इरानबाट अमेरिकी सेना दुई–तीन हप्ताभित्र फिर्ता हुने ट्रम्पको दाबी
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य अभियान चाँडै सकिने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने घोषणा गरेका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरे।
ट्रम्पका अनुसार गत महिना इजरायलसँगको समन्वयमा सुरु भएको सैन्य अभियानको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमता ध्वस्त पार्नु थियो र उक्त लक्ष्य हासिल भइसकेको छ। अमेरिकी सेनाले अहिले ‘अन्तिम काम’ मात्र बाँकी राखेको र त्यसलाई पूरा गरिरहेको उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको आकाशमा पूर्ण रूपमा अमेरिकाको नियन्त्रण कायम भएको, इरानी सैन्य संरचना र पूर्वाधारहरू नष्ट भइसकेको तथा वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि नयाँ नेतृत्व कम कट्टरपन्थी र तर्कसंगत भएको बताएका छन्। उनले इरानी पक्षबाट कुनै प्रतिरोध नभएको दाबी पनि गरे।
इरानले वार्ताका लागि अनुरोध गरेको र अमेरिकाले तोकिएको समयमै त्यहाँबाट बाहिरिने स्पष्ट पारेको ट्रम्पले बताए। उनले भने, इरानले फेरि कहिल्यै आणविक हतियार बनाउन नसक्ने निश्चित भएपछि मात्रै पूर्ण रूपमा सैनिक फिर्ती हुनेछ। अमेरिकी प्रविधि कम्पनीहरूमाथि इरानले गरेको धम्कीबारे व्यङ्ग्य गर्दै ट्रम्पले अब त्यहाँ ‘सानो खेलौना बन्दुक’ बाहेक केही बाँकी नरहेको टिप्पणी गरे।
युद्धका कारण बढेको इन्धन मूल्यका विषयमा उनले अमेरिकी सेना फर्किएसँगै बजारमा तेलको मूल्य घट्ने आश्वासन पनि दिए। ट्रम्पले इरान पूर्ण रूपमा पराजित भएको र सम्झौता माग गरिरहेको दाबी गरे। यद्यपि, इरानले यसअघि यस्ता दाबीको खण्डन गर्दै आएको छ।
.gif)

.png)

