पार्टीको कारबाहीविरुद्ध उद्धव थापा अदालत जाने

केन्द्रले समयमा मार्गनिर्देशन दिएन, त्यसैले संसदीय दलको बैठकबाट निर्णय लियौँ : थापा


२०८३ भदौ ४ बिहीबार २२:३८ बजे

काठमाडौँ : राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पार्टी कार्यसम्पादन समितिले आफूलाई साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको कारबाहीविरुद्ध आफू अदालत जाने उनले बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पार्टी केन्द्रले समयमा मार्गनिर्देशन नदिएपछि संसदीय दलको बैठक राखेर निर्णय लिनुपरेको बताए। संसदीय दलको बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको उनको भनाइ छ। उनले बागमती प्रदेशमा राप्रपा नभई सरकार नबन्ने परिस्थिति सिर्जना हुँदा आफूहरू अनिर्णयको बन्दी बनेको बताए। पार्टीभित्र एक महिनासम्म निरन्तर आफ्ना कुरा राखेको र अध्यक्षलाई समेत पटकपटक भेटेर निर्णयका लागि आग्रह गरे पनि सुनुवाइ नभएको उनको दाबी छ। 

साउन २० गतेको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको उल्लेख गर्दै थापाले ७२ घण्टाको सूचना आउँदासमेत निर्णय नआएपछि संसदीय दलको बैठक बोलाउनुपरेको बताए। ‘तपाईँले हाम्रो कुराको प्रतिनिधित्व गर्नुपर्छ, तपाईँ हाम्रो नेता हो, बैठक राख्नुस् र बहुमत सङ्ख्याले हामी सरकारमा जाने निर्णय गर्छौँ’ भन्दै सांसदहरूले आफूलाई आग्रह गरेको उनले बताए।

थापाका अनुसार आफ्नो अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूले सरकारमा गठबन्धन गर्ने अथवा उपयुक्त गठबन्धनसँग समन्वय गरेर सरकारमा जाने निर्णय गरेका थिए । बैठकले निर्णय गरेपछि आफूहरू सरकारमा सहभागी भएको उनले बताए। उनले पार्टीले गरेको कारबाहीको निर्णय आफूलाई आधिकारिक रूपमा प्राप्त भएपछि त्यसविरुद्ध अदालत जाने र न्याय खोज्ने बताए।

पार्टी स्थापनाकालदेखि नै आफूले काम गर्दै आएको उल्लेख गर्दै उनले कहिल्यै पार्टीको अहितमा काम नगरेको दाबी गरे। उनले आफू अहिले पनि राप्रपा बागमती प्रदेशको संसदीय दलको नेता र प्रदेशसभा सदस्य रहेको बताए। बहुमत सदस्यहरूले नहटाएसम्म आफू संसदीय दलको नेता नै रहने उनको भनाइ छ। 

सरकारमा गएर जनताको र देशको सेवा गर्ने आफूहरूको भावना रहेको बताउँदै थापाले राप्रपाका मन्त्रीहरूले चुस्त र दुरुस्त ढङ्गले स्पष्ट ‘डेलिभरी’ दिने दाबी गरे। ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्ने पार्टीका मान्छे हौँ हामी,’ उनले भने, ‘त्यही बमोजिम हामीले काम गर्छौँ।’

विगतमा ४७ दिन मन्त्रीका रूपमा काम गरेको अनुभव सुनाउँदै थापाले अहिलेको अवधिमा पनि निस्फिक्रीसाथ काम गर्ने बताए। उनले नवनियुक्त मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई सफल कार्यकालको शुभकामना दिँदै राप्रपाका मन्त्रीहरूले पनि काम गरेर देखाउन सक्ने दाबी गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७