१५औँ महाधिवेशनमा होमियो कांग्रेस, यस्तो छ निर्वाचन कार्यतालिका

वडादेखि केन्द्रसम्म महाधिवेशन तालिका तय, असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन


२०८३ भदौ २ मंगलबार २०:३१ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोजमा हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको हो।

ललितपुरस्थित बी.पी. स्मृति भवनमा बसेको निर्वाचन समितिको बैठकले पार्टी विधानको धारा ३५ (२) (च) अनुसार वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको मिति निर्धारण गरेको हो। संविधान, प्रचलित कानुन र पार्टी विधानलाई आधार बनाएर केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति तय गरेपछि निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको जनाएको छ।

संशोधित तालिकाअनुसार कांग्रेसको अधिवेशन प्रक्रिया भदौ २४ गते वडा अधिवेशनबाट सुरु हुनेछ। देशभरका ६ हजार ७४३ वटै वडामा सोही दिन अधिवेशन गर्ने कार्यतालिका छ। त्यसपछि भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पनि असोज ३ गते नै गर्ने तय भएको छ।

त्यसैगरी, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। यी सबै तहका अधिवेशन सम्पन्न भएपछि असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन हुनेछ।

निर्वाचन प्रतिनिधिदेखि अधिकृतसम्मको तयारी

निर्वाचन समितिकाअनुसार अधिवेशनलाई लक्षित गर्दै भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई सम्बन्धित जिल्लामा खटाइनेछ। वडा तहमा निर्वाचन प्रतिनिधि खटाउने काम भदौ १५ गते हुनेछ भने भदौ १६ देखि २० गतेसम्म वडास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ। हालसम्म अमेरिका, फ्रान्स, नेदरल्याण्ड, जापान र दक्षिण कोरियालगायत १५ देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको समितिको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार वर्षातको मौसम तथा पार्टीभित्र जारी आन्तरिक छलफलका कारण केही समय थप गरेर निर्वाचन कार्यतालिका परिमार्जन गरिएको हो। यससँगै कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अब वडा तहबाट औपचारिक रूपमा अघि बढ्ने भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७