प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान
काठमाडौँ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको छ। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। जेठ ५ गते बस्ने समितिको अर्को बैठकमा प्राप्त भएका उजुरीहरू खोलिने र त्यसमाथि विस्तृत अध्ययन गरिने श्रेष्ठको भनाई छ ।
यस पटकको सिफारिसलाई नेपालको न्यायिक इतिहासमा निकै चासोका साथ हेरिएको छ। सर्वोच्च अदालतको रोलक्रममा चौथो स्थानमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको यो पहिलो घटना हो। सामान्यतया वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा रहे पनि यसपटक संवैधानिक परिषद्ले शर्माको नाम अघि सारेको हो।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा उनी नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्। संवैधानिक व्यवस्था अनुसार, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने प्रावधान छ।
.gif)

.png)

