भोटेकोसीको सिरानमा बनेको ‘ब्यारियर लेक’ रित्तियो, नदीको बहाव सामान्य अवस्थामा : सिन्ह्वा

तत्कालको खतरा टर्‍यो, ताल निकास भए पनि निगरानी जारी


२०८३ भदौ २० शनिबार २३:५९ बजे

काठमाडौं :  नेपाल–चीन सीमास्थित चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ नाकामाथि पहिरोका कारण बनेको जोखिमपूर्ण तालको पानी पूर्ण रूपमा निकास भएको छ। तालको पानी निकास भएसँगै नदीको बहाव पनि सामान्य अवस्थामा फर्किएको र तालसँग सम्बन्धित जोखिम ठूलो हदसम्म हटेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

सिन्ह्वाका अनुसार शनिबार सार्वजनिक गरिएको ड्रोन तस्बिरमा केरुङ नाकाको मुख्य क्षेत्रमा पहिरोका कारण बनेको ताल रहेको स्थानमा पानीको जमाव हटेको देखिन्छ। क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले तालको पानी निकास भइसकेको र नदीको बहाव सामान्य अवस्थामा फर्किएको जनाएको छ।

गत अगस्ट २६ मा नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको बरफ–चट्टानको ठूलो पहिरोपछि आएको माटो, ढुंगा र पानीको तीव्र बहाव केरुङ नाकासम्म पुगेको थियो। त्यसबाट नाका क्षेत्रमा ठूलो क्षति पुगेको थियो भने नदीको बहाव अवरुद्ध भएपछि माथिल्लो क्षेत्रमा पानी जमेर जोखिमपूर्ण ताल बनेको थियो। चिनियाँ अधिकारीहरूले उक्त ताललाई उद्धार तथा राहत कार्यका लागि प्रमुख जोखिमका रूपमा लिएका थिए।

ताल निकास भए पनि निगरानी जारी

 

चिनियाँ जलस्रोत मन्त्रालयले यसअघि नै तालको पानी क्रमशः घट्दै गएको र नदीको बहाव पुनः सञ्चालन भएको जनाएको थियो। सेप्टेम्बर २ मा विशेषज्ञ टोलीले ताल पूर्ण रूपमा निकास भइसकेको र त्यससँग सम्बन्धित जोखिम नियन्त्रणमा आएको मूल्याङ्कन गरेको थियो। त्यसअघि तालमा करिब २२ लाख घनमिटर पानी जम्मा भएको प्रारम्भिक राडार सर्वेक्षणले देखाएको थियो।

यद्यपि तालको पानी निकास हुँदैमा केरुङ क्षेत्र पूर्ण रूपमा जोखिममुक्त भएको भने होइन। चिनियाँ वैज्ञानिक तथा भूगर्भीय जोखिम विशेषज्ञहरूले नदीको तल्लो क्षेत्रमा पानीको बहाव, पहिरो र अन्य सम्भावित भौगर्भिक जोखिममाथि निरन्तर निगरानी आवश्यक रहेको बताएका छन्।

केरुङ क्षेत्रमा सम्भावित दोस्रो चरणका प्राकृतिक विपद्को जोखिम पहिचान गर्न मौसम, जलस्रोत, प्राकृतिक स्रोत तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका विशेषज्ञ परिचालन गरिएको छ। सेप्टेम्बर ३ सम्म उद्धार मार्गको निरीक्षणका क्रममा ५८ वटा सम्भावित भौगर्भिक विपद् क्षेत्र पहिचान गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

३१ जनाको मृत्यु, ५३१ अझै बेपत्ता

अगस्ट २६ मा केरुङ नाकामा आएको विनाशकारी पहिरोमा परी हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५३१ जना अझै बेपत्ता रहेको स्थानीय आपत्कालीन उद्धार तथा प्रतिक्रिया केन्द्रले जनाएको छ।

उद्धारकर्मीहरूले घटनास्थलबाट ९८७ थान व्यक्तिगत सामग्रीसमेत बरामद गरेका छन्। बेपत्ताको खोजी तथा सम्भावित थप जोखिम नियन्त्रणका लागि चिनियाँ पक्षले ठूलो संख्यामा उद्धारकर्मी, खोज तथा उद्धार उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरेको छ।

चिनियाँ अधिकारीका अनुसार हालसम्म करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन र ८ हजारभन्दा बढी उपकरण परिचालन गरिएको छ। घटनास्थलमा ८०० भन्दा बढी ड्रोन उडान र २४ वटा हेलिकोप्टर उडानमार्फत खोजी तथा निगरानी गरिएको जनाइएको छ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७