विश्वकप निजीकरणको योजना तुहियो, विश्वकप बहिष्कारको चेतावनीपछि फिफा अध्यक्ष पछि हटे
४० मिलियन डलरको प्रस्ताव पनि काम लागेन, इन्फान्टिनोले विवादास्पद योजना त्यागे
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका प्रमुख प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई स्वामित्वको हिस्सा बिक्री गर्ने विवादास्पद योजना अन्ततः रद्द गरेका छन्। युरोप, एसिया र अमेरिकाका फुटबल महासंघहरूको तीव्र विरोधपछि उनले उक्त निर्णय लिएका हुन्।
इन्फान्टिनोले यो परियोजनाले 'फुटबल समुदायभित्र विभाजन सिर्जना गरेको' र अब यो "यसको मूल उद्देश्यको हितमा नरहेको" स्पष्ट भएको बताए। उनले भने, 'यसका कारण यो प्रस्ताव अब अगाडि बढाइने छैन।'
यसअघि इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत फिफाका २११ सदस्य राष्ट्रिय फुटबल संघलाई ४० मिलियन अमेरिकी डलर (करिब ३ करोड पाउन्ड) उपलब्ध गराउने प्रस्ताव गरेका थिए।
तर युरोपेली फुटबल महासंघ (यूईएफए) अन्तर्गतका ५५ सदस्य संघले बिहीबार उक्त योजनाको कडा विरोध गर्दै प्रस्ताव कार्यान्वयन भए विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएका थिए। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरले फिफाको आफ्नै प्रशासनसमेत यस परियोजनाबारे 'भ्रममा पारिएको' बताएका छन्।
यस्तै, फिफाका विश्वव्यापी रणनीति तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पनि असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। उनले उक्त प्रस्तावलाई 'फुटबलका लागि खराब सम्झौता' भन्दै यसले 'फुटबलको भविष्य नै धितो राख्ने' टिप्पणी गरेका छन्।
यसअघि उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल सञ्चालन गर्ने कन्काकाफले पनि आफ्ना सदस्यहरूले उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको थियो। स्रोतहरूका अनुसार त्यस क्षेत्रका अधिकांश सदस्य संघले इन्फान्टिनोप्रतिको विश्वास गुमाइसकेका छन् वा गुमाउँदै गएका छन्।
एशियाली फुटबल महासंघ (एएफसी) ले यूईएफए र कन्काकाफसँग ऐक्यबद्धता जनाएको छ। यस्तै, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनोलाई फिफाको नेतृत्वका लागि "गलत व्यक्ति" भएको टिप्पणी गरेका छन्।
५६ वर्षीय इन्फान्टिनो आगामी मार्चमा हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। तर यो विवादपछि उनीमाथि नेतृत्वमाथिको विश्वास जोगाउने चुनौती थपिएको छ।
अब उनले फुटबलको 'साझा हितको भावना' अनुरूप सबै सरोकारवालालाई पुनः एउटै ठाउँमा ल्याई सहमति र एकताको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
.gif)

.png)

