रोल्पामा ५ दिनमै पहिरोले १८ जनाको मृत्यु, जाजरकोटमा १० घाइते, ३ बेपत्ता


२०८३ श्रावण ३१ आइतबार ०९:११ बजे

रूपन्देही :  लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा पाँच दिनको अवधिमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। गएराति पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो। प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर पुरिएकी गुरुङको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले घटनाको पुष्टि गरेका छन्।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले जनजीवन प्रभावित भइरहेको प्रहरीले जनाएको छ।

जाजरकोटमा १० घाइते, तीन जना बेपत्ता

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।

हिजो दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घरहरू भत्किनुका साथै केही घर जोखिममा परेपछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ।

पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ की ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी घाइते भएकामध्ये रिसाङका ६० वर्षीय रामबहादुर शाहीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ भने उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ। डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् भने उनको अवस्था मध्यम रहेको छ।

डौरीकाँडाकै १६ वर्षीया मनिषा विक शरीरमा चोट लागेर घाइते भएकी छन् र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको पनि स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ र उनको पनि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा भने हाल मानिस बसोबास नगर्ने जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७