यात्रा संस्मरण

नागासाकीको चीत्कार

आणविक बमको कहिल्यै निको नहुने घाउ बोकेर पनि शान्ति, मानवता र पुनर्जन्मको सन्देश दिइरहेको सहर हो जापानको नागासाकी। यो सहर त्रासद इतिहासको कथा मात्रै होइन, विनाशको खरानीबाट उम्रिएको पुनर्जन्मको उज्यालो पनि हो।


२०८३ भदौ २० शनिबार १७:१५ बजे

आफ्नो प्राणभन्दा प्यारी श्रीमतीलाई सधैँका लागि गुमाएपछि एक्लै यात्रामा निस्किएका हाम्रा सहयात्री जोनलाई देख्दा मनमा एक अनौठो प्रश्न उठ्छ, यति लामो यात्रामा उनी एक्लै कहाँ जाँदै होलान् ?

पानीजहाजबाट ओर्लिएर जमिनमा टेक्नेबित्तिकै उनी लुखुरलुखुर एक्लै अगाडि बढ्न थाल्छन्। केही पर सहरका आधुनिक महलहरू देखिन्छन्। म ती भवनतिर औँल्याउँदै उनलाई सोध्छु,  ‘होइन, हामी जाने बाटो त्यतै होइन र ?’

उनी भने आफ्नै सुरमा अघि बढिरहेका छन्। उमेरले उनलाई अलिकति बुढ्याएको मात्र छैन, ढाड पनि केही कुप्रिएको छ। हिँडाइमा उमेरको थकान स्पष्ट देखिन्छ। मलाई कताकता उनको सुन्ने शक्ति पनि पहिलेझैँ बलियो छैन कि जस्तो लाग्छ। पछाडिबाट बोलाउँदा उनी तुरुन्त फर्किँदैनन्। केहीबेरपछि बिस्तारै पछाडि फर्कन्छन्, मलाई हेर्छन् र सानो स्वरमा भन्छन्, ‘खै ! हुलका हुल मान्छेहरू त त्यतैतिर गइरहेका छन्। त्यसैले म पनि त्यतै लागेको हो। बरु तपाईंहरू कता जाने हो कुन्नि ?’

उनको उत्तरमा अलमल छ, प्रतिप्रश्नमा निर्दोष जिज्ञासा। आफू कता जाँदैछु भन्नेभन्दा पनि अरू सबै कता गइरहेका छन्, त्यतै लाग्नु ठीक होला भन्ने उनको सरल तर्क सुन्दा म एकछिन हाँसूँ कि भावुक बनूँ, छुट्याउनै सक्दिनँ।

‘जान त आणविक बम सङ्ग्रहालय जाने भनेर हिँडेका हौँ। तर खै! कताकता पुगिने हो, कुन्नि ?’

दाहिने हातमा नागासाकीको एकपाने राजनीतिक नक्सा थियो। त्यही नक्सालाई हतार–हतार पट्याएर पतलुङको पछाडिको गोजीमा घुसाउँदै म भन्छु।

मेरो कुरा सकिन नपाउँदै जोन फेरि अघिझैँ खुरुखुरु अघि बढ्न थाल्छन्। म पनि उनले जमिनमा टेक्दै गएका प्रत्येक कदममा आफ्ना कदम मिलाउँदै नागासाकी हार्बरतिर अघि बढ्न थाल्छु।

हाम्रो सानो यात्राको क्रम पनि अनौठो थियो, सबैभन्दा अगाडि जोन, ठीक उनको पछाडि म, अनि हामीभन्दा निकै पर पछाडि तारा आफ्नै गतिमा पाइताला खियाउँदै थिइन्।

कति तारालाई छाडेर यसरी एक्लै सुइँसुइँ हिँडिरहनु ?

मनमनै आफैँलाई प्रश्न गर्छु। अनि एकाएक रोकिन्छु। दुवै हात कम्मरमा राखेर एकछिन ठिङ्ग उभिन्छु। पछाडि फर्केर हेर्छु—तारा अझै टाढै छिन्।

‘जोन! तपाईं जाँदै गर्नु होला है। म मेरी श्रीमतीलाई एकछिन पर्खन्छु।’ मैले भनेको सुनेर जोन पनि रोकिए। दाहिने हात आकासतिर उठाउँदै मुस्कुराएर भने,  ‘हुन्छ, हुन्छ। ल! तपाईंहरूको आजको दिन कुशल रहोस्।’

यति भन्दै उनले हात हल्लाए र आफ्नो बाटो लागे। नागासाकी बन्दरगाहको अध्यागमन कार्यालयको ठीक बायाँ किनारमा म केहीबेर त्यहीँ उभिइरहेँ। केही क्षणपछि तारा हतारिँदै मेरो नजिक आइपुगिन्।

तर उनी नजिक आइपुग्नासाथ सासै नफेरी बोल्न थालिन्,  ‘यता सुन्नुहोस् त ! हामी पनि कुन दिन यो बुढोजस्तै एक्लै–एक्लै भइने होला, है कि ?’

निकै मेहनत गरेर योजना बनाएको नागासाकीको एकदिने भ्रमण कस्तो हुने हो भन्ने चिन्ताले मभित्र ठूलै पिरोलेको थियो। त्यसमाथि जापानको दक्षिणी समुद्रबाट उठेको सामुद्रिक आँधी ‘मिसेल’का कारण कागोसिमा बन्दरगाह आपत्कालीन अवस्थामा बन्द गरिएको थियो। सहर घुम्ने हाम्रा अभिलाषा त्यहीँबाट तुहिसकेका थिए। आँधीसँगै आएको दर्के झरीका कारण अघिल्लो दिन फुकुओका सहर पनि पटक्कै घुम्न पाएका थिएनौँ।

तर त्यही बेला ताराको मुखबाट अकस्मात् निस्किएको एउटा कुराले मेरो चिन्ताको दिशा नै मोडिदियो। जापानी मौसमको अनिश्चितताभन्दा पर, त्यो कुराले हाम्रो आफ्नै जीवनतिर एउटा गहिरो कौतूहल जन्माइदियो। मन झन् ठूलो पिरले भरियो।

त्यसपछि मेरो स्मृतिमा एकाएक जोनसँगको पहिलो भेट ताजा भएर आयो।

कुरो एक हप्ता अघिको हो।

हरेक रातझैँ त्यस रात पनि हामी पहिले पानीजहाजको पाँचौँ तलामा पुग्यौँ। मेट्रोपोलिटन रेस्टुरेन्टमा रात्रिभोज गर्‍यौँ। खाना खाइसकेपछि चिया पिउन दसौँ तलामा रहेको ‘ओसन भ्यु भट्टीपसल’ जाऊँ भन्ने सल्लाह भयो। हामी सरासर लिफ्ट चढेर दसौँ तलातिर लाग्यौँ।

रातको समय त्यस्तै दस बज्नै लागेको हुनुपर्छ।

पानीजहाज बाहिर प्रशान्त महासागर चकमन्न अँध्यारोमा डुबेको थियो। माथि आकाशमा असङ्ख्य ताराहरू टल्किरहेका थिए। सहस्राब्दीको सुरुआतमा निर्माण भएको छब्बिस वर्षे बुढी सेलिब्रिटीझैँ लाग्ने ‘मिलेनियम’ पानीजहाज पनि प्रशान्त महासागरको अथाह छातीमाथि सधैँझैँ धिमा गतिमा आफ्नो बाटो तय गरिरहेको थियो।

‘ओसन भ्यु भट्टीपसल’को एक कुनामा तारा र म आमनेसामने बसेका थियौँ। फुजियान प्रान्त, चीनबाट आयात गरिएको हरियो चियाको स्वाद मानिमानी पिइरहेका थियौँ।

तर चियाको स्वादभन्दा मीठो थियो—प्रशान्त महासागरबाट बहँदै आएको त्यो मन्दमन्द हावा।

हावासँगै हाम्रा मन पनि भुरुरु उडेर आफ्नै गाउँघर बुईपा, खोटाङ पुगिरहेका थिए।

सायद त्यही भएर हामी दुवै एकअर्कासँग निःशब्द थियौँ।

शरीर जापानको समुद्रमाथि थियो, तर मन भने धेरै टाढा आफ्नै गाउँको आँगनमा पुगिसकेको थियो।

‘ओसन भ्यु भट्टीपसल’ बिलकुल सुनसान थियो। धेरैजसो यात्रुहरू तास–जुवा खेल्न, जाँड–रक्सी पिउन र नाचगानमा रमाउन पाँचौँ र छैटौँ तलातिर झरेका थिए। पानीजहाजका सबैभन्दा बढी मनोरञ्जन हुने ठाउँमध्ये पर्थे ती तलाहरू।

हामी भने होहल्लाका एकदमै दुश्मन। भीडभाड र कोलाहलबाट सकेसम्म परै बस्न रुचाउने। त्यसैले शान्त ठाउँको खोजी गर्दैगर्दै हामी यहाँ आइपुगेका थियौँ। भट्टीपसलको पल्लो कुनामा बारमा काम गर्ने एकजना बेयरा थिए। उनी पनि त्यो सुनसान माहोलमा झन् सुनसान देखिन्थे। मोबाइलको स्क्रिनमा आँखा गाडेर निकै बेरदेखि त्यसमै मन्त्रमुग्ध भएर हराइरहेका थिए।

उनी फिलिपिन्सका फिलिपिनो भए पनि नाम भने अंग्रेजको जस्तो—माइकल। पानीजहाज यात्राको पहिलो दिनमै मेरो उनीसँग परिचय भएको थियो। त्यसपछि बिस्तारै हाम्रो चिनजान मित्रतामा बदलिएको थियो। त्यसैले माइकलका बारेमा मलाई थोरै–थोरै जानकारी पनि थियो।

फिलिपिन्सको लुजन प्रान्तबाट आएका माइकल उमेरले तीस–बत्तीस वर्षका जस्ता देखिन्थे। फुर्तिला थिए, मिजासिला थिए र उत्तिकै मिलनसार पनि। यसरी पानीजहाजमा काम गर्न आएको उनको यो दोस्रोपटक थियो।

तर यसपटकको यात्राले उनलाई एउटा अनपेक्षित प्रेममा बाँधिदिएको थियो। पानीजहाजमै काम गर्ने चिनियाँ मूलकी एक युवतीसँग केही महिनाअघि उनको प्रेम बसेको थियो। प्रेमको डोरीमा बाँधिएका उनीहरूका दिनहरू पानीजहाजकै यात्राजस्तै बिस्तारै अगाडि बढिरहेका थिए।

तर गत महिना उनकी प्रेमिका घरबिदामा गइन्। युनान, चीन पुगेपछि उतैबाट उनले माइकललाई एउटा अमिलो सन्देश पठाइन्, ‘हाम्रो सम्बन्धको विषयलाई लिएर मेरो परिवारमा अलिक खडबड परेको छ। त्यसैले अब म फेरि पानीजहाजमा फर्केर काम गर्न आउन सक्ने अवस्थामा छैनँ। हुन त मेरो यो कुरा सुन्दा तपाईंलाई दुःख अवश्य लाग्ला। तर मानिसको जीवन न हो। सुस्तरी–सुस्तरी मलाई भुल्ने प्रयत्न गर्नु है।’

गत हप्ता मात्रै प्राप्त भएको त्यो सन्देशले माइकलको मन पटक्कै थिरमा थिएन। मोबाइलको स्क्रिनमा आँखा गाडेर उनी त्यही सन्देशका शब्दहरूमा हराइरहेका थिए कि आफ्नै विगतमा—ठ्याक्कै छुट्याउन सकिनँ। बाहिर प्रशान्त महासागर शान्त थियो। तर त्यो शान्त समुद्रभन्दा कैयौँ गुणा अशान्त एउटा मन त्यही भट्टीपसलको कुनामा चुपचाप बसिरहेको थियो।

 

मनमा एकभारी पिर बोकेर माइकल हरेक रात एक बजेसम्म यही बार खोलेर बस्छन्। त्यसपछि आराम गर्न पानीजहाजको दसौँ तलाबाट एकैपटक नौ तला तल झरेर पहिलो तलामा पुग्छन्। माइकल मात्र होइन, पानीजहाजमा काम गर्ने हरेक कर्मचारीले प्रयोग गर्ने भर्‍याङ र लिफ्ट यात्रुहरूले प्रयोग गर्नेभन्दा छुट्टै हुन्छ। उनी पनि कर्मचारीका लागि छुट्याइएको त्यही लिफ्ट प्रयोग गर्छन्।

पक्कापक्की भन्ने हो भने, माइकललाई आफू काम गर्ने बार, सुत्ने कोठा र ती दुई ठाउँबीच आउजाउ गर्न प्रयोग गर्ने लिफ्टबाहेक पानीजहाजका अरू ठाउँबारे खासै थाहा छैन। विशाल पानीजहाजभित्र कहाँ के छ, कुन बाटो कता पुग्छ—सायद उनलाई त्यसको चासो पनि छैन। उनको संसार त्यही बार, त्यही कोठा र त्यही लिफ्टको वरिपरि सीमित छ।

हरेक दिन रातको एक बज्छ। बेस्मारी इस्त्री गरिएको सेतो सर्ट र कालो पतलुङ सर्लक्क शरीरमा उन्छन्। ऐनामा आफूलाई एकपटक नियाल्छन्, सुरिलो पोजिसनमा उभिन्छन् र फेरि आफ्नो कर्तव्यपथतिर लम्किहाल्छन्।

यो उनको दैनिकी हो। पानीजहाजमा काम गर्नेहरूको जीवन बाहिरबाट हेर्दा जति रमाइलो देखिन्छ, भित्र त्यति नै कठोर छ। बाहिर काम गर्ने मानिसहरूले जस्तो हरेक सप्ताहन्त बिदा पाउनु उनीहरूका लागि प्रायः सम्भव हुँदैन।

धेरैजसो कर्मचारीहरू सिफ्ट मिलाएर केहीबेरका लागि बाहिर निस्कन्छन्। तर त्यो समय पनि निकै छोटो हुन्छ। प्रायः कर्मचारीहरूको आठ–नौ महिनाको करार हुन्छ। करार पूरा भएपछि कम्पनीले पानीजहाज जुन बन्दरगाहमा पुगेको हुन्छ, त्यहीँबाट उनीहरूलाई आफ्नो देश फर्किने विमानको टिकट र विमानस्थलसम्म पुग्ने यातायातको व्यवस्था गरिदिन्छ। त्यसपछि मात्र उनीहरू दुई–तीन महिनाको बिदा मनाउन आ–आफ्नो घरदेश फर्किन पाउँछन्।

त्यसबेला ‘ओसन भ्यु भट्टीपसल’ अति नै शान्त थियो। यदाकदा ध्वनि प्रसारक यन्त्रबाट बजिरहेको मधुर सङ्गीतले त्यो शान्ततालाई हल्का तरङ्गित गरिरहेको थियो।

म भने अलिक छटपटे स्वभावको मान्छे। त्यसैले हामी बसेको वरिपरि के–कसो भइरहेको छ भनेर घरिघरि दायाँ–बायाँ नजर डुलाइरहन्थेँ। को आयो, को गयो, कसले के गरिरहेको छ—मलाई त्यसको चासो भइरहन्थ्यो।

तर ताराको स्वभाव मेरोभन्दा बिल्कुलै विपरीत। बारमा को आयो, को गयो भन्ने कुरामा उनलाई खासै चासो थिएन। बरु होसहवासै हराएको कुनै पागल मानिसझैँ उनी एकसुरमा मोबाइलभित्र हराइरहेकी थिइन्। दिनभरि खिचेका तस्बिरहरू एकपछि अर्को गर्दै कोट्याइरहेकी थिइन्।

मोबाइलमा एकोहोरो घोप्टिरहेकी तारालाई हेर्न छाडेर म भने त्यतिबेला आफ्नी प्रेमिकाबाट छुट्टिएर वियोगमा डुबेका माइकलको जीवनबारे सोच्न थालेँ। हुन त मानिसलाई आफूसँग भएको चिजको महत्त्व त्यति हुँदैन। तर आफूबाट टाढिएको, गुमेको वा कहिल्यै प्राप्त हुन नसकेको चिजको महत्त्व भने अचानक असाध्यै बढेर आउँछ।

त्यसैले मनमनै कल्पना गर्छु—यतिबेला माइकललाई उनकी प्रेमिकाको महत्त्व कति भइरहेको होला ? सायद यिनै अनेक कारणले होला, माइकलले ध्वनि प्रसारक यन्त्रबाट बारम्बार एउटै गीत बजाइरहेका थिए—अश्वेत अमेरिकी गायक स्टेभी वन्डरको चर्चित गीत ‘पार्ट–टाइम लभर’। गीतका शब्दहरू कानमा गुञ्जिरहे। म भने गीतका हरेक शब्दलाई माइकलको जीवनसँग जोडेर सुन्न थालेँ। गीत प्रेमको थियो, तर माइकलका लागि त्यो प्रेमभन्दा बढी वियोगको गीतजस्तो लागिरहेको थियो।

माइकलको अनुहारमा देखिएको उदासी, मोबाइलमा हराइरहेको उनको मन र बारम्बार दोहोरिइरहेको त्यो गीत—ती सबैलाई एकै ठाउँमा राखेर हेर्दा लाग्थ्यो, उनी गीत सुनिरहेका थिएनन्; बरु आफ्नै प्रेमकथा सुनिरहेका थिए। तर त्यति मिठो अंग्रेजी गीतका शब्द र त्यसमा लुकेको माइकलको जीवनको पीरव्यथा ताराले कहाँ बुझ्थिन् र !

‘हेर ! हामी कुन कुनामा जन्मेका मान्छे। तपाईंका पनि कस्ता–कस्ता रहर! हुन्छ, हुन्छ। घरि पूर्वी जापानबाट प्रशान्त महासागर भन्नुहुन्छ, घरि पश्चिमतिर अमेरिका नजिकैको प्रशान्त महासागर देखाउन लैजानुहुन्छ। अलिकति भएको दिमाग पनि खाइदिनुहुन्छ।’

तारा रोकिइनन्। ‘म त तपाईंसँग नसक्ने भएँ! सक्नु पनि कसरी र? कोहीबेला टर्की पुग्यो—कृष्ण सागर रे! इजरायल पुग्यो—मृत सागर रे ! इजिप्ट पुग्यो—लाल सागर रे! नर्वे पुग्यो—उत्तरी सागर रे! थाइल्यान्ड पुग्यो—आन्डामान सागर। यसो युरोपतिर पानीजहाजमा यात्रा गर्न निस्क्यो भने भूमध्य सागर, क्यानरी सागर भन्दै अर्को नयाँ सागर देखाइहाल्नुहुन्छ। मध्य अमेरिकातिर पुग्यो—क्यारेबियन सागर!’

उनी एकछिन रोकिइन्, अनि झन् अचम्म मान्दै भनिन्, ‘कोही–कोही बेला त मलाई यस्तो लाग्छ—के पक्कै त्यतिका धेरै सागरहरू पनि छन्? कि तपाईंले आफैँ बनाएर नाम राख्दै हिँड्नुभएको हो? मान्छे तपाईं अलिक बनावटी पनि हुनुहुन्छ। के–के हो, हो? म त जहाँ गए पनि एउटै निलो पानी मात्र देख्छु। म तपाईंसँग नसक्ने भएँ। घरिघरि त छक्कै पर्छु!’

मधुरो बत्तीको उज्यालोमा हराउँदै तारा एकसुरमा गनगन गरिरहेकी थिइन्। आफ्नै मान्छे हो, भन्छु। त्यसैले उनका कुरा सुनेर पनि म चुपचाप सुनिरहन्छु। प्रतिवाद गर्ने कुनै प्रयास गर्दिनँ। बरु उनको गनगन सुन्दै मुसुमुसु हाँसिरहन्छु।

ठीक त्यहीबेला एक हातमा मोबाइल र अर्को हातमा प्लास्टिकको एउटा पोको बोकेका एकजना मानिस हामी बसेको ठाउँतिर आइपुगे। उनी हाम्रो नजिक आएर एकछिन रोकिए। त्यसपछि मसिनो स्वरमा विनम्रतापूर्वक भने, ‘तपाईंहरूलाई एउटा सानो सहयोग मागौँ भनेको थिएँ?’ ‘ए,  भइहाल्छ नि। भन्नुस् न, बरु के हो र?’ म नै जोसिएर बोल्छु।

‘मलाई सबैले जोन भन्छन्। तर मेरो पूरा नाम जोनाथन रवर्ट फ्रान्सिस हो। म सिड्नी, अस्ट्रेलियादेखि आएको हुँ। दुर्भाग्य नै भन्नुपर्छ। आफूले चाहेर मात्र नहुने रहेछ। दुई महिनाअघि मैले मेरी श्रीमतीलाई गुमाउन बाध्य भएँ। अबदेखि उसो मैले उनलाई सपनामा बाहेक बिपनामा कहिले पनि देख्न पाउने छैनँ। अनि सुन्नुस् न—उनी जीवित छँदा हामी पनि तपाईंहरूजस्तै यसरी जोडी ढुकुरझैँ मिलेर धेरैचोटि पानीजहाजहरूबाट यात्रा गरेर संसार परिक्रमा गरेका थियौँ। सँगसँगै बसेर मिठामिठा खाना खाएका थियौँ। विभिन्न प्रकारका जाँड र रक्सी पिएका थियौँ। नयाँ–नयाँ स्थानहरू हेरेका थियौँ। हुन त अहिले उनको शरीर मेरो सामु नरहे तापनि सम्झनाका लागि खिचेका तस्बिरहरू अहिलेसम्म जीवितै छन्। प्रमाण बनेर मसँग रहेका छन्। तर के गर्नु र ? एक जीवन जिउँदा मानिसले सबै कुरालाई जित्न सके पनि आखिर मृत्युलाई जित्न नसकिँदो रहेछ। त्यसैले उनी मृत्युसँग हारिन् र मलाई सधैँ–सधैँका लागि एक्लो पारेर बिलय भइन्। तर उनी जानुभन्दा अगाडि म अचानक तपाईंभन्दा अगाडि मरेँ भने मेरो खरानी प्रशान्त महासागरमा लगेर मिल्काइदिनु होला है, जसले गर्दा मेरो आत्मा प्रशान्त महासागरजस्तै विशाल र फराकिलो भएर फैलनेछ भनेर भनेकी थिइन्। त्यसैले अब म यो पानीजहाजको छेउँमा जान्छु। अनि त्यहीँदेखि उनलाई अन्तिम पटक सम्झन्छु र मैले बोकेर ल्याएको यो उनको खरानी पानीमाथि फरर मिल्काइदिन्छु। कृपया ! तपाईंले मेरो छोटो भिडियो लिइदिनु होला है ?’ आँखा रसिलो पार्दै त्यति भन्छन्।

लगभग दुई कोरी जति जिन्दगी बेलायततिर व्यतीत गरेकी भए तापनि तारालाई अंग्रेजी भाषा त्यति साह्रो राम्रो आउँदैन। भनौँ—उनी अलिक मामुली नै छिन्। अझै अस्ट्रेलियनहरूको अंग्रेजी अंग्रेजहरूको अंग्रेजीजस्तो पटक्कै सजिलो हुँदैन। मुखमा काँचो मुला चपाएर बोलेझैँ टारटुर–टारटुर गरेर बोल्छन्। त्यसैले जोनले के भनिरहेका छन् होला भनेर बुझ्न उनलाई निकै हम्मेहम्मे पर्छ। मलाई के लाग्यो भने उनले मरिगए बुझिनन् होली। तर मचाहिँ उनको कुरा सुनेर एकछिन स्तब्ध हुन्छु। त्यसपछि—

‘जोन ! हजुरको कुरा सुनेर मलाई अति नै दुःख लाग्यो। तपाईँकी प्यारी श्रीमतीकी आत्माको चिरशान्तिको लागि कामना गर्दछु,’ पहिले त्यतिसम्म भनेँ। त्यसपछि, ‘ल, ठीकै छ ! खै, हजुरको मोबाइल मलाई दिनुहोस् त। म भिडियो लिइदिन्छु,’ उनको कुरा सुनेर साह्रै दुःखित मुद्रामा थिएँ र भिडियो खिच्नको लागि तयार हुन्छु।

मेरो कुरा सुनेपछि थपक्कै मोबाइल दिन्छन्। त्यसपछि सुस्तरी हिँडेर बारको छेउँमा जान्छन्। त्यहाँ पुगेर मलाई एकचोटि नजर मार्छन् र म तयार छु वा छैन भनेर एकपटक निश्चित गर्छन्। त्यसपछि खरानीलाई पानीजहाजको दसौँ तलादेखि फरर प्रशान्त महासागरमा मिल्काइदिन्छन्। मैले उक्त दृश्यलाई मोबाइलमा कैद गरिदिन्छु।

करिब–करिब ३५ हजार फिटभन्दा अझै झन् गहिरो प्रशान्त महासागरको नजिकै आफ्नी प्यारी श्रीमतीकी खरानी मिल्काएपछि जोन हामीदेखि बिलय हुन्छन्।

उनी हामीसँग बिदा भएर गएपछि म निःशब्द अँध्यारो देखिएका समुद्रका पानीलाई पटक–पटक हेरिरहन्छु। पानीजहाजको बत्तीले जहाज नजिकको भागमा पानीका मधुरो छालहरू अलिअलि देख्न सकिन्छ। यदि यो अवस्थामा म हुँदो हुँ त के गर्थेँ होला भनेर मेरो दिमाग महासागरको पानीमाथि निरन्तर देखिरहेका छालसँगसँगै तैरिएर बहिरहन्छ।

जोनले के भनेका हुन्, के गरेका हुन् भनेर फिटिक्कै मेसो नपाउने मेरी श्रीमतीलाई मिलाई–मिलाई सबै कुरा सुनाइदिन्छु। चिन्तकहरूले मानिसको जीवन दुईवटा हुन्छन् भनेर घरिघरि भन्दा नबुझ्ने मान्छेले पनि मानिसको दोस्रो जीवन पनि हुन त हुने रहेछ त्यसबेला भनी।

आखिर जहाँ जाला जोगी भातै खाला भनेर भौतारिरहेकी मेरी श्रीमतीले जोनको श्रीमतीको खरानी देखेपछि अब मेरो पहिलो जीवन समाप्त भएको र अर्को जीवन मज्जाले बिताउनेछु भनेर मलाई बताइन्। नत्रभने त्यतिबेलासम्म वास्तविक जीवनको महत्त्व नबुझी झोलमोलमा हिँडेकी रहेछु भन्ने उनले राम्ररी मनन गरिन्। प्रशान्त महासागरमा जोनको श्रीमतीको दोस्रो जीवन अन्त्य र ताराको दोस्रो जीवनको सुरुवात हुन्छ।

यिनै नानाथरिका कुराहरू सोच्दै–सोच्दै तर सडकको किनारैकिनार तारासँग एकछिन हिँडिरहन्छौँ। बाटामा कैयौँ पानीजहाजका यात्रीहरू कतै ढुङ्गाका मूर्तिहरूतिर र कतै स–साना दोकानहरूतिर अलमलिरहेका मज्जाले देख्न सकिन्छ। हामी उनीहरूलाई पार गर्दैगर्दै अगाडि बढ्छौँ। दश–पन्ध्र मिनेटजति अगाडि हिँडेपछि नागासाकी सहरको तीनतिर पहाडले ढाकिएका र एकातिरबाट समुद्रको सानो भाग छिरेका सुन्दर दृश्य देख्न सकिन्छ। हामी तिनै पानी हुँदै–हुँदै आज बिहान नागासाकी बन्दरगाहमा आएर रोकिएका थियौँ।

२७ जुन २०२६। शनिबारको दिन छ। जस्तो होस् भनेर कल्पना गरिएको थियो, ठ्याक्कै त्यस्तै राम्रो नागासाकीको मौसम थियो। लगभग १,०९३ फिट अग्लो इनासा पर्वतको काखमा रहेको नागासाकी सहर बिहानीपखको पारिलो घामले टलक्कै टल्किरहेको देखिन्छ। त्यति राम्रो मौसममा आनन्दित हुँदै थोरै अगाडि बढ्दा हाम्रो दाहिनेतिर एउटा ट्राम रोकिरहेको देख्न सकिन्छ।

‘देख्यौ ? नाथे ! यति नजिकै ट्राम अड्डा रहेछ। बिनाबिच्चैमा बिहानभरि अतालिएँ,’ झन् अतालिँदै तारालाई सुनाइहाल्छु।

मेरो कुरो सुने पनि नसुनेझैँ गरेर उनी केही बोल्दै बोल्दिनन्। म नै फेरि, ‘अब ! यिनै ४८ नम्बर ट्राममा चढेर आणविक बम सङ्ग्रहालय जाने हो,’ भन्छु।

अँ ! यस्तो ट्राम जीवनमा पहिलोचोटि हङकङमा चढेको थिएँ भनेर एकछिन टोलाउँछु। तैपनि काउलुन सहरमा होइन, पारी हङकङमा हो। जाबो नेपालको सुदूरपूर्व गाउँमा जन्मेको मान्छे म। गाडी, ट्राम र रेलको विषयमा जीवनमा पहिलो अनुभव हङकङमा नै सुन्न, सिक्न र उपभोग गर्न पाइयो भनेर हङकङलाई सम्झेर एकछिन मख्ख पर्छु।

मानिसको मन पनि अचम्मैको हुन्छ। एकछिन कता पुग्छ। रमाइलो लाग्छ। एकछिन कता पुग्छ। बिरमाइलो लाग्छ। के–के सोच्दा आङ नै जिरिङ्ग हुन्छ। तर फेरि एकछिनमै मन खुकुलो भइहाल्छ। वास्तवमा हुन चाहिँ शारीरिक रूपमा भने केही भइहालेको हुँदै हुँदैन। मन मात्र चञ्चल भइरहन्छ।

सडक किनारमा हामी एकछिन नबोली–नबोली हिँड्छौँ। मैले केही नभनेपछि उनी पनि केही बोल्दै बोल्दिनन्। उनी केही नबोलेपछि आ...ठीकै छ भनेर म मौका छोप्छु र थपक्कै गोजीदेखि नागासाकीको नक्सा निकाल्छु।

तीसौँ वर्ष अगाडि पृथ्वी कस्तो छ ? अक्षांश र देशान्तर रेखाहरू कसरी कल्पना गरिएका छन्। ग्रिड र डिग्रीले कसरी काम गर्छ। सिल्भा र प्रिजमेट्रिक कम्पासहरू कसरी चलाउनुपर्छ। आफ्नो स्थान र दिशा कसरी पत्ता लगाउनुपर्छ। भनौँ—साधारणतया नक्सा कसरी बन्छ। कुन–कुन आकारप्रकारमा बन्छ भनेर बृहत् अध्ययन गर्नको लागि हर्मिटेज, इङ्गल्यान्डमा पुगेको झझल्को आउँछ। तिनै यादहरू सँगालेर यसो जमिनसँग नक्सा र नक्सासँग जमिनको आकृति ठीक छ कि छैन भनेर निश्चित गर्छु।

नक्सालाई थन्क्याएपछि, ‘खै ! हात यता लेऊँ ?’ भन्छु र निकैबेरसम्म अमुक रहेकी श्रीमतीको हात समात्छु। त्यसपछि बायाँ दिशाबाट आएका गाडीहरू हेर्छौँ र सँगसँगै बाटो काट्छौँ। किनभने नेपालको भन्दा यताको सडकमा गाडी चलाउने नियम ठीक विपरीत रहेको छ। त्यसपछि सडकको बीच भागमा रहेको ‘नागासाकी इलेक्ट्रिक ट्राम वे’ अड्डामा पुग्छौँ। जहाँ निकैबेर अगाडिदेखि मानिसहरू ट्रामको प्रतीक्षा गरेर बसिरहेका देख्न सकिन्थ्यो। हामी पनि उनीहरूको नजिकै पुगेर ट्रामको प्रतीक्षा गर्न थाल्छौँ।

यसरी ट्रामको प्रतीक्षा गर्दा मलाई यो नागासाकी ट्राम वेको इतिहास पढेको सम्झन मन लाग्छ।

नागासाकी ट्राम वे, जापानको एक निजी ट्राम प्रणाली हो। वास्तवमा यो कम्पनीको स्थापना २ अगस्ट १९१४ मा भएको थियो। तर यी ट्राम लाइनहरू भने १६ नोभेम्बर १९१५ देखि खोलिएका थिए। यसले पहिले एकपटक बस लाइनहरू पनि सञ्चालन गरेको थियो। तर पछि गएर सन् १९७१ मा बन्द गर्‍यो। यिनै कम्पनी र ट्राम लाइनहरूलाई सामान्यतया ‘नागासाकी इलेक्ट्रिक रेल वे’ पनि भन्ने गरिन्छ। यद्यपि स्थानीय जापानी मानिसहरूले भने यसलाई (डेन्सा) भन्छन्। किनभने जापानी रेल जेआरलाई (रेसा) र लोकोमोटिभ ट्रेनलाई (किसा) भन्छन्।

सम्भवतः जापानमा भएका ट्राम सेवाहरूमध्ये यो निकै ठूलो ट्राम सेवामा पर्दछ। स्थिर रूपमा नाफा कमाइरहेको यो ट्रामले स्मार्ट कार्ड र पैसा दुवै लिने गर्छ। वयस्कहरूको लागि चाहिँ एकपटकको यात्रामा एक सय पचास येन र प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूका लागि भने भाडा असी येन निर्धारण गरिएको छ। तर तपाईं एकदिने असीमित यात्रा गर्न चाहनुहुन्छ भने वयस्कहरूका लागि ६ सय येन र विद्यार्थीहरूका लागि ३ सय येन तिर्नुपर्छ। (स्मरण रहोस्—आजभोलि जापानी येन र नेपाली रुपैयाँको परिमाण लगभग उस्तै–उस्तै रहेका छन्।)

केहीबेरपछि हाम्रो अगाडि ४८ नम्बर लेखिएको एउटा ट्राम बिहानीको सूर्यझैँ टुप्लुक्कै झुल्किन्छ। ट्राम आएर अड्डामा रोकिनेबित्तिकै मान्छेहरू सल्याङबल्याङ गर्न थालिहाल्छन्। तारा र म एकछिन चुपचाप बस्छौँ र उनीहरूका रमिता हेर्छौँ। जापानीज ट्राममा बीच ढोकाबाट भित्र पस्ने र अगाडिको ढोकाबाट बाहिर निस्कने नियम छ। हामी नियमलाई पालन गर्दै ट्रामभित्र पस्छौँ।

तर मलाई त्यतिबेला जापानले अत्यधिक विकास गर्नुको मुख्य कारणहरू भनेका मानिसले पालन गर्ने नियम, कानुन, अनुशासन, सम्मान, इमानदारी र जवाफदेहिताहरू हुन् भन्ने लाग्छ। उता हाम्रो देशमा भने यी कुराहरूको बिल्कुल खडेरी नै लागेको महसुस गर्न सकिन्छ। जबसम्म हामी आफैँ अनुशासित हुन सक्दैनौँ भने स्वाभाविक रूपमा आफू त सजिलै बिग्रन्छौँ, बिग्रन्छौँ तर देशको प्रतिष्ठालाई समेत नष्ट पार्न सक्छौँ।

सबै मानिसहरू ट्रामभित्र पसिसकेपछि ट्रामले आफ्नो गति लिन सुरु गर्छ। तर ट्रामभित्र मानिसहरूको भिडभाड निकै बाक्लो रहेको देख्न सकिन्छ। तैपनि धेरैजसो मानिसहरू पानीजहाजका यात्रीहरू हुन् है भनेर उनीहरूका छालाका रङ र एकअर्काले बोलिरहेको भाषाद्वारा सजिलै ठम्याउन सकिन्छ।

तारा र मैलेचाहिँ सिट पाउन सकेनौँ। त्यसैले ट्रामभित्रको एक–एकवटा फलामे डन्डी समातेर यात्रा गरिरहेका छौँ। हाम्रो अगाडि दुईजना फुच्चे केटाहरू पनि हामीजस्तै ठिङ्गै उभिएर यात्रा गरिरहेका छन्। उनीहरू घरिघरि अंग्रेजी बोल्छन्। उनीहरूका बोलिचालीले अंग्रेजका छोराहरू नै हुन् रहेछ भन्ने लाग्छ। तर ती दुवैजना फुच्चेहरू अलिक चकचके पनि थिए। तैपनि उनीहरूका विभिन्न हर्कत र क्रियाकलापले बाटो काट्न खुबै मद्दत गरिरहेको थियो।

उनीहरूका आमाबाबुले भने बस्ने स्थान पाएका थिए। हामी जहाँ उभिरहेका थियौँ, त्यसको सिधै अगाडि बसिरहेका थिए। तर उनीहरूका बाबुलाई देख्दा मलाई अचम्म लाग्यो। किनभने यात्राको अवधिभरि उनको मोबाइलको स्क्रिनदेखि उनले आँखा अन्त कतै लादै लगेन्। उनकी श्रीमती भने हेर्दै चलाख देखिन्थिन्। त्यसैले ट्रामभित्र यताउता हेरिरहेकी हुन्थिन्। उनी घरिघरि आफ्नो बुढालाई, छोराहरूलाई, हामीलाई र ट्रामको भित्तालाई हेरिरहेकी हुन्थिन्।

मान्छे, म पनि निकै विचारी नै छु। त्यसैले म पनि उनलाई बेलाबेलामा हेरिरहेको थिएँ। तर कतै गलत ट्राम चढियो कि भनेर घरिघरि ट्रामको भित्तामा रहेको नक्सा पनि हेरिरहन्थेँ। त्यसरी नक्सा हेर्ने क्रममा ती आइमाईसँग हाम्रा आँखाहरू बेलाबेलामा जुधिरहन्थे।

पटक–पटक त्यसरी आँखा जुधेपछि मलाई भित्रीदिलदेखि नै उनीसँग बोल्ने रहर जागेर आउँछ। यसो गफसफ गरियो भने बाटो पनि काटिने, थोरबहुत उनीहरूको विषयमा पनि केही जानिने भन्छु। आखिर मनभरि उत्सुकताको ढाकर बोकेर के यात्रा गरिरहनु है भनेर म नै कुरा थाल्छु—

‘अँ ! मलाई माफ गर्नुस् त ! सायद हामी ठिक्कै ट्राम चढेका हौँला, कि होइन र ?’

‘बिल्कुल ठीक छ, सायद तपाईंहरू पनि सङ्ग्रहालय नै हिँड्नुभएको होला, कि होइन र ?’

‘हो नि। ठ्याक्कै पत्ता लगाउनुभयो। अनि, सुन्नुस् न। हजुरहरू कुन ठाउँदेखि आउनुभएको होला ?’

‘ब्रिस्टल, इङ्गल्यान्डदेखि। अनि तपाईंहरू ?’

‘हामी त नेपालदेखि हो।’

‘ए ! कति राम्रो। नेपाल सगरमाथाको देश, गोर्खाहरूको देश र मलाई असाध्यै मन पर्ने देश। तर दुर्भाग्य नै मान्नुपर्छ। आजसम्म जीवनमा कैयौँ देशहरू पुग्न सकियो तर अहिलेसम्म हामी नेपाल पुगेका छैनौँ।’

‘अब जानु होला नि, यहाँहरूलाई जहिले पनि स्वागत छ ?’

‘किन नजानु। निश्चय नै जान्छौँ। अझै, म गोर्खा सिपाहीहरूलाई असाध्यै माया गर्ने मान्छे हुँ। जुवाना लुम्लेको एकदम अनुयायी। तपाईं मान्नुस् वा नमान्नुस्, त्यो फरक कुरा भयो। यदि गोर्खाहरू नहुँदा हुन् त सायद यो संसारमा रहेका कतिपय देशहरूका राजनीतिक नक्सा नै फरक हुन्थ्यो होला ? म त्यस्तै–त्यस्तै कल्पना गर्छु।’

‘धन्यवाद छ, मन पराइदिनुभयो।’

‘यहाँलाई स्वागत छ।’

त्यति बोल्दा–बोल्दै हामी सिन्ची, चाइना टाउन (३१) नम्बर ट्राम अड्डा, नागासाकी पुगिसकेका हुन्छौँ। यहाँनेर हामीले अर्को ट्राम फेर्नुपर्छ। त्यसैले आरामदायी यात्रा गरिरहेको ट्रामबाट ओर्लनुपर्छ। तर अदम्य साहस बोकेका बेलायती गोर्खा सिपाहीहरूका वीरगाथाप्रति ती आइमाईले खर्च गरेकी हरेक शब्द–शब्दले मेरो जाबो बत्तीस इन्चको छाती फुलिएर बयालिस इन्च पुगेको महसुस हुन्छ।

अझै के धेरै सहानुभूति लिइराख्नु है, भन्छु। त्यसैले म पनि पूर्व बेलायती गोर्खा सैनिक नै हुँ र बिसौँ वर्ष बेलायती गोर्खा सेनामा भर्ती भएर राष्ट्रलाई सेवा प्रदान गरेको थिएँ भनेर मरिगए उनलाई भन्दिनँ।

हुन त मैले त्यसो भनेको भए पनि त्योभन्दा बेसी उनले मलाई के भन्थिन् होली र ? सायद हाम्रो देशका लागि आफ्नो जिउज्यानको बाजी थापेर सेवा प्रदान गर्नुभएकोमा धेरै–धेरै धन्यवाद छ मात्र त भन्थिन् होली भन्ने सोचें।

तर जति धन्यवाद दिए पनि के गर्नु र ? वास्तवमा धन्यवाद खान मिल्दै मिल्दैन। खानका लागि त पैसाको जरुरत पर्छ। अंग्रेजहरू पैसा भनेपछि महादेवका तीन नेत्र बल्छन् भन्छन्, मनमनै त्यस्तो सोच्छु।

जापानमा छौँ। त्यसैले अति नै समझदार बन्छौँ। ट्रामबाट उनीहरूलाई पहिले झर्नका लागि उच्च प्राथमिकता दिँदै बाटो छाडिदिन्छौँ। उनीहरू ट्रामबाट झरेपछि म सुस्तरी अगाडि बढ्छु र ट्राम चालकनजिकै पुग्छु। केही समयअगाडिदेखि पतलुङको गोजीमा तयार पारेर राखेको तीन सय येन थियो। तिनै येन ट्राम चालकले सुन्ने गरी, ‘महाशय ! यी हामी दुईजनाको भाडा हो है,’ भनेर उनको अगाडिको सानो मेसिनमा खुत्रुक्कै झारिदिन्छु।

‘होइन, कति येन दिनुभयो ?’ एउटा खुट्टा जमिनमा टेक्न पाउँदा–नपाउँदै ताराको मुख पड्किन्छ।

‘जाबो, तीन सय येन हो। जति येन भए पनि फेरि तिमीलाई किन चाहियो र ? आकाशै खसाउला जस्तो गरेर पो करायौ त ?’

‘त्यसको कति हुन्छ, नेपाली ?’

‘जति भए पनि के भो र ? फेरि अर्को ट्रामको भाडा तीन सय नै तिर्नुपर्छ।’

‘हैन ! महँगो छ कि के हो जापान घुम्न ? खर्च कति हुन्छ होला भनेर हिसाब राख्नु भन्छु। तर मेरो बुद्धि छैन। भुसुक्कै भुलिहाल्छु।’

‘ल, ल ! अब भोलि बिहानको खाजादेखि हिसाब–किताब राख्न सुरु गर है।’

सिन्ची (३१) नम्बर चाइना टाउन ट्राम अड्डामा पुगेपछि हाम्रो एकछिन गलाबाजी हुन्छ, तर केही उपलब्धिमूलक बहस वा छलफल हुँदै हुँदैन। त्यसैले सकिहाल्छ। ट्राम अड्डाबाहिर बिहानीपखको पारिलो घाम तापेर हामी दुईजना एकछिन बस्छौँ। तर एकैछिनमा अर्को एउटा ट्राम आइपुगिहाल्छ। त्यो आउनेबित्तिकै हामी त्यसैमा चढ्छौँ।

नागासाकीको ट्राम यात्रा काठमाडौँको इनड्राइभ मोटरसाइकलजत्तिकै सरल र सहज छ। तर फरक चाहिँ के छ भने मोटरसाइकल जतिबेला पनि दुर्घटनामा पर्न सक्छ। घरबाट सद्धे हिँडेको मान्छे बेलुका फर्केर आउँदा हातखुट्टा भाँचेर फर्किने खतरा हुन्छ। कोही–कोही बेला त ज्यान नै जोखिममा हुन्छ। किनभने मोटरसाइकल चालकहरूको स्तर र ट्राफिक नियम एकदम फितलो खालको छ। तर जापानी ट्रामचाहिँ सय प्रतिशत भरपर्दो र विश्वसनीय रहेको मान्ने गरिन्छ।

ट्रामभित्र पसेपछि भित्रको नक्सा हेर्न थाल्छु। कुन ठाउँ जानुपर्ने हो, त्यस ठाउँको नाम र स्टेसन नम्बर जापानीमा मात्र नभएर अंग्रेजी भाषामा पनि लेखेको मज्जाले पढ्न मिल्छ। जसले गर्दा हामीजस्ता नक्कली पर्यटकहरूलाई एकदम सहज हुन्छ।

लगभग २५–३० मिनेटजतिको यात्रापछि हामी आणविक बम सङ्ग्रहालय स्टेसनमा पुगेर ट्रामबाट ओर्लन्छौँ। स्टेसनमा झरेपछि म मोबाइलबाट गुगल नक्सा चलाउन थाल्छु। पहिला–पहिला एक देशबाट अर्को देशमा जाँदा एकदम ठूल्ठूला नक्साका पानाहरू बोकेर हिँड्नु पर्थ्यो।

अझै के कुरा गर्नुहुन्छ र ? गाडी हाँकेर एक देशबाट अर्को देशमा जाँदा त नक्साको किताब नै बोक्नु पर्थ्यो। जुन अनुभव मैले बेलायतदेखि फ्रान्स, बेल्जियम, द नेदरल्यान्ड, जर्मनी हुँदै अस्ट्रियासम्म पुग्दा गरेको छु। आजभोलि त नाथे एउटा सानो मोबाइल फोन बोक्यो। जम्मै कुरा त्यहीँदेखि गर्न सकिने भएकोले यात्रा एकदम सहज हुन्छ।

ट्राम स्टेसनबाट सुस्तरी हिँडेर मुख्य सडक पार गरेपछि थोरै पश्चिम दिशातिर मोडिन्छौँ। त्यसपछि गुगल नक्साको सहयोगले एउटा सानो किनारापसललाई बायाँ छाडेर म थोरै उकालो चढ्न थाल्छु। तर हामीसँगसँगै ट्राममा आएका जम्मै पर्यटकहरू सडकको किनारैकिनार सिधै अगाडि गएका देखिन्छन्। उनीहरूलाई त्यतातिर जाँदै गरेका देखेपछि दुवै हात कम्मरमा राखेर ताराले—

‘होइनँ ! सबै मान्छेहरू त उता गए। तपाईं उकाली चढ्दै हुनुहुन्छ। फेरि टोकियोमा जस्तै हराउनुभएको हो कि, के हो ?’

‘कहाँ घरिघरि हराउनु हौँ। ढुक्क भएर मलाई पछ्याउनू। अनि यो टोकियो पनि होइन के ? नागासाकी हो। जाबो नागासाकी त ह्यालुल्लाले दलेर पनि घुम्न सकिहालिन्छ नि।’

मेरो कुरा सुनेर उनको मुख बन्द हुन्छ। आखिर सिधै–सिधै जाँदा पनि अर्को घुम्तीपछि एकछिनमा उकाली नै चढ्नुपर्छ। यहाँदेखि पनि अलिकति उकाली चढेर फेरि सङ्ग्रहालयको अगाडि नै पुग्न सकिहालिन्छ, मनमनै भन्छु। बरु जापानी ठूल्ठूला सडकहरूका किनारैकिनार हिँड्नुभन्दा त यस्तै स–साना बाटोको छेउछाउमा देखिने जापानी घरहरू हेर्दै–हेर्दै हिँड्न नै छुट्टै आनन्द पनि मिल्छ भन्ने मलाई लागेर सो रहर पूरा गर्न मैले तिनै सानो बाटो रोजेको थिएँ।

यस्तै पन्ध्र–बीस मिनेटजति दमसाइलो उकाली चढेपछि हामी नागासाकी आणविक बम सङ्ग्रहालयको ठीक अगाडि पुग्छौँ। त्यसपछि सुस्तरी सिँढीका दुई–चार अखेटाहरू चढ्न थाल्छौँ। यसरी सिँढी चढ्ने क्रममा होस् वा कतै सँगसँगै हिँड्ने बेला होस्, जहिले म नै अगाडि हुन्छु। लाग्छ—ताराकी खुट्टाहरू मेरोभन्दा सेकसेक छोटा छन् होला ? त्यसैले जहिले पनि उनी दश–बीस मिटरजति पछाडि नै पर्छिन् र अहिले पनि सोही क्रम दोहोरिएको छ भन्ने लाग्छ।

जीवनमा मेरा रहरहरू पनि के–के छन्, छन्। कोहीबेला आफैँ सम्झेर छक्क पर्छु। एकचोटि नागासाकी आणविक बम सङ्ग्रहालय जाने ठूलो रहर थियो। बल्लतल्ल त्यो रहर पूरा हुन लागिरहेको थियो।

हुन त दोस्रो विश्वयुद्धको समयमा आणविक बम हिरोशिमा र नागासाकी गरेर दुई स्थानमा खसेको थियो। तैपनि हिरोशिमा टोकियोदेखि दूरीको हिसाबले अलिक नजिक भएकोले जो–कोही जाने वा पुग्ने गर्छन्, तर नागासाकी अलिक टाढा नै छ। त्यसैले मानिसहरू प्रायः यहाँ आउन चाहँदैनन्। तर मचाहिँ मान्छे अलिक अडबङ्गे नै रहेछु। खै ! के भो, भो ? त्यति धेरै मानिसहरू नपुग्ने स्थानमा नै जान रहर गरिहालें।

नागासाकी आणविक बम सङ्ग्रहालयको लबीमा पुगेपछि यो ठाउँ केवल जीवनमा घुम्नको लागि मात्र नभएर इतिहासको अनुभव सँगाल्ने एक उत्कृष्ट स्थल पनि हो भन्ने सम्झिन्छु र झन् फुर्तीका साथ हिँड्दै स्वागत कक्षमा पुग्छु। त्यहाँ पुगेपछि दुईजना जापानी महिला कर्मचारीहरू कुर्सीमा मस्किँदै बसिरहेका देख्छु। सुन्दर बगैँचामा देखिने रङ्गीचङ्गी पुतलीहरूजस्तै राम्री–राम्री जापानी युवतीहरू देखेपछि फुर्सुङ्गे पल्टन खोजिहाल्छु र एकजना स्वागतिकासँग बोल्न जमर्को गर्छु।

हुन त यसरी देशबाहिरतिर फिरङ्गीजस्तो भएर बरालिँदै हिँडेको पनि अहिलेसम्म चानचुन बयालिस वर्ष भइसकेका छन्। अनि यसरी हिँड्ने क्रममा कतिपय नयाँ मुलुकहरूमा पुग्दाखेरि र नयाँ मान्छेहरूसँग पहिलोपल्ट बोल्दाखेरि पतलुङमा पिसाब नै चुहिएलाजस्तो अनुभव गरेका मान्छे हुँ। अन्य स्थानमा त्यस्तो अनुभव गरेको भए तापनि जापानी युवतीहरूसँग बोल्दा कहिले त्यस्तो अनुभव गर्न परेन। किनभने उनीहरू ज्यादै नै मिलनसार एवम् मृदुभाषी हुने रहेछन्। जसले गर्दा उनीहरूसँग बोल्दै गर्दा कताकता आत्मीयता बढ्छ जस्तो लाग्छ।

बल्लबल्ल जीवनमा पहिलोचोटि नागासाकी आणविक बम सङ्ग्रहालय आइपुगेपछि, ‘ओहाइयो गोजाइमास्,’ भन्छु र नजिकै रहेकी एकजना स्वागतिकासँग शुभ–बिहानीबाट कुरा सुरु गर्छु।

तर मैले त्यसो भनेको सुनेर उनी पहिले थोरै मुस्कुराउँछिन्। उनी मुस्कुराउँदा लाग्छ, सायद मैले जापानी भाषामा शुभ–बिहानीको उच्चारण राम्रोसँग गर्न जानिनँ होला ? तैपनि प्रत्युत्तरमा उनीले, ‘ओहाइयो,’ भन्छिन्। त्यसपछि परिचय गर्ने क्रममा, ‘हजुर ! कुन देशबाट आउनुभएको होला ?’ उत्सुकताका साथ सोधिहाल्छिन्।

त्यति सुन्दरी युवतीसँग बोल्न पाउँदा, ‘म नेपालदेखि आएको हो,’ फुर्तिकासाथ जवाफ फर्काउँछु।

‘ए ! हो ? म पनि नेपाल गएकी छु नि। ल ! काठमाडौँ, पोखरा र अन्नपूर्ण सर्किट पनि गरेको छु। अनि सुन्नुस् न। मलाई नेपाल असाध्यै मन पर्छ। हो, साँचै भनेकी हुँ। नेपाल भ्रमणमा छँदा मैले यात्रामा भरपूर मनोरञ्जन लिन सकेकी थिएँ।’

हुन त जापान यात्रामा छु। तर उनको कुराले मलाई कताकता एकपटक भित्रहृदयदेखि नै देशप्रेम जागेर आउँछ। हामी त्यति बोलेका मात्र के थियौँ। यत्तिकैमा तारा मेरो नजिक आउँछिन् र खुइत्त गर्दै लामो–लामो सास फेर्छिन्।

तर उनी मेरो नजिक आएपछि, ‘खै ! यहाँको प्रवेश शुल्क के–कति पैसा लाग्छ ? कतिबेला सङ्ग्रहालय बन्द हुन्छ ? कता–कता जानुपर्छ ? कृपया ! बताइदिनुहोस् न ?’ विनम्रतापूर्वक म युवतीलाई अनुरोध टक्र्याउँछु।

मेरो कुरा सुनेपछि उनले वर्षौँअगाडिदेखि कण्ठस्थ बनाएर राखेका वाक्यांशहरू अंग्रेजी भाषामा फरर भन्न सुरु गर्छिन्।

यो सङ्ग्रहालय हरेक दिन ८ बजेर ३० मिनेट जाँदा खुल्छ र ५ बजेर ३० मिनेट जाँदा बन्द हुन्छ। तर डिसेम्बर महिनाको २९ तारिखदेखि ३१ तारिखसम्म जहिले पनि बन्द रहन्छ। यहाँको प्रवेश शुल्क वयस्कहरूको लागि २ सय येन र स्कुले बच्चाहरूको लागि १ सय येन हो। तर १५ जना वा सोभन्दा बढीको समूह छन् भने वयस्कहरूका लागि १ सय ६० येन र विद्यार्थीहरूका लागि ८० येन तिर्नुपर्छ। यद्यपि प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूका लागि प्रवेश निःशुल्क छ।

‘उसो भए, खै ! हामीलाई दुईवटा टिकट दिनुहोस् न, कृपया ?’ भन्छु।

मैले भनेबमोजिम उनले दुईवटा टिकटहरू दिन्छिन्। तर टिकट दिँदै गर्दा हामी नेपालीहरूजस्तै एक हातले ‘यी लिनुहोस्’ भन्दै भन्दिनन्। पहिले उनको जिउ कुप्रो पार्छिन् र दुवै हातले अति नै सत्कारसहित दिन्छिन्। साँचै–साँचै भन्ने हो भने जापानी महिलाहरूमा हुने मानवीय दयालुपन, शालीनता, नम्रता, अनुकरणीय आचरण र निष्ठाका नमुनाहरू हुन् भन्ने महसुस गर्छु।

मैले टिकट लिँदै गर्दा, ‘उँ, त्यहाँबाट मुनि ओरालो झर्नु होला। तर मुनि झर्नुभन्दा अगाडि शौचालयको प्रयोग गर्नुहुन्छ भने शौचालय त्यतातिर छ,’ भनेर हातले देखाइदिन्छिन्।

उनले शौचालयको कुरा गरेपछि मान्छेको मन न हो। मलाई कतै नभएको पिसाब आइहाल्छ। ‘तिमी के गर्छौ ? म त शौचालय जान्छु,’ तारातिर फर्केर त्यसो भन्छु।

‘म पनि जान्छु नि, कस्तो त जान्न ? बिहान–बिहानै उकालो चढाउनु भाको छ,’ शौचालयतिर फर्केर त्यति भन्छिन्।

ताराले त्यस्ती कुरा गरेकी सुनेर म एकछिन उनलाई हेरिरहन्छु। अनि मनमनै सोच्छु। उकालो–सुकालो केही पनि होइन। नेपालमा हो र यसरी नै सार्वजनिक शौचालय प्रयोग गर्नुपरेको भए कतिबेला विसर्जन गरेर बाहिर निस्किहालौँ भन्ने मेरी श्रीमती जापानमा हुँदा खुब मुख टल्काएकी छिन्, मनमनै त्यति सोच्छु।

अनि, ‘अरू जम्मै कुरा भुल्न सक्छु तर जापानको शौचालय कहिले भुल्न सक्दिनँ,’ बिरमाइलो मान्दै–मान्दै त्यसो भनेकी स्मरण गरिरहन्छु।

हुन पनि यहाँको शौचालयको कुरा गरेर के साध्य हुन्छ र ? तातो र चिसो पानीको मिश्रण, आफूले शौचालय प्रयोग गर्दा अरू कसैले आवाज नसुनोस् भनेर सुमधुर सङ्गीतको धुन मात्र नभएर कताकता पुछपाछ र धोइधाइ गर्ने हो। जम्मै कुरा त्यसैले गरिदिन्छ। अन्ततः ताता–ताता हावाले सुक्खा गरेपछि शौचालय छाड्नको लागि अनुमति दिन्छ।

साँच्चै ! मान्छेको दिमाग मात्र एउटा यस्तो चिज हो। जस्तो सोच्यो, त्यस्तै हुने रहेछ। अरू सबै कुरा छाडेर शौचालयको मात्र कुरा गर्दा सर जोन ह्यारिङ्टन (१५९६), जसले पहिलोपटक पानी तान्ने शौचालयको निर्माण गरेका थिए। अलेक्ज्यान्डर कमिङ (१७७५)ले शौचालयमा अंग्रेजी अक्षर जेड प्रकारको पाइपको निर्माण गरेका थिए। र, थोमस क्र्यापर (१८८०), जसले आधुनिक शौचालयको निर्माण गरेका हुन्। त्यसैले शौचालयको इतिहासको कुरा गर्दा उनीहरूको नाम कहिले भुल्न सकिँदैन।

पश्चिमाहरूले मानव जीवनका लागि लगभग चार सय वर्षअगाडिदेखि नै शौचालयको आवश्यकता महसुस गर्दा आफू भने गाउँमा पहिले सानो छँदा सुँगुरखोर र अलिक हुर्केर बढेपछि ढाँडे खोला र सुन्दरे खोल्सामा लुकिलुकि बनमारा र तितेपातीका स्याउलाहरू खोजेको नागासाकी पुगेर झल्यास्सै सम्झन्छु। तथापि यिनै अंग्रेज चिन्तकहरूले सर्वप्रथम चालेका कदमहरूलाई नै जापानीहरूले आजभोलि उत्कृष्ट शौचालयको विकास गरिदिएका छन् भन्दा केही फरक पर्दैन।

हुन त यस्ता प्रकारका विकसित शौचालयहरू हामीले हाम्बर्ग, जर्मनी पुग्दा पनि प्रयोग गरेका थियौँ। र, तिनै शौचालयको सिटबाट उठ्नेबित्तिकै सिट फनफनी घुमेर आफैँ साफसफाइ भएको देख्दा पहिलोचोटि उदेक मानेको थिएँ। अहिले त संसारलाई पटक–पटक फनफनी घुमियो, देखियो र भोगियो। त्यसैले यो त सामान्य नै हो जस्तो लाग्न थालेको छ। तैपनि एउटा जीवन जिउँदै हरेक प्रकारका शौचालय देख्न पाइयो भनेर कुनै–कुनै समय आफैँ छक्क पर्छु।

शौचालयको इतिहासलाई यतिमै थाती राख्छु र गोजीदेखि दुईजनाको लागि भनेर चार सय जापानी येन निकाल्छु। अनि, ‘यी लिनुहोस्,’ भनेर सङ्ग्रहालयको प्रवेश शुल्क दिन्छु। त्यसपछि स्वागतिकासँग कहिले नभेट्ने गरेर बिदा हुन्छौँ। पैसा दिइसकेपछि म लुखुर–लुखुर हिँड्दै पुरुषकोतिर र तारा महिलाको शौचालयतर्फ बाटो लाग्छिन्।

हुन पनि म अलिक छिटो खालको मान्छे छु। एकैछिनमा पिसाब फेर्छु र बाहिर निस्किहाल्छु।

तर केहीबेर अगाडि भनेझैँ ताराले शौचालय प्रयोग गर्न निकै समय खर्च गर्छिन्। मचाहिँ शौचालयदेखि बाहिर निस्केर यसो दायाँ–बायाँ हेर्न थाल्छु। स्वागत कक्षको बायाँतिर मानिसहरू बस्न मिल्ने एउटा राम्रो प्रतीक्षालय देखा पर्छ। मैले एउटा झोला बोकिरहेको थिएँ। झोलालाई आफू नजिकै भुइँमा थपक्कै राख्छु र ताराले समय लगाइन् भनेर तिनै प्रतीक्षालयमा बसेर नागासाकी सहर र यहाँ खसेको आणविक बमको इतिहास स्मरण गर्न थाल्छु।

आधिकारिक रूपमा भन्ने हो भने जापानमा पाँच वटा—होन्सु, क्युशु, होकाइडो, सिकोकु र ओकिनावा—ठूल्ठूला टापुहरू रहेका छन्। तर पक्कापक्की भन्ने हो भने यहाँ लगभग १४ हजार १ सय २५ वटा स–साना टापुहरू रहेका छन्। यद्यपि ३ सयदेखि ४ सय टापुहरूमा मात्र मानव बस्नका लागि योग्य स्थानहरू छन्।

नागासाकी सहर जापानको क्युशु टापुमा पर्छ र यो नागासाकी प्रान्तको राजधानी एवम् सबैभन्दा ठूलो सहर पनि हो।

१६औँ शताब्दीदेखि १९औँ शताब्दीसम्म पोर्चुगिज, डच र चिनियाँहरूसँग व्यापारको लागि प्रयोग भएको जापानको नागासाकी एकमात्र बन्दरगाह बनेको थियो। त्यसैले यो सहरले चीन र विशेष गरेर युरोपसँग प्रगाढ सम्बन्ध जोडेको थियो।

तत्कालीन समयदेखि अहिलेसम्म यस सहरमा चिनियाँ र युरोपेली संस्कृतिको राम्रो प्रभाव परेको छ। तिनै प्रभावले यो जापानको अति नै आकर्षक सहर पनि बनेको छ भन्ने मलाई लाग्छ। अझै यसो भनौँ—यो जापानको सबैभन्दा सांस्कृतिक रूपमा धनी ठाउँहरूमध्येको एक प्रमुख स्थान पनि हो। उदाहरणका लागि यहाँका सडकहरूमा हिँड्दा तपाईंले डच डुङ्गा महोत्सवमा प्रयोग गरिने सरसामानहरू, रातो चिनियाँ मन्दिरहरू र क्याथोलिक धर्मावलम्बीका गिर्जाघरहरू अहिलेसम्म आफ्नै आँखाले देख्न सक्नुहुन्छ।

त्यतिमात्र नभएर नागासाकी सहर दक्षिणी जापानको सबैभन्दा ठूलो बन्दरगाहमध्येको पनि एक थियो। यसको व्यापक औद्योगीकरणले युद्धकालीन समयमा ठूलो महत्त्व दिएको थियो। यहाँ हातहतियार, पानीजहाज, सैन्य उपकरण र अन्य युद्ध सामग्रीहरूको उत्पादन गरिन्थ्यो। यस सहरका ठूल्ठूला कम्पनीहरू जस्तै—मित्सुबिशी शिपयार्ड, इलेक्ट्रिकल शिपयार्ड, आर्म्स प्लान्ट र स्टिल एन्ड आर्म्स वर्क्सहरू थिए। जसले सहरको श्रमशक्तिको लगभग ९० प्रतिशत रोजगारी प्रदान गर्दथे।

प्रतीक्षालयको एउटा कुर्सी तताएर नागासाकीको संक्षिप्त इतिहास सम्झँदै गर्दा तारा टुप्लुक्क मेरो अगाडि झुल्किन्छिन्। उनी आएपछि हामी दुवैजना हिँड्दै–हिँड्दै मुनि तलामा झर्न थाल्छौँ। यहाँ मुनि झर्ने बाटो पनि अचम्मैको छ। अखेटा–अखेटा भएको सिँढी नभएर बिस्तारै हिँड्ने तर निकै टाढासम्म फनफनी घुम्दै–घुम्दै मुनि तलामा झर्न मिल्ने छ। हामी पनि बिहेको जग्गेमा दुलहा र दुलही फनफनी घुमेझैँ घुम्दै–घुम्दै मुनि तलामा झर्छौँ।

मुनितलामा झरेपछि टिकट जाँच्ने स्थानमा पुगिन्छ। तर त्यहाँनेरको भित्तामा ठूल्ठूला अक्षरमा १९४५ भनेर लेखेको देख्न सकिन्छ। जुन समय भनेको दोस्रो विश्वयुद्धको अन्त भएको समय हो। हामी त्यहाँ पुगेर एक–एकपटक तस्बिर लिन्छौँ र हातमा टिकट लिएर टिकट जाँच्ने स्थानमा जान्छौँ।

वास्तवमा अलिकति दुर्भाग्य नै मान्नुपर्छ। खै किन हो किन ? टिकट जाँच्ने क्रममा हाम्रो टिकटको क्यूआर कोड मेसिनले स्क्यान गर्न सक्दै सक्दैन। दुई–तीन पटक कोसिस गरेँ। तर केही टेरपुच्छर लागेन। त्यसपछि अब के गर्ने होला भनेर एकछिन तनावमा पर्छु।

जापान आउनुअगावै मैले मोबाइलमा ‘सुइका कार्ड’ चाहिँ डाउनलोड गरेको थिएँ। जसले गर्दा हरेक रेल स्टेसनमा रेलको टिकट खरिद गरिरहन आवश्यक पर्दैनथ्यो। सुइका कार्ड अति नै उपयोगी सिद्ध भएको थियो। एकपटकमा एकजना मात्र पार गर्न मिल्ने सानो घुम्ने ढोका (टर्नस्टाइल) मेसिनको छातीमा मोबाइल राख्नेबित्तिकै टिट् भन्ने आवाज आउँथ्यो र सुइकामा रहेको मौज्दात घट्थ्यो, काम हुन्थ्यो, सरर ढोका खोलिन्थ्यो। जुन एकदम सजिलो र समय किफायती पनि लाग्थ्यो।

बार कोडले काम नगरेपछि अब मलाई ठूलो फसाद पर्छ। यसो दायाँ–बायाँ हेर्छु। कसैलाई बोल्नको लागि एक सेकेन्ड समय पनि फुर्सत भएको देख्दिनँ। मानिसहरू आ–आफ्नो बार कोड पेल्नमा हतार–हतार छन्। हुन त जापानमा मानिसको भिडभाडको के कुरा भो र ? जताततै मान्छे–मान्छे, तर एकजना फुर्सत छैनन्। मेरो केही उपाय नचलेपछि अनुहारमा तातातो रगत बहन सुरु गर्छ। चिटचिट पसिना आएजस्तो महसुस हुन्छ।

‘यस्तै हुन्छ र घरिघरि घुम्न नजाऊ है, भनेको। मेरो कुरा मरिगए सुन्ने होइन ? अबदेखि म त घरैमा बस्ने हो। मलाई कतै पनि जानु परेको छैन ? कता–कता जानु छ। तपाईं एक्लै जानुहोस् है ?’ पर्खालको भित्तामा ठोकिएर अचानक यस्तो प्रश्न आउँछ।

ल, प्रश्न आयो। ठिक्कै छ। तर के पनि भनिन्छ भने, ‘प्रश्न बुझ्नु नै आधा उत्तर हो।’ त्यसैले पहिले प्रश्न बुझ्ने प्रयत्न गर्छु। तर प्रश्न किन आएको छ भनेर केही बोल्दै बोल्दिनँ। बरु यतिबेला रुनु कि हाँस्नु ? आफैँलाई सोध्छु। तर कता–कता, ‘जसलाई बढी माया गर्नुहुन्छ, उसले नै बढी पीडा दिन्छ,’ उहिले सुनेको कुरा यतिबेला सम्झन्छु।

तर जति कुरा सम्झे पनि समस्या समाधान हुने कुरो भएन। त्यसपछि फनफनी टाउको घुमाउँछु। अलिक पर कुनामा दुई–तीनजना सङ्ग्रहालयका कर्मचारी युवतीहरू उभिरहेका देखिहाल्छु। उनीहरूलाई देखेपछि एकैछिनमा बेस्मारी उकालो चढेको थर्मामिटरको पारो ह्वात्तै मुनि झरिहाल्छ र मन शान्त हुन्छ। अरू केही सोच्दिनँ। खुरुरु दगुर्दै उनीहरूका नजिकै पुग्छु र दोस्रो विश्वयुद्धको समयमा पराजय स्वीकार गर्दै जापानले दुवै हात माथि आकाश छुने गरी उठाएको जस्तै सहयोगको लागि म दुवै हात माथि उठाइहाल्छु।

मानिसको भिडभित्र असिनपसिन भइरहेको मेरो नाजुक अवस्था देखेर एकजना मैया मस्किँदै–मस्किँदै मेरो नजिकै आउँछिन्। उनी आउनेबित्तिकै म मेरा दुवै टिकटहरू उनलाई सुम्पिदिन्छु। उनले मेसिनमा लगेर नम्बरहरू टाकटुक–टाकटुक हानिदिन्छिन् र ‘यहाँदेखि जानुहोस्’ भन्छिन्। त्यति भएपछि गर्विलो मुद्रामा तारा र म सङ्ग्रहालयभित्र पस्छौँ। तर भित्र पस्दै गर्दा एकदम ठूलो मान्छे हुन्छु र निकै लामो समयसम्म घरदेशतिर नगएकी तारालाई—

‘बुढिया ! आजभोलि त नेपालमा पनि जताततै क्यूआर कोड चलाउने चलन रहेछ। हेर ! हामी त पुराना जमानाका मान्छे परियो। नेपालमा मोबाइल बैंकिङ प्रणालीमा पनि अहिलेसम्म जोडिएका छैनौँ। सायद त्यसैले होला ? हाम्रो क्यूआर कोड पनि छैन। झन् तिम्रो त के कुरा गर्नु र ? नेपालमा अहिलेसम्म बैंक खाता पनि छैन। अनि सुन न—स–सानो भुट्ने पसलतिर पनि खाली क्यूआर कोड खोज्छन्। के तिमीलाई यसको विषयमा केही थाहा छ ?’

‘म जाबो बैंकको खाता नहुने मान्छेलाई किन चाहियो ? फेरि त्यो भनेको के हो र ?’

क्विक रेस्पोन्स (क्यूआर) द्रुत-प्रतिक्रिया कोड हो। अथवा एक प्रकारको दुई-आयामी म्याट्रिक्स बारकोड हो, जुन १९९४ मा जापानी कम्पनी डेन्सो वेभका मासाहिरो हाराले गाडीका पार्ट्स लेबल गर्न आविष्कार गरेका थिए। यसमा वर्गाकार ग्रिडभित्र सेता र काला वर्गहरू हुन्छन्, जसका कुनाहरूमा फिड्युसियल मार्करहरू हुन्छन्। क्यामेरा जस्ता इमेजिङ उपकरणहरूद्वारा यसलाई पढ्न सकिन्छ। यो अहिले नेपालमा चन्दा माग्नेदेखि बैंकबाट कसैलाई पैसा दिन वा लिनसम्मका लागि अति नै लोकप्रिय प्रविधि मानिएको छ।

'मेरो त पैसा नि छैन। क्यूआर पनि परेन। आ.... भो, चाहिएन। केको झमेला गर्छु? बिनाबिचैमा नदुखेको टाउकोको दुखाइ रहन्छ,' भन्छिन्।

पैसाको कुराले एकदम थकित र बेचैन मुद्रामा बोलेकी सुनेर, 'हुन्छ, हुन्छ। ठिकै छ,' भन्छु।

तर उता बेलायततिर क्यूआर चलाएका हामीले त्यति अनुभव गरेका छैनौँ। कसैकसैले प्रयोग गर्छन् होला, तर हामीले खासै वास्ता गरेका छैनौँ। म प्रायजसो बैंकको कारोबार प्लास्टिक कार्डबाट गर्छु। बैंकमा पैसा छ भने सिधै डेबिट कार्ड प्रयोग गरिन्छ। एकैछिनमा आफ्नो खाताबाट मौज्दात घटिहाल्छ।

होइन, छैन भने आफ्नो क्षमताअनुसार बैंकले एक महिनाजति पैसा सापटी दिइहाल्छ। सरसामान खरिद गर्दा तिनै उधारो कार्ड मेसिनमा पेल्दै गर्छु। बोलिचालीको भाषामा त्यसलाई क्रेडिट कार्ड भन्ने गरिन्छ। त्यो कार्ड एकदम फाइदाजनक पनि छ। बिना धितो महिनाभरिका लागि ऋण चलायो र अन्तमा आफ्नो तलब थापेपछि एकमुष्ट बुझायो। तर यता जापानमा भने अझै पनि अत्यधिक मानिसहरूले नगद (क्यास) प्रयोग गरेका देखियो। यति विकसित देशमा पनि घरिघरि क्यास खोजिहिँड्ने चलन देख्दा मलाई अलिक अचम्म नै लाग्यो।

त्यसपछि सङ्ग्राहलयको कोठाभित्र पुग्छौँ। बम विस्फोट हुनुभन्दा पहिले नागासाकी सहरको जीवन्तता, सुन्दर घरहरू, घरका रङ्गीन इँटाहरू, झ्यालहरू, सडकहरू र पहाडहरूका अविस्मरणीय तस्बिरहरू हेर्छौँ।

बिस्तारै अगाडि सर्दै जान्छौँ। कोठाको एकापट्टिको छेउमा आणविक बम विस्फोटसम्मको विकासका बारेमा संक्षिप्त खण्ड देखिन्छ।

तिनै स्थानमा 'फ्याट म्यान' बमको पूर्ण आकारको प्रतिकृति मेरो आँखासामु ड्याम्मै देखा पर्छ। अथवा यसो भनौँ, यहाँ सबैभन्दा प्रभावशाली प्रदर्शनी भनेको 'फ्याट म्यान' बमको मोडेल नै हो। तिनै बमले मलाई अति नै आकर्षण गर्छ। यसको बाहिर पहेँलो रङ्ग छ, तर बीच भागमा कालो रङ्गको पेटी देखिन्छ। भित्री भागको क्रस सेक्सन देखाउन पछाडि खुला गरिएको छ। यसो राम्ररी नियालेर हेर्दा भित्र यसको प्लुटोनियम कोर एकदम सानो देखिन्छ। अनि वरिपरि विस्तृत चार्टमा व्याख्या गरिएका छन्। हुन त आणविक बमसम्बन्धी शून्य ज्ञान भएको हुनाले त्यहाँ के-के लेखेका होलान् भनेर म केही मेलोमेसो पाउँदिनँ।

तैपनि यहीँ पड्केकोले निम्त्याएको विनाशले त्यतिका धेरै मानव जीवन नष्ट गर्‍यो भन्ने मज्जाले बुझ्छु। त्यो विध्वंस सम्झेपछि एकछिन भावविह्वल हुन खोज्छु र किनकिन त्यो जाबो मोडललाई बेसरी गाली गर्न लाग्छु।

आजभन्दा ठीक एकासी वर्षअघिको कुरो हो। हिरोशिमापछि जापानी भूमिमा नागासाकीमा दोस्रो पटक आणविक बम प्रहार भएको थियो। उक्त बमको प्रतिकृतिलाई हेर्दा आणविक युद्धको अवधारणा र वास्तविकता अझै पनि पहिले जस्तै अथाह र भयानक नै छन् भन्ने लाग्छ। हुन त आशा एवम् भरोसा गरौँ, अबदेखि उसो यस संसारमा यस्तो प्रकारको बमहरूको कहिल्यै प्रयोग नहोस्।

तर हरेक मानिसको सकारात्मक ध्यान खिँच्नका लागि नागासाकी आणविक बम सङ्ग्राहलयको भ्रमण गर्न अत्यन्तै आवश्यक छ। त्यसैले हामी पनि आफ्नो जीवनकालमा बल्लबल्ल एकचोटि त्यहाँ पुगेका थियौँ। मनमनै त्यस्तो सम्झेपछि तारालाई एउटा भिडियो खिँच्न लगाइहाल्छु। र, भिडियोका लागि म त्यस दिनको स्मरण गर्न थाल्छु।

६ अगस्ट १९४५ को दिन थियो। हिरोशिमा, जापानमा संसारको सबैभन्दा पहिलो आणविक बम प्रहार भयो। जसको परिणामस्वरूप लगभग ७० देखि ८० हजार मानिसहरू तत्कालै एकै चिहान भएका थिए। हिरोशिमामा प्रहार गरिएको उक्त आणविक बमको नाम 'लिटल ब्वाय' थियो। तर बमको असरले त्यस वर्षको अन्तसम्ममा लगभग १ लाख मानिसहरूको मृत्यु भएको आकलन गर्न सकिन्छ।

त्यसको ठीक तीन दिनपछि, अथवा ९ अगस्ट १९४५ को दिन बिहानको समय ठीक ०३:४७ बज्छ। अमेरिकी वायु सेवाका विमान चालक मेजर चार्ल्स डब्लु. स्वीनीले बमवर्षक विमान बोइङ बी-२९ सुपरफोर्ट्रेस (बक्सकार) लिएर टिनियन टापुलाई छाड्छन्। उनका विमान सहचालक कप्तान चार्ल्स डी. आलबरी थिए। विमानमा जम्मा १३ जना सैनिकसहित आणविक बम 'फ्याट म्यान' राखिएको थियो।

उक्त बम प्रहार गर्नका लागि मेजर स्वीनीको प्राथमिक लक्ष्य भने कोकुरा, जापान रहेको थियो। यदि कुनै कारणवश कोकुरामा बम प्रहार गर्न सकिएन भने दोस्रो लक्ष्य भने नागासाकी सहर भनेर उनीहरूले छानेका थिए।

युद्धको पूर्वयोजना अनुसार बक्सकार विमान कोकुरा सहरको आकाशमा भनेको समयमा नै पुग्छ। तर विमान कोकुरामाथि पुग्दा सहरलाई विशाल बादल र धुवाँले ढाकिरहेको देखिन्छ।

अघिल्लो दिनको मात्र कुरा हो। कोकुरादेखि नजिकै रहेको अर्को सहर याहाटामा २२४ बी-२९ द्वारा गरिएको ठूलो फायरबम आक्रमणबाट सहर सबै जलिरहेको थियो। आगोले याहाटा स्टिल वर्क्स जल्दा एकदम ठूलो कालो धुवाँ उत्पन्न भइरहेको थियो। कालो धुवाँको परिणामस्वरूप कोकुरामाथिको आकाश लगभग ७० देखि ७५ प्रतिशत क्षेत्र पूरै ढाकिएको थियो। त्यस्तो अवस्थामा बमवर्षक विमानले लक्ष्यमा निश्चित प्रहार गर्न अति नै कठिन पर्थ्यो।

तैपनि बोइङ बी-२९ सुपरफोर्ट्रेस विमानका कमान्डर चार्ल्स स्वीनीले कोकुराको आकाशमाथि पुगेपछि लगभग ५० मिनेटजति सहरमाथि फन्को लगाइरहे। अझै उनले तीन पटकजति बम खसाल्ने असफल प्रयत्न पनि गरेका थिए।

तर यसरी धेरैबेरसम्म आकाशमा उडिरह्यो भने कतै तेल सकिन्छ भन्ने विमान चालकलाई डर उत्पन्न भयो। हुन त उनको साथमा अन्य छ वटा बी-२९ सुपरफोर्ट्रेस विमानहरू पनि सँगसँगै उडिरहेका थिए। बोइङ बी-२९ सुपरफोर्ट्रेस बक्सकारले वास्तविक आणविक बम 'फ्याट म्यान' बोकेको थियो भने अन्य विमानहरूले उपकरण, मौसम अवलोकन र समर्थन विमानका रूपमा भूमिका निभाइरहेका थिए।

कोकुरामा आणविक बम प्रहार गर्ने सपना चकनाचुर भइसकेपछि विमानका कमान्डर चार्ल्स स्वीनीले आफ्नो रणनीति परिवर्तन गरेर विमानलाई नागासाकीतर्फ उडाउन थाल्छन्।

सहरमाथि लागेको कालो धुवाँले गर्दा कोकुरावासीहरूको भाग्य र नागासाकीवासीहरूको दशा चम्क्यो।

बिहानको समय ठीक ११ बजेर २ मिनेट जान्छ। मेजर चार्ल्स स्वीनीले नागासाकी सहरमाथि बम प्रहार गर्छन्। उक्त आणविक बम जमिनभन्दा लगभग १,६०० फिटमाथि विस्फोट हुन्छ र अचानक प्रकाशको एउटा अन्धकारमय चमक ल्याउँछ। धेरै भयानक ठूलो चमक, तर कुनै आवाज आउँदैन।

सेतो धुवाँको एक विशाल स्तम्भ माथि आकाशतिर तैरिरहेको देखिन्छ। जुन माथि उठ्दै जाँदा हजारौँ डिग्रीसम्म तातो हावा उत्पादन गर्छ र छिटो-छिटो फुल्दै जान्छ। सेतो धुवाँले भयानक गति र शक्तिका साथमा पहाडहरू र खेतहरूलाई पटाङ्गिनीमा परिवर्तन गरिदिन्छ। घरहरू र रूखहरू सबै कुरा भुइँमा सोत्तर हुन्छन्। हरेक कुरा टुक्रा-टुक्रा हुन्छन् र भग्नावशेषहरू यताउता उडेर जान्छन्। धुवाँ सहरभन्दा करिब ४५,००० फिटको उचाइसम्म च्याउको रूपमा बादल बनेर उठ्छ। (स्मरण रहोस्—समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ लगभग २९,००० फिट छ र समुद्री सतहदेखि सबैभन्दा गहिरो भाग मरियाना ट्रेन्च, प्रशान्त महासागरको गहिराइ लगभग ३५,००० फिट छ।)

आणविक बमको विस्फोटबाट उत्पन्न घातक विकिरणले मानिस, जीवजन्तु र वनस्पति सबैलाई थिच्छ, कुल्चिन्छ, जलाउँछ र मार्छ। बम खसेको केही समयमै यसको केन्द्रबिन्दु (हाइपोसेन्टर) भग्नावशेषमा परिणत हुन्छ।

लस अलामोस प्रयोगशालाका वैज्ञानिकहरू र इन्जिनियरहरूले ह्यानफोर्ड साइटमा निर्मित प्लुटोनियम प्रयोग गरेर निर्माण गरेका 'फ्याट म्यान' ठोस प्लुटोनियम कोर भएको आणविक बम हो। हुन त आणविक विस्फोटहरू पारम्परिक (रासायनिक) विस्फोटकहरूको तुलनामा अत्यन्त विनाशकारी हुन्छन्। अझै 'फ्याट म्यान'को लम्बाइ १२८ इन्च (३.३ मिटर), व्यास ६० इन्च (१.५ मिटर) र मास १०,३०० पाउन्ड (४,६७० किलोग्राम) को थियो। त्यसैले गर्दा यसले नागासाकी सहरको लगभग एक तिहाइ भाग जलाएर खरानीमा परिणत गरिदिन्छ।

अँ.... जुन दिन नागासाकीमा बम विस्फोट हुन्छ, त्यस दिन सहरको अनुमानित जनसंख्या २ लाख ६३ हजार थियो। जसमध्ये २ लाख ४० हजार स्थानीय जापानीहरू हुन् भने अन्य मानिसहरूमा १० हजार कोरियालीहरू, २ हजार ५ सय कोरियाली (भर्ती) गरिएका कामदारहरू, ९ हजार जापानी सैनिकहरू, ६ सय चिनियाँ (भर्ती) गरिएका कामदारहरूका साथसाथै नागासाकी युद्ध शिविरमा करिब ४ सय जना दोस्रो विश्वयुद्धका युद्धबन्दी (प्रिजनर अफ वार—पीओडब्लु)हरू थिए।

ती युद्धबन्दीहरूमा सम्भवतः गोर्खाली सिपाहीहरू पनि हुन सक्छन् कि भन्ने मलाई शंका लाग्छ। तर त्यो खोज तथा अनुसन्धानको विषय हुन सक्छ। इतिहासले के पनि बताउँछ भने दोस्रो विश्वयुद्धमा करिब करिब दुईदेखि तीन हजार बेलायती गोर्खा सिपाहीहरू जापानी युद्धबन्दी भएका थिए। तिनै पूर्व बेलायती गोर्खा सेनाका जापानी युद्धबन्दीहरूले सन् २००२ मा प्रतिव्यक्ति दश हजार स्टर्लिङ पाउन्ड क्षतिपूर्ति पनि प्राप्त गरेका थिए।

मानव जीवनका लागि अति नै कालो इतिहास मानिने उक्त दिन 'फ्याट म्यान' आणविक बमले लगभग ४० देखि ४५ हजार निर्दोष मानिसहरूलाई तत्कालै मृत्युवरण गराइदिन्छ। कतिजना मानिसहरू घाइते तथा अपाङ्ग भए, सम्भवतः त्यसको हिसाबकिताब नै हुन सकेन होला भन्ने मलाई अहिले पनि लाग्छ। अझै कतिपय मानिसहरूले नागासाकीको केन्द्रबिन्दु (हाइपोसेन्टर) भएको क्षेत्रमा लगभग ७० देखि ७५ वर्षसम्म वनस्पतिविहीन भएर रहनेछ भनेर दाबी गरेका थिए।

नागासाकीको जुन ठाउँमा बमको केन्द्रबिन्दु (हाइपोसेन्टर) भएको थियो, त्यहाँदेखि करिब करिब ६७ लाख वर्गमिटर (२.५९ वर्गमाइल) क्षेत्रफलसम्म क्षति भएको अहिले पनि मानिन्छ। केन्द्रबिन्दु नजिकका लगभग ११ हजार ५ सय ७४ घरहरू पूर्ण रूपमा जलेर खरानी भएका थिए भने १ हजार ३ सय २६ घरहरू साह्रै नराम्ररी क्षतिग्रस्त भएका थिए।

मधुरो बत्तीको प्रकाशमा नागासाकीका दुःखद कालक्रमका तस्बिरहरू हेर्दै-हेर्दै हामी तारासँग क्रमशः अगाडि बढ्छौँ। दारुण क्षणमा रहेर भग्नावशेषहरूका बीचबाट जम्मा गरिएका बिरूप मानिसहरूका विभिन्न लाशहरूका तस्बिरहरू देख्छौँ। तातोले पग्लिएका मोतीका मालाहरू, विकृत पानीको टावर, छिद्रछिद्र भएर च्यातिएका सैनिक युनिफर्महरू देख्दा मन कटक्कै खान्छ, मुटु भतभती पोल्छ।

यतिका धेरै मानिसहरूको मृत्यु भएका तस्बिरहरू देखेपछि, 'संसारमा यस्तो पनि भएको रहेछ। मैले त कहिल्यै पढेको पनि थिइनँ। कहीँकतै सुनेको पनि थिइनँ। आज यहाँ देखेर पो चाल पाएँ। तर यो हेरेर किनकिन आँसु पो झर्ला जस्तो भयो?' पीडादायी अनुहारमा अचानक ताराको वाक्य फुट्छ।

त्यति दुःखद तस्बिरहरू र प्रतिकृतिहरू हेर्दा गहभरि आँसु बोकेकी मेरी श्रीमतीसँगसँगै हिँड्न मेरो देहले पटक्कै मान्दैन। त्यसैले म उनलाई त्यहीँ छाडिराखेर सुइँसुइँ हिँडेर निकै अगाडि बढ्छु। किनभने उनकी आँखामा आँसु देखे भने मलाई एकदम बिरमाइलो लाग्छ।

अलिक टाढा पुगेपछि भित्तामा झन् पूरै शरीर डढेको एकजना मानिसको तस्बिर मेरो आँखासामुन्ने पर्छ। उनलाई देखेपछि मनमनै यस्तो लाग्छ—यो यही स्थल हो, जहाँ 'फ्याट म्यान' बमको केन्द्रबिन्दु (हाइपोसेन्टर) रहेको थियो। अनि त्यसबेला केन्द्रबिन्दु नजिक यस्ता मानिसहरूको हालत के भयो होला? उनीहरूले आफ्नो जीवनको अन्तिम शब्दहरू के भनेर यस धर्तीलाई छाडे होलान् भनेर एकछिन कल्पिरहन्छु।

सम्झना र कल्पना दुई फरक कुरा हुन्। तर म अहिले उनीहरूलाई सम्झन्छु। त्यसबेला उनीहरूले पाएका दुःखद क्षणको कल्पना गर्छु। हुन त तत्कालीन समयमा पीडित भएका मानिसहरूलाई सम्मान र सम्झनाका लागि मात्र नभएर यो नागासाकी आणविक बम सङ्ग्राहलयले अबदेखि भविष्यमा कहिले पनि आणविक युद्ध नहोस् भनेर मजबुत वकालत गर्दछ।

एकछिनसम्म छुट्टिएर सङ्ग्राहलयभित्र हिँडे तापनि मेरो मन नौनी घिउझैँ पग्लिहाल्छ। त्यसपछि पुनः मेरो तारासँग भेट हुन्छ। त्यहाँदेखि हामी सुस्तरी हिँडेर अर्को कोठामा जान्छौँ।

यहाँदेखि लगभग ८०० मिटरजति टाढा केइहो माध्यमिक विद्यालय अवस्थित थियो। विद्यालयको छेउमा एउटा ठूलो पानीको ट्याङ्की थियो। त्यसको तस्बिर पनि यहाँ राखिएको देख्न सकिन्छ। अझै विस्फोटको समयमा बमले उडाइदिएको उराकामी क्याथेड्रलको एकापट्टिको पर्खालको प्रतिकृति पनि मज्जाले हेर्न मिल्छ। उराकामी जिल्ला परम्परागत रूपमा ग्रामीण र पृथक उपनगर थियो। तिनै उराकामी क्याथेड्रलभित्र भेटिएका केही मोतीका मालाहरू त्यहाँ सुरक्षित तरिकाले राखिएका छन्। मलाई जहाँसम्म लाग्छ, बम विस्फोटको समयमा कैयौँ मानिसहरू क्याथेड्रलभित्र 'हामी अरू केही चाहँदैनौँ, केवल बाँच्न पाऊँ' भनेर भगवान्प्रति प्रार्थना गरिरहेका पनि हुन सक्छन्।

तपाईंले आफ्नो मुटु दह्रो बनाएर थोरै अगाडि बढ्दा बम विस्फोट भएपछि तुरुन्तै सहर कुन अवस्थामा पुग्यो भनेर खिचिएका तस्बिरहरू देख्न सक्नुहुनेछ।

जीवनमा कुन-कुन स्थानमा पुगेर प्रथम वा द्वितीय विश्वयुद्धले क्षति बनाइदिएका सहरहरूका भग्नावशेषहरू खुबै हेरिएको थियो। तर नागासाकी पुगेर आणविक बम सङ्ग्राहलयको फनफनी चक्कर लाउँदा मेरो पनि आँखाबाट पिलपिल आँसु झर्न खोजिरहेको थियो। यद्यपि ताराको अगाडि छोरा मानिस भएर रुन हुँदैन भन्ने युक्ति सम्झिरहेको थिएँ। तैपनि मृतकहरूले छाडेर राखेका विविध कलाकृतिहरूसँगसँगै उनीहरूका तस्बिरहरू र तथ्यहरू हेर्दा निश्चय नै हरेक मानिसलाई त्यति सजिलो महसुस नहुने रहेछ।

अझै सरसर्ती हेर्दै अगाडि बढ्दा सन् १९४५ को सुरुवाती समयमा अमेरिकी सेनाले जापानमा खसालेका पर्चाहरू प्रदर्शन गरेर राखिएका छन्। पर्चाहरूले हिरोशिमाको बम विस्फोट र आणविक बमको शक्तिका बारेमा हामीलाई स्पष्ट जानकारी दिन्छन्। हिरोशिमामा के भयो भनेर मानिसहरूलाई चेतावनी दिन र नागासाकी सहरका नागरिकहरूलाई सहर खाली गर्न आग्रह गरिएका फ्लायरहरूको नमुनाहरू प्रदर्शनमा छन्। अझै उनीहरूले फ्लायरहरूमा नागासाकीका नागरिकहरूलाई लडाइँ बन्द गर्न चेतावनी दिएका थिए।

हो, तिनै बमको तापले पग्लिएका सिसाका बोतलहरू, तिनै सिसाको थुप्रोमा टाँसिएका मानवका हातखुट्टाका हड्डीहरू, जलेर धुजाधुजा भएका लुगाफाटाहरू, जलेको खाजाको बक्स र मानवका खोपडीका अवशेषहरूका साथसाथै सैनिकका फलामे टोपी (हेलमेट) पनि सङ्ग्राहलयमा समावेश गरिएका छन्। विस्फोटबाट भएका अनेकौँ क्षतिहरू र बमबाट बचेका मानिसहरूको अपील तथा उनीहरूले उद्धार र राहत कार्य गर्दाका गतिविधिहरू पनि यहाँ राम्ररी देख्न सकिन्छ।

सङ्ग्राहलयको अन्तिम कोठामा नागासाकी बम विस्फोटसँग सम्बन्धित भिडियोहरू, बम विस्फोटको केही समयपछि खिचिएका फोटोग्राफिक फुटेजहरू र रक्तपातपूर्ण तस्बिरहरू समावेश गरिएका छन्। हाइपोसेन्टर नजिकै समतल भग्नावशेषमा छरिएका सम्पूर्ण जलेका मानिसका शरीरहरू र विभिन्न कागजातहरू लगायत शान्ति घोषणापत्र पनि हेर्न सकिन्छ।

सङ्ग्राहलयको छेउमा २००३ मा निर्माण गरिएको आणविक बम पीडितहरूका लागि नागासाकी राष्ट्रिय शान्ति स्मारक हल पनि रहेको छ। तर त्यहाँदेखि अलिक अगाडि बढेर नागासाकी राष्ट्रिय शान्ति स्मारक हल जाने बाटोमा तत्कालीन समयका चर्चित राजनेता तथा वैज्ञानिकहरूका तस्बिरहरू देख्न सकिन्छन्।

तस्बिरहरूका सबैभन्दा सिरानमा जुलियस रोबर्ट ओपेनहाइमरको तस्बिर छ। उनी चाहिँ अमेरिकी भौतिकशास्त्री तथा वैज्ञानिक हुन्। उनले दोस्रो विश्वयुद्धको समयमा म्यानहटन परियोजनाका लागि लस अलामोस प्रयोगशालाको निर्देशकका रूपमा काम गरेका थिए। आणविक हतियारको विकासमा मुख्य भूमिका निभाएबापत उनलाई 'परमाणु बमका पिता' भनेर अहिलेसम्म चिन्ने गरिन्छ।

धेरै मानिसहरूले के पनि भन्छन् भने जापानमा आणविक बमको प्रहार गरेकोमा उनलाई कुनै पश्चात्ताप छँदै थिएन। तर जब तपाईं आफ्नो कारणले दुई लाखभन्दा बढी मानिसहरूको मृत्यु हुन्छ भनेर त्यसबारे सोच्नुहुन्छ भने तपाईं स्वाभाविक रूपमा त्यति सजिलै सोच्नुहुन्न जस्तो मलाई लाग्छ।

सन् २०१५ मा एरिजोनाको टक्सनमा रहेको वायु तथा अन्तरिक्ष सङ्ग्राहलयमा निष्क्रिय पारिएको आणविक क्षेप्यास्त्रको धुलोमा, 'अब म मृत्यु, संसारको विनाशकर्ता बनेको छु,' भन्ने लेखिएको थियो। उक्त वाक्यांश संस्कृत धर्मग्रन्थ भगवद्गीताबाट उद्धृत गरिएको हो। जुन वाक्यांशले परमाणु बमका पिता जुलियस रोबर्ट ओपेनहाइमरलाई सम्झेर लेखिएको हो।

क्रमशः त्यहाँ राखिएका अन्य तस्बिरहरू हेर्दै जानुहुन्छ भने सबैभन्दा मुनिको भागमा अल्बर्ट आइन्स्टाइनको तस्बिर देख्न सक्नुहुनेछ। उनले, 'युद्ध सबै चिजको समाधान होइन,' भनेका थिए। सन् १९४७ मा न्युजविक पत्रिकाका लागि आइन्स्टाइनले 'द म्यान हू स्टार्टेड इट ऑल' शीर्षकको एक लेखमा, 'यदि जर्मनहरू परमाणु बम विकास गर्न सफल हुने छैनन् भनेर मलाई पहिले थाहा हुने भए म आणविक बमका लागि केही काम गर्ने थिइनँ,' भनेका थिए। अझै उनले राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टलाई लेखेको पत्रलाई 'मेरो जीवनको एउटा ठूलो गल्ती' भनेर वर्णन गरेका छन्।

तारा केही पर कुनामा टोलाएर एक्लै उभिरहेकी बेला म निकै निसध्यापनपूर्वक अन्य तस्बिरहरू पनि क्रमशः हेर्दै-हेर्दै जान्छु।

सन् १८७८ मा गोरी, जर्जियामा जन्मेका जोसेफ स्टालिनको तस्बिर बायाँ कुनामा देख्न सकिन्छ। तत्कालीन समयमा उनी सोभियत संघको कम्युनिस्ट पार्टीको महासचिव एवम् सन् १९४१ देखि १९५३ सम्म राष्ट्रका प्रधानमन्त्री भएका थिए। युद्धकालीन समयमा उनले बेलायती र अमेरिकी गठबन्धनलाई, 'बेलायतीहरूको बौद्धिक क्षमता, अमेरिकीहरूको भौतिक शक्ति र रुसीहरूको रगतमा युद्ध निर्भर हुन्छ,' भनेका थिए।

अति नै क्रूर एवम् निरङ्कुश खलनायक रसियाली शासक मानिएका स्टालिनको दाहिनेतिर तर बेलायती एक नम्बर महानायक विन्स्टन चर्चिलको तस्बिर देख्न सक्नुहुनेछ। विश्वयुद्धको समयमा अथवा १३ मे १९४० मा बेलायती तल्लो सदनमा प्रधानमन्त्रीका रूपमा दिएको आफ्नो पहिलो सम्बोधनमा उनले, 'मसँग रगत, कठोर परिश्रम, आँसु र पसिनाबाहेक दिनका लागि अरू केही छैन,' भनेको नागासाकीमा एकचरण स्मरण गर्छु।

राजपरिवारहरू मात्र बस्न मिल्ने राजदरबारहरूबाहेक बेलायतमा रहेको एक मात्र जनताको दरबार 'ब्लेनहाइम प्यालेस'मा जन्मेका चर्चिलको कुरो आइहाल्यो। चर्चिलको कुरा गर्दा एउटा प्रसङ्ग कोट्याउन अनुमति चाहन्छु।

तिनै दोस्रो विश्वयुद्धको समय थियो। २२ देखि २६ नोभेम्बर १९४३ मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट र चिनियाँ नेता जनरल चियाङ काइ सेकले मेना हाउस होटल, कायरो, इजिप्टमा 'कायरो सम्मेलन' गरेका थिए।

त्यो कुरो चाल पाएपछि, मैले त्यति ख्यातिप्राप्त स्थानमा आफ्नो ६०औँ जन्मदिन मनाउनका लागि सपरिवार तिनै होटलमा पुगेको अहिले झलझली स्मरण गर्छु।

लगभग तीन हजार वर्ष शासन गरेका मिश्रका फेरोहरूमध्ये सबैभन्दा पहिलो फेरो मेनेस (मेना)को नाममा रहेको उक्त चर्चित पाँचतारे होटलमा चर्चिल, रुजवेल्ट र चियाङ पुगेता पनि उक्त सम्मेलनमा भाग लिनका लागि स्टालिन जान मानेनन्। किनभने उनी चीनसँग अति नै रिसाएका थिए। कायरो सम्मेलन सकिएपछि रुजवेल्ट र चर्चिल स्टालिनलाई भेट्नका लागि त्यहाँदेखि सिधै उडेर तेहरान, इरान पुगेका थिए भने चियाङ लुरुलुरु आफ्नो घर चीनतर्फ फर्किएका थिए।

हुन त धेरै मानिसहरूले के पनि भन्ने गरेका छन् भने दुईजना मानिसहरूका दुश्मन एउटै मानिस हुन्छ भने ती दुईजना मानिसहरू मित्र हुन्। तर इतिहासमा स्टालिन र चियाङले त्यो कुरालाई गलत साबित गरिदिएका छन्। किनभने रुस र चीन दुवै देशका दुश्मन जापान भए तापनि उनीहरू एक-अर्काका पनि दुश्मन नै थिए, मित्र थिएनन्।

अँ.... स्टालिन र चियाङका कुरालाई यहीँनेर एकछिन यतै छाडौँ।

यहाँ भएका सबैभन्दा मुख्य तस्बिर भनेको म अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई मान्छु। सन् १९४५ मा उनी पहिले ३४औँ अमेरिकी उपराष्ट्रपतिका रूपमा रहेका थिए, तर अप्रिलमा राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टको असामयिक निधन भएपछि संयुक्त राज्य अमेरिकाका उनी ३३औँ राष्ट्रपति भएका हुन्।

अहिले हामी नागासाकीको परमाणु बम सङ्ग्राहलयमा छौँ र सबैभन्दा मुख्य कुरो त हिरोशिमा र नागासाकीमा आणविक बम खसाल्ने निर्णयलाई उनै ट्रुम्यानले स्वीकृति दिएका हुन्। दुईदुई ठाउँमा यसरी बम प्रहार गरिएपछि जापानलाई आत्मसमर्पण गर्न बाध्य बनाइएको थियो।

अझै त्योभन्दा गहकिलो कुरो के पनि छ भने यदि ६ अगस्ट १९४५ मा हिरोशिमामा आणविक बम प्रहार भएलगत्तै जापानले आत्मसमर्पण गरेको भए नागासाकीमा अर्को बम प्रहार गर्न आवश्यक पर्ने थिएन। तर जापानी सैन्य नेतृत्वले अमेरिकासँग केवल एउटा मात्र आणविक बम छ भनेर गलत आकलन गरे। परिणामस्वरूप नागासाकीमा अर्को बम प्रहार भयो र धेरै मानिसहरूको हताहत भयो।

तर मानव जीवनको इतिहासकै सबैभन्दा शक्तिशाली बम अमेरिकाले खसाल्नुभन्दा केही हप्ताअगाडिसम्म आणविक बम प्रहार गरिने सहरहरूको सूचीमा यो नागासाकी सहरको नाम समावेश गरिएको थिएन। त्यस सूचीमा नागासाकीको सट्टा हजारौँ वर्षसम्म जापानको प्राचीन राजधानी रहेको क्योटो सहरको नाम थियो।

कुरो के भयो भने, राष्ट्रपति ट्रुम्यानका तत्कालीन युद्धमन्त्री (सेक्रेटरी अफ वार) हेनरी स्टिमसन थिए। उनैले सांस्कृतिक महत्त्वका आधारमा ट्रुम्यानलाई नजिकबाट परामर्श दिएर क्योटोलाई सूचीबाट हटाइदिएका थिए। तर यो सूची अमेरिकी सैन्य जनरल, सेनाका अधिकारी र वैज्ञानिकहरूको एक समितिले तयार पारेका थिए। उनीहरूले युनेस्को विश्व सम्पदा सूचीमा रहेका १७ स्थलसहित १६ सय बौद्ध मन्दिर र ४ सय शिन्तो तीर्थस्थल गरेर लगभग २ हजार धार्मिक स्थलहरू रहेका हुनाले क्योटोलाई सूचीको शीर्ष स्थानमा राखेका थिए।

स्टिभेन्स इन्स्टिच्युट अफ टेक्नोलोजीका विज्ञान इतिहासकार एलेक्स वेलरस्टाइन भन्छन्, 'सैन्य दृष्टिकोणले क्योटोलाई उपयुक्त लक्ष्य मानिएको थियो। किनभने क्योटोमा त्यसबेलासम्म कुनै बमबारी गरिएको थिएन। त्यसैले अन्यत्र स्थानबाट धेरै उद्योगहरू पनि त्यहाँ सारिएका थिए र केही प्रमुख कारखानाहरू पनि त्यहाँ थिए।'

उनी थप्छन्, 'लक्ष्य निर्धारण समितिका वैज्ञानिकहरूले पनि क्योटोलाई नै प्राथमिकता दिएका थिए, किनभने त्यहाँ धेरै विश्वविद्यालयहरू पनि थिए। उनीहरूको विचारमा त्यहाँका मानिसहरूले यो बुझ्न सक्थे कि आणविक बम कुनै सामान्य हतियार मात्र होइन। बरु यो मानव इतिहासको एउटा महत्त्वपूर्ण मोड (टर्निङ पोइन्ट) हो।'

लक्ष्य सूचीबाट क्योटोलाई हटाइदिएकोमा युद्धमन्त्री स्टिमसनलाई धन्यवाद नै दिनुपर्छ। नत्रभने हजारौँ हजार वर्षमा निर्माण भएका त्यतिका धेरै धार्मिक तीर्थस्थलहरू खरानीमा परिणत हुन्थे। जापानको सबैभन्दा आकर्षक सहर क्योटोको हामीले गत हप्ता मात्र सफल भ्रमण गरेका थियौँ।

क्योटो जस्तै सम्राट हिरोहितोको दरबारमा आक्रमण गर्ने विषयमा पनि घनीभूत छलफल भएका थिए। तर अमेरिकाले निष्कर्ष निकाल्यो कि जापानमा 'जीवित देवता' भनेर मानिने व्यक्तिको मृत्युमा जापानीहरूको प्रतिक्रिया कस्तो हुन्छ होला भन्ने अनुमान गर्न त्यति सजिलै सकिँदैन। त्यसैले सम्राटको दरबारलाई ध्वस्त बनाइने सिफारिस गरिएन। यद्यपि मार्च महिनामा भएको 'फायर बमबारी' (आगो लगाउने बमको आक्रमण) ले टोकियो लगभग ध्वस्त भइसकेको थियो। त्यसैले यसलाई रणनीतिक रूपमा कम महत्त्वको रूपमा लिइयो।

'आज सङ्ग्राहलय मात्र हेरिरहने हो कि? केही खानेकुरा पनि खाने हौँ? यतिबेलासम्म भोकभोकै हिँड्दा अरू बेला त भोकले रुन खोज्ने मान्छे। के भो? सङ्ग्राहलयले नै अघाउनु भाको हो? म त अघाइसकेँ है?' हुन पनि बिहानभरि सङ्ग्राहलयमा भएका यतिका धेरै विकराल दृश्य हेरिसकेपछि ताराले सुस्तरी त्यति ओकली हाल्छिन्।

उनकी कुरा सुनेर, 'ल, ल! अब पीस पार्कतिर जाऊँ। उतै के-के पाइन्छ। रामेन, सामेन वा सुसी केही किनेर खाऊँ,' भन्छु।

ताराले जे सुकै भने तापनि नागासाकी आणविक बम सङ्ग्राहलयमा भ्रमण गर्न आएका हरेक आगन्तुकहरूलाई भीमकाय युद्ध र आणविक हातहतियारहरूका विषयमा गहन भएर सोच्न बाध्य गराउँदछ। तथापि नागासाकी आणविक बम सङ्ग्राहलय शान्ति र भविष्यमा हुन सक्ने आणविक युद्धको अन्त्यका लागि राम्रो आह्वान पनि हो, जस्तो लाग्छ।

अझै मलाई यस्तो लाग्छ—

निश्चय नै मानिसहरूलाई युद्धको त्रास र शान्तिको महत्त्वबारे कसरी जानकारी दिनुपर्छ भनेर यस सहरका नागरिकहरूले सदैव सोचिरहेका होलान्? किनभने यहाँका नागरिकहरूले त्यो दुःखद अनुभव भोगेका छन् र कतिपयले आफ्नै आँखाले पनि देखेका छन्। सम्भवतः उनीहरू विश्वमा अब फेरि यस्तो प्रकारको परमाणु बमको चीत्कार कहिल्यै नदोहोरियोस् भनेर प्रार्थना गर्छन् होला। एउटा सत्य कुरो के हो भने, कथंकदाचित् यो दुःखद अनुभवलाई हामीले बिर्सन हुँदैन र भावी पुस्तालाई यी कुराहरू जस्ताका तस्तै हस्तान्तरण गर्नु हाम्रो कर्तव्य पनि हो।

अन्ततः जसले जस्तो तरिकाले बुझेर सोचे तापनि नागासाकीमा बम विस्फोटपछि तुरुन्तै भएका रक्तपातपूर्ण फुटेजहरू र अझ बढी स्तब्ध पार्ने तस्बिरहरूलाई राम्ररी मनन गर्दा आणविक बमको खतरा र शान्तिको महत्त्वका बारेमा कसरी जानकारी दिने भन्ने प्रश्न मानव जीवनका लागि एउटा एकदम ठूलो चिन्ताको विषय हुन सक्छ।

अक्सफोर्ड, इङ्गल्यान्ड
३० अगस्ट २०२६

 

 

लेखक चिनारी

भीम राई
ब्रिटिस सेनाका अवकाशप्राप्त राई भ्रमण र अध्ययनमा विशेष रुचि राख्छन्। दर्जनौँ देशको यात्रा गरिसकेका उनी विभिन्न देशका सहर, संस्कृति र जीवनशैलीबारे गहिरो ज्ञान राख्छन्। लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७