शव व्यवस्थापनबारे सरकारलाई सुझाव दिएका सहसचिव निरौलालाई रसुवा खटाइयो
काठमाडौं : विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सुझाव दिएका नेपाल सरकारका सहसचिव तथा कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर खटाएको छ। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाएको हो।
मन्त्रालयले उनलाई भोटेकोशी बाढीपछि हराएका तथा बेपत्ता व्यक्तिको खोजी, उद्धार र विशेषगरी शव व्यवस्थापनको जिम्मेवारी तोकेको छ। रसुवामा उनले जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालय बनाएर टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्नेछन्। निरौलाले शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै बाढीमा मृत्यु भएकाहरूको शव सामूहिक रूपमा गाडिएको विषयमा सरकारको आलोचना गरेका थिए।
कोभिड–१९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा आफूले शव व्यवस्थापन गरेको अनुभव उल्लेख गर्दै उनले हतारमा शव गाड्ने निर्णय नगर्न, आफन्तको खोजीका लागि केही महिना पर्खन र मृतकको धर्म तथा संस्कारलाई सम्मान गर्न सुझाव दिएका थिए। उनले आफ्नै शब्दमा उक्त सुझावलाई ‘फोकटको सल्लाह’ भनेका थिए। स्टाटस सार्वजनिक भएको २४ घण्टा नबित्दै सरकारले उनलाई रसुवामै शव व्यवस्थापनको जिम्मेवारीसहित खटाएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गृह प्रशासन तथा विपद् व्यवस्थापनको अनुभव भएका कर्मचारीका रूपमा निरौलालाई रसुवा पठाइएको हो। मन्त्रालयको निर्णयअनुसार उनको तलब, भत्ता तथा अन्य सुविधा भने हाल कार्यरत कोशी प्रदेशकै मन्त्रालयबाट भुक्तानी हुनेछ। यसैबीच, रसुवामा शव व्यवस्थापनकै जिम्मेवारी पाएपछि सचिव निरौलाले आफूले फेसबुकमा लेखेको उक्त स्टाटस हटाएका छन्।
.gif)

.png)

