पार्टी एकता बारेमा ओलीले भने : समूहगत होइन, व्यक्तिलाई मात्र समेट्छौं


२०८३ असार १६ मंगलबार १६:४४ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै नेता तथा कार्यकर्ताहरूलाई यस्तो भ्रममा नपर्न आग्रह गरेका छन्। एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संस्थागत वा समूहगत एकताको अध्याय बन्द भएको बताएका छन्।

उनले भने, "विगतमा एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच मात्र देखिए। पार्टी एकतामा पवित्रता चाहिन्छ, जुन विगतमा देखिएन। त्यसैले अब कुनै पनि समूह वा संस्थासँग एकता हुँदैन, तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने हामी उदारताका साथ समेट्छौं।" यद्यपि, अध्यक्ष ओलीले अपहरित लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिहरूसँग 'कार्यगत एकता' गरी संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले भदौ २३ र २४ गतेका घटना तथा निर्वाचन प्रक्रियालाई 'नाटक' को संज्ञा दिँदै आयोगले अपराधका घटनालाई ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन्। "गोली कसले चलायो र सुरक्षा संयन्त्र किन निस्प्रभावी भयो भन्ने विषय प्रतिवेदनमा नसमेटिनुले यो आयोग केवल अपराध ढाकछोप गर्न बनेको पुष्टि हुन्छ," ओलीले भने।

अन्तमा, अध्यक्ष ओलीले पार्टीलाई थप सुदृढ र विजयतर्फ अगाडि बढाउन आवश्यक राय, सुझाव र योजनासहित अघि बढ्न मातहतका कमिटी र नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७