सरकार बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन,स्टाटसमा सीमित रहनु हुँदैन : गगन थापा


२०८३ श्रावण १३ बुधबार ११:०० बजे

काठमाडौं :  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुनसरी घटनाप्रति प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भूमिकाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा धारणा राखेर मात्र नपुग्ने बताएका छन्।

बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

‘यो बेलामा प्रधानमन्त्रीले सबैसँग सम्पर्क गर्नुपर्दैन? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन? सबैको प्रधानमन्त्री बनेर सबैलाई जोडेर लैजाने प्रयास गर्नुपर्दैन? हामीलाई त गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘सरकार बन्दुकको गोली र लाठीमा मात्र देखिनु हुँदैन। स्टाटसहरूमा मात्र सीमित रहनु हुँदैन।’

थापाले सरकारले अभिभावक मात्र नभई नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरले सहकार्य गर्न सक्नुपर्छ, अरूलाई विश्वास गर्न सक्नुपर्छ, अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ उनले भने।

उनका अनुसार यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग भेट गर्ने, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने तथा सरकारले गरिरहेका प्रयासबारे सबैलाई जानकारी गराएर साझा पहलको वातावरण बनाउनुपर्ने थियो।

थापाले भूकम्प र कोभिड–१९ महामारीका बेला पनि राजनीतिक मतभेद हुँदाहुँदै प्रधानमन्त्रीको आह्वानमा सबै दल एकै ठाउँमा उभिएको स्मरण गराउँदै संकटका बेला राष्ट्रिय एकता प्रदर्शन गर्नु नेपाली राजनीतिक दलहरूको परम्परा रहेको बताए।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए।

गत आइतबार मध्यराति सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उक्त घटनाबारे मंगलबार राति फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७