वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बाश्री पुरस्कार
काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखिका वीणा जोशी (राजभण्डारी) को 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)' पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीको आइतबार बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तक मध्येबाट जोशीको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको हो।
नेवार समुदायमा पुस्तौंदेखि चलिआएको परम्परागत मुकुन्डोनाचको सङ्कलन, अभिलेखीकरण र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएकाले उक्त कृतिलाई पुरस्कारका लागि छनोट गरिएको गुठीले जनाएको छ। यसअघि मदन पुरस्कारका लागि १० वटा कृति ‘मदन पुरस्कार श्रेष्ठ सूची–२०८२’ मा समावेश गरिएका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ थिए।
यसैगरी, मदन पुरस्कार गुठीले छ दशकदेखि नेपाली गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई २०८२ सालको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली गीत लेखनमा लामो समयदेखि पुर्याएको योगदानको सम्मानस्वरूप खरेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिले मदन पुरस्कार पाएका थिए।
त्यस्तै, रानी जगदम्बाको स्मृतिमा २०४५ सालमा स्थापना गरिएको जगदम्बा–श्री पुरस्कार पहिलोपटक नेपाली संगीतका गायक नारायण गोपाललाई प्रदान गरिएको थियो। गुठीले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना जनाएको छ। साथै, विपत्तिमा हराइरहेकाहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत र सहयोगमा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ।
.gif)

.png)

