‘अख्तियार पदाधिकारीलाई थुनेर प्रधानमन्त्री कार्यालयमा धम्क्याइएको’ भन्दै कांग्रेसको आपत्ति
माग्यो प्रधानमन्त्रीको धारणा
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिई दबाब दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको फेसबुक लाइभमा सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर राहदानी विभागका महानिर्देशकविरुद्ध पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरेका छन्। लोकतन्त्र र सुशासनको नारा दिने वर्तमान सरकारको कार्यशैलीलाई ‘लज्जास्पद’ भन्दै सांसद केरुङले संवैधानिक निकायको स्वतन्त्रतामाथि भएको भनिएको यस्तो हस्तक्षेपको सत्यतथ्य छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न सरकारसँग जोडदार माग गरेका छन्।
‘अत्यन्त गम्भीर विषय छ, पत्रकार सीताराम बरालले प्रधानमन्त्री कार्यालय अघिबाट लाइभमा भन्नुभएको छ। नागरिक सर्वोच्चता भएको यो मुलुकमा लोकतन्त्र र सुशासनको नारा दिएर स्थापित भएको यो सरकारको कार्यशैलीप्रति लज्जाजनक विषयबस्तु बाहिर निस्केको छ। संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर त्यहाँबाटै पक्राउ पूर्जी जारी गर्न बाध्य बनाउने र नभए निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको बाहिर आएको छ,’ उनले भने, ‘यो विषय के हो सत्यतथ्य आउनुपर्छ। प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ। संसदीय छानबिन समिति गठन पनि गठन गर्नुपर्छ।’
.gif)

.png)

