बाढीको वितण्डाः त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो
नुवाकोट : रसुवाबाट त्रिशूली नदी हुँदै आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजारदेखि देवीघाट क्षेत्रसम्म ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले घर, पुल तथा जलविद्युत् र सौर्य ऊर्जाका संरचनामा व्यापक क्षति पुर्याए पनि समयमै प्राप्त पूर्वसूचनाका कारण मानवीय क्षति हुनबाट जोगिएको छ।
बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त भएपछि त्रिशूली नदी आसपासका स्थानीय बासिन्दा समयमै सुरक्षित स्थानतर्फ सरेका थिए। यही कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्। तर बाढीको वेगले त्रिशूली बजार आसपासका करिब ६० घरमा क्षति पुर्याएको छ। नदीमा रहेका दुईवटा पक्की पुलसमेत बाढीले बगाएको छ। कतिपय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य संरचनामा पनि ठूलो क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीको प्रभाव ऊर्जा क्षेत्रमा अझ गम्भीर देखिएको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका संरचनामा बाढीले क्षति पुर्याएको छ। यसले जिल्लाको विद्युत् उत्पादन तथा आपूर्ति प्रणालीमा समेत असर पर्न सक्ने देखिएको छ। त्यसैगरी २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्टका तीनवटा ब्लक तथा सबस्टेसनसमेत बाढीले बगाएको छ। ऊर्जा उत्पादनसँग सम्बन्धित महत्वपूर्ण संरचना नै क्षतिग्रस्त भएपछि क्षतिको आर्थिक परिमाणसमेत ठूलो हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रशासनले बाढी प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा स्थलगत मूल्यांकनको काम अघि बढाएको छ। पूर्ण विवरण संकलन भएपछि घर, पुल, जलविद्युत् आयोजना, सौर्य प्लान्टलगायतका संरचनामा भएको क्षतिको यकिन तथ्यांक सार्वजनिक गरिने जनाइएको छ।
पूर्वसूचनाका कारण मानवीय क्षति टरे पनि बाढीले नुवाकोटको भौतिक तथा ऊर्जा पूर्वाधारमा पारेको प्रभाव गम्भीर देखिएको छ। अहिले प्रशासन तथा सम्बन्धित निकायको प्राथमिकता प्रभावित क्षेत्रको अवस्था मूल्यांकन, जोखिममा रहेका संरचनाको पहिचान र आवश्यक उद्धार तथा पुनःस्थापनातर्फ केन्द्रित भएको छ।
.gif)

.png)

