राष्ट्र बैंकको नयाँ व्यवस्थाको ‘हायर पर्चेज’ कम्पनीद्वारा स्वागत
बैंकिङ पहुँचबाहिरका उपभोक्तालाई सहज हुनेछ : अध्यक्ष अग्रवाल
काठमाडौं : नेपाल राष्ट्र बैंकले जारी गरेको ‘हायर पर्चेज’ कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था–२०८३’ को एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले स्वागत गरेको छ। एसोसिएसनले विज्ञप्ती जारी गरी नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको भूमिकालाई थप व्यवस्थित बनाउनुका साथै बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्ता र व्यवसायीलाई वित्तीय सेवामा जोड्न सहज हुने विश्वास व्यक्त गरेको छ।
नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई ग्राहकबाट १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गर्नुका साथै स्प्रेडको समस्या सम्बोधन गरेको एसोसिएसनको भनाइ छ। कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गरिनुले संस्थागत स्थायित्व र लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने उसको अपेक्षा छ। हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन्। ती कम्पनीले मोबाइल फोन, होम अप्लायन्स, विद्युतीय उपकरण, मोटरसाइकल, रिकन्डिसन्ड सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन्।
एसोसिएसनका अध्यक्ष विष्णुकुमार अग्रवालले हायर पर्चेज कम्पनीको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा लिन नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु रहेको बताए। उनका अनुसार पछिल्लो समय हायर पर्चेज कम्पनीको सेवा सवारीसाधन र हेभी इक्विपमेन्टमा मात्र सीमित नभई साना विद्युतीय तथा घरायसी उपकरणसम्म विस्तार भएको छ।
हायर पर्चेज कम्पनीले साना उद्यमी, व्यवसायी तथा बैंकिङ पहुँच कम भएका उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै नयाँ उद्यम र रोजगारी सिर्जनामा समेत योगदान गरिरहेको एसोसिएसनको दाबी छ। नयाँ व्यवस्थाले विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने प्रावधान राखेकाले बैंक तथा वित्तीय संस्थाको पहुँच कम भएका दूरदराजका क्षेत्रमा समेत सेवा विस्तार गर्न सहयोग पुग्ने एसोसिएसनले जनाएको छ।
यद्यपि कर्जा असुली प्रक्रियासँग सम्बन्धित केही विषय अझै स्पष्ट र व्यावहारिक बन्न बाँकी रहेको उसको भनाइ छ। विशेषगरी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा लिलामीका सवारीसाधन दर्ता गर्ने व्यवस्था तथा ऋण असुली न्यायाधिकरणको सेवा हायर पर्चेज कम्पनीले पनि प्रयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने माग एसोसिएसनले अघि सारेको छ। समग्रमा राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज क्षेत्रलाई थप व्यवस्थित, दिगो र सेवामुखी बनाउन सहयोग गर्ने एसोसिएसनको निष्कर्ष छ।
.gif)

.png)

