बाढीले राहुघाट आयोजनामा क्षति


२०८३ असोज ११ आइतबार १५:१० बजे
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको पाँच दिनमै ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको टेलरेसमा बाढीले क्षति पुर्‍याएको हो। 

कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार अहिलेसम्म टेलरेसमा क्षति पुगेको पाइएको छ। अविरल वर्षापछि आएको बाढीका कारण कालीगण्डकी करिडोरमा रहेका सबै जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको उनले बताए। 

आयोजनाका २०/२० मेगावाट क्षमताका दुई युनिटबाट परीक्षण उत्पादन सुरु भएको थियो। बुधबार मात्रै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी थियो। 

आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ। त्यसमध्ये करिब ३४ प्रतिशत ऊर्जा सुक्खा याममा उत्पादन हुनेछ। निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ। 

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा भारतको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणबाट आयोजनाको वित्तीय व्यवस्थापन गरिएको हो। कम्पनीका अनुसार आयोजनामा भारतको एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर ऋण रहेको छ।

आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि भारतको जयप्रकाश एसोसिएट्स लिमिटेडसँग ईपीसी ढाँचामा ठेक्का सम्झौता गरिएको थियो। इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको निर्माण सुपरिवेक्षण भारतको वाप्कोस लिमिटेडले गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७