सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद

बचतकर्ताको ५ अर्ब ६७ करोड बिगो भराउने फैसला


२०८३ भदौ २६ शुक्रबार ०८:१८ बजे
फाइल फोटो

काठमाडौं : सिभिल सहकारी ठगी मुद्दामा पूर्वसांसद तथा सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गर्दै ठगी कसुरमा दोषी ठहर भएका प्रतिवादीबाट बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो दामासाहीका आधारमा भराउने फैसला गरेको हो। यसअघि भदौ ११ गते यही इजलासले तामाङसहित १७ जनालाई सहकारी ठगी कसुरमा दोषी ठहर गरेको थियो। उनीहरूलाई संगठित अपराधसम्बन्धी अभियोगमा भने सफाइ दिइएको थियो।

तामाङ २०७८ असोज १८ गतेदेखि थुनामा छन्। अदालतले उनलाई मुख्य प्रतिवादीका रूपमा ५ वर्ष ६ महिना कैद तोकेकाले अब उनको कैद अवधि धेरै बाँकी नरहने देखिन्छ। यद्यपि बिगो भराउने फैसलासँगै उनीमाथिको आर्थिक दायित्व भने कायम रहनेछ।

अदालतले केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको छ। सिर्जना शाक्य तामाङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार र लालकाजी गुरुङलाई जनही १ वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

त्यस्तै दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणप्रसाद प्रधान, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। मीना गुरुङलाई ५ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

यसबैची अदालतले दोषी ठहर भएका प्रतिवादीबाट जाहेरवाला बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो दामासाहीका आधारमा भराउने फैसला गरेको छ। फैसलाअनुसार लालकाजी गुरुङले सहकारीबाट लिएको ६ करोड ९० लाख रुपैयाँ कानुनबमोजिम ब्याजसहित बुझाउनुपर्नेछ। उक्त रकम मूल बिगोबाट घटाएर बाँकी रकम दोषी प्रतिवादीबाट दामासाहीका आधारमा असुल गर्ने अदालतको फैसला छ।
दामासाहीमा बिगो भराउने व्यवस्था भए पनि अदालतको फैसला हुँदैमा बचतकर्ताले तत्काल रकम पाउने अवस्था भने हुँदैन। दोषीको सम्पत्ति पहिचान, रोक्का, मूल्यांकन तथा कानुनी प्रक्रियामार्फत असुली भएपछि मात्रै बचतकर्ताले रकम पाउनेछन्।

सिभिल सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा ४२ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये १७ जना ठगी कसुरमा दोषी ठहर भएका छन् भने बाँकी २६ जनाले सफाइ पाएका छन्। सहकारीको बचत हिनामिना भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो। तामाङमाथि बचतकर्ताले जम्मा गरेको रकम विभिन्न घरजग्गा तथा आवास परियोजनामा परिचालन गरेको र ठूलो परिमाणमा ऋण प्रवाह गरेको आरोप लागेको थियो।
तामाङ पक्राउ परेको करिब पाँच वर्षपछि जिल्ला अदालतले ठगी मुद्दामा सजाय निर्धारण गरेको हो। जिल्ला अदालतको फैसलाविरुद्ध दोषी ठहर भएका प्रतिवादीले माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने कानुनी बाटो भने खुला छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७