बाढीले तहसनहस टिमुरे बजार, जंगलको शरण लिएर बसेका ४०–५० जना उद्धारको पर्खाइमा
रसुवा : बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले बजारका अधिकांश संरचना प्रभावित बनाउनुका साथै ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ। टिमुरे भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बिहान करिब साढे ८ देखि पौने ९ बजेको बीचमा भुइँचालोजस्तो कम्पन र ठूलो आवाज सुनिएपछि एक्कासि माथिल्लो क्षेत्रबाट बाढी बजारतर्फ आएको थियो।
बाढी कार्यालय नजिकै आइपुगेपछि कर्मचारीहरू ज्यान जोगाउन भागेका थिए। केही कर्मचारी भने कार्यालयबाट बाहिर निस्कनसमेत नभ्याएको ढुंगानाले बताएका छन्। उनका अनुसार घटनाका बेला भन्सार कार्यालयमा करिब ३० देखि ४० जना कर्मचारी थिए। अचानक आएको बाढीले टिमुरे बजारलाई ठूलो क्षति पुर्याएको छ। बजारका अधिकांश मानिसको अवस्था यकिन हुन नसकेको र धेरै जना सम्पर्कविहीन रहेको ढुंगानाले बताएका छन्।
बाढीपछि करिब १५ देखि २० जना कर्मचारी तथा स्थानीयसहित ४० देखि ५० जनाको समूह बजारभन्दा माथिको जंगल क्षेत्रमा आश्रय लिएर बसेको छ। उनीहरू सुरक्षित स्थानमा रहे पनि उद्धार टोलीसँग सम्पर्क हुन नसकेको बताइएको छ। बाढीको पानी केही घटिसकेको भए पनि बजारमा झरेर बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि तत्काल तल झर्न सक्ने अवस्था नरहेको ढुंगानाले बताए। उद्धार टोलीसमेत आफूहरूसँग सम्पर्कमा नआएको र माथिल्लो क्षेत्रमा बाढीले पुर्याएको क्षतिको यकिन जानकारीसमेत प्राप्त नभएको उनको भनाइ छ।
घटनापछि टिमुरे क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ। बाढीको वास्तविक कारण, बेपत्ता तथा प्रभावितको संख्या र भौतिक क्षतिको विवरण अझै स्पष्ट हुन सकेको छैन। उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था आकलन गरेपछि मात्रै क्षतिको यकिन विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

