सुधन गुरूङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
काठमाडौँ : मन्त्रिपरिषदको बैठकले सम्पत्ति विवरणलगायतका विषयमा विवादमा परी पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ। सरकारले उनीमाथि लागेका आरोपहरूको सत्यतथ्य पत्ता लगाउन गठन गरेको छानबिन समितिले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदले उक्त फाइल अगाडि बढाउने निर्णय गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले छानबिन प्रतिवेदन सरकारको स्वामित्वमा आइसकेको र अब यसको सुक्ष्म अध्ययन गरिने जानकारी दिए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘छानबिन प्रतिवेदन फाइल ग्रहण गर्ने निर्णय भएको छ, अब यसमाथि विस्तृत अध्ययन होला।’
यसैबीच, विवादमा तानिएका निवर्तमान मन्त्री गुरूङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने गरी राजनीतिक वृत्तमा भइरहेको चर्चा र सम्भाव्यताबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा प्रवक्ता पोखरेलले तत्काल त्यस्तो कुनै सम्भावना नरहेको संकेत गरे। उनले गुरूङको पुनरागमनबारे हाल सरकार र मन्त्रिपरिषद भित्र कुनै पनि किसिमको छलफल वा तयारी नभएको प्रष्ट पारेका छन्।
निवर्तमान गृहमन्त्री गुरूङ आफ्नो सम्पत्ति विवरण र अन्य केही असमञ्जसपूर्ण विषयहरूलाई लिएर तीव्र विवादमा परेपछि नियुक्तिको २७ दिनमै पदबाट राजीनामा दिन बाध्य भएका थिए। उनीमाथि लागेका गम्भीर आरोपहरूमाथि छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको थियो, जसको प्रतिवेदनमाथि अब मन्त्रिपरिषदले अध्ययन गरेर थप कदम चाल्ने बताइएको छ।
.gif)

.png)

