किशोर श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठको आक्रोश : देशमा प्रजातन्त्र सकियो, राणा शासन आयो
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि उनकी पत्नी सरस्वती श्रेष्ठले घटनाबारे सार्वजनिक रूपमा धारणा राखेकी छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालमा प्रजातन्त्र कमजोर बन्दै गएको र ‘राणा शासन’ फर्किएकोजस्तो अवस्था देखिएको टिप्पणी गरेकी छन्।
श्रीमानको बचाउ गर्दै सरस्वतीले फेसबुकमा सार्वजनिक गरिएको तस्बिर पत्रिकामा प्रकाशित हुँदैमा वैयक्तिक स्वतन्त्रता हनन भएको मान्न नहुने दाबी गरिन्। उनले समाचारको विषयमा आपत्ति भए कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने बताइन्।
उनले किशोर श्रेष्ठले करिब ३८ वर्षदेखि पत्रकारितामार्फत बेथिति र विकृतिविरुद्ध कलम चलाउँदै आएको उल्लेख गर्दै पत्रकारिताको सीमा र जिम्मेवारीबारे आफूहरू जानकार रहेको बताइन्। प्रेस काउन्सिलको अध्यक्षसमेत भइसकेका व्यक्तिलाई पत्रकारिताको सीमा थाहा नभएको भन्न नमिल्ने उनको तर्क थियो।
सरस्वतीले पत्रकारलाई पक्राउ गर्ने क्रमले आगामी दिनमा अन्य पत्रकारसमेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिन्। सरकार पत्रकारप्रति निरंकुश बन्दै गएको आरोप लगाउँदै उनले सरकारलाई मन नपर्ने विषयमा समाचार लेख्ने पत्रकारमाथि समेत कारबाही हुन सक्ने दाबी गरिन्।
उनले भनिन्, ‘जो उनीहरूको विरुद्धमा बोल्छ, तिनीहरूको घाँटी अँठ्याउने—मानौँ यहाँ राणा शासन छ। प्रजातन्त्र छैन यहाँ।’ पञ्चायतविरुद्ध संघर्ष गरेर ल्याइएको प्रजातन्त्र समाप्त भएकोजस्तो आफूलाई लागेको उनको भनाइ थियो।
सरस्वतीले किशोर श्रेष्ठले महिला तथा पुरुषसँग सम्बन्धित सामाजिक विकृति, भ्रष्टाचार, बिचौलियालगायतका विषयमा निरन्तर लेख्दै आएको उल्लेख गर्दै जनआस्था साप्ताहिकको विगत हेर्नसमेत आग्रह गरिन्।
उनले किशोर श्रेष्ठको पक्राउलाई लिएर प्रहरीको कारबाहीमाथि पनि प्रश्न उठाइन्। घटनासँग सम्बन्धित अन्य पक्षमाथि समेत अनुसन्धान हुनुपर्ने बताउँदै उनले उपलब्ध प्रमाण, सीसीटीभी फुटेज तथा आर्थिक कारोबारलगायतका विषय अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखिन्।
सरस्वतीले किशोर श्रेष्ठमाथिको कारबाहीलाई आफूहरूले प्रतिशोधका रूपमा लिएको समेत बताइन्। घटनाको निष्पक्ष छानबिन गरी पत्रकारिता तथा प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्नुपर्ने उनको माग छ।
.gif)

.png)

