संसदमा रुखो व्यवहार गरेको भन्दै आलोचना, मर्यादित हुन सभापति रवि लामिछानेको निर्देशन
मन्त्री–सांसदको प्रस्तुतिमाथि रास्वपाको समीक्षा, संयमित हुन निर्देशन
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो।
बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले अपनाउने व्यवहार र भाषाप्रति विशेष चासो राखेका थिए। पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही सन्दर्भमा रास्वपाले आफ्ना सांसदसँग छलफल गरेको हो।
छलफलका क्रममा जनताका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको जनाइएको छ। संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्।
रास्वपाका सांसदहरूले संसदीय समिति तथा संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही विषयलाई ध्यानमा राखेर सभापति लामिछानेले आफ्नो प्रस्तुति र व्यवहारमा सुधार ल्याउन सांसदहरूलाई निर्देशन दिएको जनाइएको छ।
.gif)

.png)

