‘स्पेनले निकै अनुशासित रक्षात्मक खेल खेल्यो, उनीहरूले हामीलाई पर्याप्त ठाउँ दिएनन्’ : डेसच्याम्प्स


२०८३ असार ३१ बुधबार १६:२६ बजे

काठमाडौं।  फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएपछि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो टोली अपेक्षित स्तरमा खेल्न नसकेको स्वीकार गरेका छन्।

खेलपछि प्रतिक्रिया दिँदै उनले भने, “यदि जित्ने हो भने हामी आफ्नो उत्कृष्ट स्तरमा हुनुपर्थ्यो। दुर्भाग्यवश, आज हामी त्यो स्तरमा पुग्न सकेनौँ।” स्पेनले खेलको २२औँ मिनेटमा मिकेल ओयारजाबालको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। त्यसपछि ५८औँ मिनेटमा डानी ओल्मोको पासमा पेड्रो पोरोले दोस्रो गोल गर्दै स्पेनको फाइनल यात्रा सुनिश्चित गरे।

डेसच्याम्प्सले स्पेनको रक्षात्मक प्रदर्शनको प्रशंसा गर्दै भने, “स्पेनले निकै अनुशासित रक्षात्मक खेल खेल्यो। उनीहरूले हामीलाई पर्याप्त ठाउँ दिएनन्। हामीले प्राविधिक गल्ती गरिरहँदा उनीहरूलाई दबाबमा पार्न निकै कठिन भयो।”

समूह चरणदेखि क्वार्टरफाइनलसम्म किलियन एम्बाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसेले संयुक्त रूपमा १३ गोल र १० असिस्ट गरेका थिए। तर सेमिफाइनलमा स्पेनविरुद्ध उनीहरू प्रभावहीन देखिए र तीनै जनाले मिलेर केवल पाँच प्रहार मात्र गर्न सके।

डेसच्याम्प्सका अनुसार स्पेन पासिङ, खेल निर्माण र विपक्षीको रणनीति बुझ्नमा स्पष्ट रूपमा उत्कृष्ट देखिएको थियो। उनले भने, “हामीले खेलको समाधान खोज्न सकेनौँ। हाम्रो आक्रमण र प्राविधिक क्षमता कमजोर हुनुका साथै स्पेनको उत्कृष्ट प्रदर्शनले पनि हामीलाई रोक्यो।”

फ्रान्सका प्रशिक्षकले खेलका रेफ्री इभान आर्सिडेस बार्टन सिस्नेरोको निर्णयप्रति पनि असन्तुष्टि जनाए। लामिन यामालमाथि भएको फाउलमा दिइएको पेनाल्टीसहित केही निर्णयबारे प्रश्न उठाउँदै उनले भने, “धेरै बोल्दा हार स्वीकार्न नसकेको जस्तो देखिन सक्छ, तर प्रश्न उठ्छ-के रेफ्री विश्वकपको सेमिफाइनल खेल सञ्चालन गर्न योग्य स्तरका थिए?”

यस हारसँगै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल पुग्ने सपना समाप्त भएको छ। यद्यपि फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल र लगातार चौथो पटक क्वार्टरफाइनलसम्म पुग्न सफल भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७