अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
कास्कीको किम्रुङखोला थुनिएपछि नयाँपुल–वीरेठाँटीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आग्रह
पर्वत : मोदीखोलाको शाखा किम्रुङखोलामा पहिरो खसेर खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले किम्रुङखोला थुनिएपछि पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम रहेको भन्दै पर्वतको नयाँपुल, वीरेठाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान आग्रह गरेको हो।
प्राधिकरणले स्थानीय प्रशासनलाई आवश्यकता अनुसार प्रतिकार्य अघि बढाउन र मोदीखोला आसपासका क्षेत्रमा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको सूचनाअनुसार किम्रुङखोलामा पहिरो खसेर खोला थुनिएकोले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लैजान, आवश्यकता अनुसार प्रतिकार्य गर्न एवं मोदीखोला आसपास सतर्कता अपनाउन अनुरोध छ।’
खोला थुनिएर बनेको अवरोध फुटेमा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको हो। स्थानीय प्रशासनले पनि नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
किम्रुङखोला मोदीखोलाको शाखा हो। किम्रुङखोलाको बहाव बढ्दा मोदीखोला हुँदै तल्लो तटीय क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो।
.gif)

.png)

