कुशको शव बनाएर किरिया बसेको थियो परिवार, ११ औं दिन जीवितै फर्किइन् चण्डिका


२०८३ भदौ २० शनिबार १९:१२ बजे

काठमाडौं : चण्डिका श्रेष्ठको परिवारले आठ दिनसम्म उनको बाटो हेर्‍यो। बाढीले घरै बगाएपछि आफन्तहरू सम्भावित ठाउँमा पुगे, खोजी गरे। तर, चण्डिकाको कुनै खबर आएन।

दिन बित्दै गएपछि आशा पनि कमजोर हुँदै गयो। अन्ततः परिवारले उनी अब जीवित नरहेको ठान्यो। कुशको शव बनाएर मृत्यु संस्कार थालियो र काठमाडौँको सानो भर्‍याङस्थित घरमा काजकिरिया सुरु भयो।

तर, परिवार किरियामा बसेको ११औँ दिन एउटा अप्रत्याशित खबर आयो, चण्डिका जीवितै भेटिएकी थिइन्। ६४ वर्षीया चण्डिकालाई शनिबार नुवाकोटको बेत्रावती बजारमा बाढीले क्षतविक्षत बनाएको घरको भग्नावशेषबाट उद्धार गरिएको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उनलाई घरको माथिल्लो भागमा रहेको साँघुरो ठाउँबाट बाहिर निकालेको थियो।

बाढीले चण्डिका र उनका श्रीमान् बस्दै आएको साढे चारतले घरलाई नै उठाएर बगाएको थियो। घर त्रिशूली नदीको किनारतिर पुगेपछि थुप्रिएको ढुंगा, माटो र गेग्रानले त्यसलाई पुरेको थियो। बाहिरबाट हेर्दा त्यहाँ कोही मानिस जीवित रहन सक्ने कल्पना गर्नसमेत कठिन थियो।

बाढीपछि परिवारका सदस्यहरूले लगातार चण्डिकाको खोजी गरे। तर, सडक र बाटो बाढीले बगाएको थियो। घटनास्थल वरिपरि लेदो र दलदल जमेकाले हिँड्नसमेत मुस्किल थियो। कतिपय ठाउँमा शव कुहिएर दुर्गन्ध फैलिएकाले खोजीमा थप समस्या भएको थियो।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार उनका ज्वाइँले दुई–तीन दिनसम्म बेत्रावतीदेखि त्रिशूली किनारसम्म खोजी गरे। सुरक्षाकर्मी र उद्धार टोलीलाई समेत घटनास्थलसम्म पुग्न कठिन भइरहेको अवस्थामा परिवारको खोजी प्रयासले अपेक्षित परिणाम दिन सकेन।

आठौँ दिनसम्म पनि कुनै सुराक नपाएपछि परिवारले अब चण्डिका फर्किने सम्भावना नरहेको निष्कर्ष निकाल्यो। त्यसपछि कुशको शव बनाएर दाहसंस्कारको प्रक्रिया अघि बढाइयो र काजकिरिया सुरु गरियो।

तर, रमेशमानको मनमा भने चण्डिका कतै घरकै भग्नावशेषभित्र हुन सक्ने झिनो आशा बाँकी थियो। ‘घरमै हो भने त पानी वा चाउचाउ जे खाएर भए पनि माथिल्लो तल्लामा गएर बसिरहेकी होली,’ उनले भने, ‘एकचोटी फेरि खोजौँ भन्ने मलाई लागिरहेको थियो।’

त्यो आशा ११औँ दिन सत्य साबित भयो। शनिबार बेत्रावतीमा खोजी तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले भग्नावशेषको माथिल्लो भागबाट मानिस बोलेको आवाज सुन्यो। आवाज पछ्याउँदै खोज्दा सानो ठाउँमा चण्डिका भेटिइन्।

उनी हिलोमा पुरिएको अवस्थामा थिइन्। उद्धारकर्ताले घरको संरचना हटाउँदै उनलाई बाहिर निकाले। लामो समय बेहोस रहेकी र पछि होसमा आएको हुनसक्ने अनुमान उद्धार टोलीको छ।

होसमा आएपछि चण्डिकाले उद्धारका लागि आवाज दिएकी थिइन्। उनको आवाज नै उद्धारकर्ताका लागि जीवनको संकेत बन्यो। भग्नावशेषबाट बाहिर निकालिएपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ।

चण्डिका जीवितै भेटिएको खबर परिवारसम्म पुग्दा उनीहरू केहीबेर पत्याउनै सकेनन्। केही दिनअघिसम्म जसको मृत्यु मानेर किरिया बसेका थिए, उनै चण्डिका अस्पतालमा उपचाररत रहेको खबर परिवारका लागि अविश्वसनीय खुसी बन्यो।

समाचार पाएपछि रमेशमान अस्पताल पुगे। चिकित्सकले केही समय बिरामीलाई प्रत्यक्ष भेट्न नदिएपछि उनी बाहिरै बसेर चण्डिकाको अवस्थाबारे जानकारी लिइरहेका छन्। अस्पताल परिसरमा चण्डिकाका नाति पनि छन्। रमेशमानका अनुसार हजुरआमा जीवितै भेटिएको थाहा पाएपछि उनी पनि अस्पताल आउन जिद्दी गरेका थिए।

‘नाति रोएर हैरान पारेको छ, केही खाएको पनि छैन,’ उनले भने, ‘फोटोमा देखेपछि मेरी आमा चाहियो भन्दै जिद्दी गर्‍यो र यहाँ लिएर आएको हुँ।’

अघिल्लो दिन नातिले दिनभर भगवान्को भजन गाएको प्रसंग सम्झँदै रमेशमान भावुक बने। ‘यो संसारमा भगवान् साँच्चै रहेछ जस्तो लाग्यो,’ उनले भने। बाढीले घर, बाटो र बस्ती तहसनहस बनाएको बेत्रावतीमा चण्डिकाको जीवित उद्धारले भने विपत्तिको बीचमा जीवनप्रतिको आशाको एउटा असाधारण कथा जन्माएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७