अब समय छैन, कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसक्यो : गगन थापा
‘आजबाट कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु भयो’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताएका छन्। सानेपामा आयोजित निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने स्पष्ट पारे।
उनले पार्टी संविधान, विधान, विशेष महाधिवेशनको निर्णय तथा अदालतको फैसलासमेत पालना गर्नुपर्ने भएकाले महाधिवेशनका लागि अब पर्याप्त समय नरहेको बताए।
‘हामीसँग अब समयको सुविधा छैन। हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको निर्णयबाट पनि बाँधिएका छौँ,’ थापाले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने आधार बनाइएको छ। त्यसले पनि हामीहरू बाँधिएका छौँ। थोरै समयमा काम गर्नुपर्नेछ।’
थापाले यसपटक कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्नुका साथै डिजिटल प्रणालीमा व्यवस्थित गरिएकाले विगतको तुलनामा अधिवेशन प्रक्रिया सहज हुने दाबी गरे। कांग्रेसमा करिब आठ लाख क्रियाशील सदस्य रहेको उनले जानकारी दिए।
उनले महाधिवेशनका क्रममा कुनै प्रश्न उठ्ने अवस्था नआउने गरी निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्वाचन अधिकृतहरूलाई आग्रह गरे। ‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो। निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, त्यही कार्यतालिका हामी सबैले पालना गर्ने हो,’ उनले भने।
केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति र स्थान तय गरिसकेको भन्दै थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताए। त्यसअघि कुन–कुन तहको अधिवेशन कहिले र कसरी गर्ने भन्ने विषय निर्वाचन समितिले तयार गर्ने कार्यतालिकाअनुसार अघि बढ्ने उनको भनाइ छ।
असन्तुष्ट नेतासँग संवाद जारी
सभापति थापाले महाधिवेशनको प्रक्रिया र अन्य विषयमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग आफू निरन्तर संवादमा रहेको बताए। ‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन, म उहाँहरूसँग संवादमा छु,’ उनले भने।
पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। थापाले कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादसमेत समाधान भइसकेको दाबी गरे।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले क्रियाशील सदस्यताको काम टुंग्याएको र त्यसलाई निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले बताए। महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन आवश्यक समितिहरूका विषयमा खुला छलफल गर्न आफू तयार रहेको पनि थापाले बताए।
‘राजनीतिक कुरा छलफल भइरहन्छ। तर हामीसँग अब समय छैन। महाधिवेशन प्रक्रिया सुरु भयो,’ उनले भने।
.gif)

.png)

