेक पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गरेकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।
दोस्रो दिनको छलफलमा पहिलो दिनका समीक्षा प्रस्तुत गर्दै आगामी दिनमा पार्टीलाई व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्ति बनाउने साझा निष्कर्ष निकालिएको प्रवक्ता राजु थापाले जानकारी दिए ।
बैठकले पार्टीको सङ्गठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति, तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मको संरचना व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नभइ भविष्यको उज्यालो यात्राका मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताए । उनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सदभाव, विश्वास र जनसमर्थन प्राप्त गरेको भन्दै यस आधारमा सङ्गठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क, र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने बताए।
.gif)

.png)

