दीपक भट्ट र सुलभविरुद्ध मुद्दा दायरको तयारी
हिमालयन रिइन्स्योरेन्स बाट मात्रै २ अर्ब ६३ करोड अपचलन
काठमाडौँ, २५ जेठ : नेपाली बीमा र धितोपत्र बजारमा भएको भनिएको अहिलेसम्मकै ठुलो घोटाला प्रकरणमा जोडिएका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालविरुद्ध मुद्दा लैजाने तयारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को झण्डै पौने तीन महिना लामो अनुसन्धानपछि उनीहरूविरुद्ध अदालतमा मुद्दा लैजाने तयारी गरिएको हो ।
सीआईबी र विभागको संयुक्त टोलीले तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा ३ वटा र विशेष अदालतमा ३ वटा गरी कुल ६ वटा मुद्दा दर्ता गर्न लागिएको सीआईबी स्रोतले जनाएको छ ।
४ अर्ब ६५ करोड बिगो दाबी, तत्कालीन पदाधिकारी पनि तानिने
अनुसन्धान अधिकारीहरूका अनुसार यो घोटाला प्रकरणमा कुल ४ अर्ब ६५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । बीमा क्षेत्रमा भएको यो ठुलो अपचलनमा तत्कालीन नीतिगत निर्णय गर्ने सरकारी पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । उच्च पदस्थ र तत्कालीन सरकारी पदाधिकारीहरूको हकमा भने थप विस्तृत छानबिन र कारबाहीका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सीआईबीले गरेको छ ।
'हिमालयन रिइन्स्योरेन्स' बाट मात्रै २ अर्ब ६३ करोड अपचलन
सीआईबीको माग दाबी अनुसार शेखर गोल्छा र दीपक भट्टको मुख्य लगानीमा खोलिएको 'हिमालयन रिइन्स्योरेन्स' ले मात्रै २ अर्ब ६३ करोड रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ । रिइन्स्योरेन्सको लाइसेन्स लिने प्रक्रियादेखि नै नीतिगत सेटिङ भएको र त्यसपछि अर्बौँ रुपैयाँ अवैध रूपमा चलाइएको अनुसन्धानबाट खुलेको हो । यो सिंगो गिरोह र घोटाला प्रकरणमा उच्च पदस्थ कर्मचारी, बिचौलिया र व्यापारी गरी झण्डै पौने एक सय (७५ जना) व्यक्तिहरू मुछिएका छन् ।
दुई जना हिरासतमा, एक जना बाहिरै
विगत लामो समयदेखि शक्ति केन्द्रको आडमा वित्तीय क्षेत्रमा रजगज गर्दै आएका बिचौलिया दीपक भट्ट गत चैत १९ गते र व्यवसायी सुलभ अग्रवाल चैत २१ गते पक्राउ परेका थिए । उनीहरू दुवै जनालाई अलग–अलग प्रहरी वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिँदै आएको थियो ।
यही प्रकरणमा जोडिएका अर्का प्रतिष्ठित व्यवसायी शेखर गोल्छाले भने सर्वोच्च अदालतबाट 'अन्तरिम आदेश' लिएका कारण बाहिरै बसेर मुद्दा लड्ने अनुमति पाएका छन् । उनलाई हिरासतमा नराखिए पनि मुद्दामा भने प्रतिवादी बनाइने बुझिएको छ । आज मुद्दा दायर भएसँगै भट्ट र अग्रवालको थुनछेक बहस सुरु हुनेछ ।
.gif)

.png)

