टिमुरेमा भीषण बाढी : सशस्त्रका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन
काठमाडौं : रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे चीनतर्फबाट आएको ठूलो बाढीले टिमुरे बजारमा व्यापक क्षति पुर्याएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा भने बाढीले क्षति नपुर्याएको बताइएको छ। बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा र १५ जना सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ।
बाढीसँगै आएको लेदो र माटोले टिमुरे बजारका घर, पसल तथा सवारीसाधनमा क्षति पुर्याएको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
.gif)

.png)

