प्रशिक्षार्थी चिकित्सकमाथि श्रम शोषण रोक्ने सरकारको प्रतिबद्धता
प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको श्रम अवधि र बिदामा सरकारको चासो
काठमाडौं : प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकमाथि हुने श्रम शोषण रोक्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकसँग भएको छलफलमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीश अग्रवालले चिकित्सकको श्रम, पारिश्रमिक र आरामलाई सन्तुलित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अग्रवालले चिकित्सकमाथि मानसिक तथा शारीरिक चाप हुन नहुने भन्दै कुनै पनि प्रकारको शोषण हुन नदिने बताए। चिकित्सकको श्रम अवधि, पारिश्रमिक र बिदाबीच आवश्यक सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। चिकित्सकहरूको स्तरवृद्धि तथा स्वास्थ्य क्षेत्रमा रहेका विकृति अन्त्यका लागि नियमित अनुगमन गरिने पनि उनले बताए।
छलफलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले चिकित्सकको श्रम अवधि र आराम सुनिश्चित गर्न नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले चिकित्सकका लागि ९० प्रतिशत हाजिरी अनिवार्य गर्ने र हप्तामा एक दिन बिदाको व्यवस्था गर्नुपर्ने धारणा राखे। प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको काम गर्ने समय, पारिश्रमिक र बिदासम्बन्धी विषयमा लामो समयदेखि उठ्दै आएको प्रश्नलाई सम्बोधन गर्न नीतिगत पहल आवश्यक रहेको छलफलमा सहभागीहरूले बताएका थिए।
.gif)

.png)

