कारागारका कैदीलाई होटल लगेर मासु-बियर खुवाएर युवती भेटाउने दुई प्रहरी बर्खास्त


२०८३ जेठ २१ बिहीबार १७:३४ बजे
एआइ तस्बिर

काठमाडौं, जेठ ४ – काठमाडौंस्थित केन्द्रीय कारागार, जगन्नाथदेवलमा ठगी कसुरमा कैद भुक्तान गरिरहेका अनुप भण्डारीलाई उपचारको बहानामा होटलमा लगेर 'मस्ती' गराउने दुई प्रहरी जवान सेवाबाट बर्खास्त भएका छन्। गत जेठ १ गते कैदी भण्डारीलाई 'उपचार गर्न' भन्दै सामाखुसीस्थित बिनायक अस्पताल तथा प्रसूति गृह प्रालि लैजाने बहानामा प्रहरीले बाटोमै होटलमा लगेका थिए।

सुरक्षाका लागि खटिएका प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले भण्डारीलाई हतकडीबिना नै दीप सागर गेस्ट हाउस पुर्‍याएका थिए। स्रोतका अनुसार, दिउँसो १:४५ बजेबाट गेस्ट हाउसको पहिलो तलाको कोठा नम्बर ५०२ मा भण्डारीले मासु र बियर सेवन गर्नुका साथै ३२ वर्षीया एक युवतीसँग ३ घण्टा समय बिताएका थिए। उक्त घटनाको पुष्टि गेस्ट हाउसका मेनेजर किसान गुरुङले पनि गरेका छन्।

कैदी भण्डारीले गेस्ट हाउसमा मासु र बियर खानुका साथै युवतीसँग पनि समय बिताएको सूचना चुहिएपछि प्रहरीले आन्तरिक छानबिन थालेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी ओम अधिकारीका अनुसार, घटनाको छानबिनपश्चात् पदीय आचरण र जिम्मेवारीको गम्भीर उल्लंघन भएको ठहर गर्दै उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो।

कारागारबाट अस्पताल लैजाने भनेर निकालिएका कैदीलाई होटलमा पुर्‍याई युवतीसँग भेट गराउने कार्य सुरक्षाकर्मीको चरम लापरबाही र पदीय मर्यादाविपरीत रहेको भन्दै प्रहरी प्रशासनले उनीहरूमाथि कारबाही गरेको हो। यस घटनाले कारागारको सुरक्षा संयन्त्र र कैदी व्यवस्थापनको विषयलाई लिएर गम्भीर प्रश्न उठाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७