ग्यास छैन भने घोषणा गर्नुस्, छ भने जनतालाई दिनुस् : आशिका तामाङ


२०८३ भदौ २६ शुक्रबार १४:२६ बजे

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले बजारमा देखिएको एलपी ग्यास अभावबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै तामाङले ग्यासको वास्तविक अवस्था सरकारले सार्वजनिक गर्नुपर्ने बताइन्। 

ग्यास नभएको हो भने सरकारले त्यसको घोषणा गरेर वैकल्पिक उपाय अपनाउन जनतालाई भन्नुपर्ने र ग्यास उपलब्ध छ भने सर्वसाधारणले सहज रूपमा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। उनले पसलमा ग्यास देखिए पनि सर्वसाधारणलाई बिक्री नगरेको गुनासो आफूलाई दैनिक रूपमा आउने गरेको बताइन्। ‘पसलमा ग्यास छ तर पसलेले बेच्न मान्दैनन्’ भन्दै नागरिकहरूले आफूलाई फोन गर्ने गरेको उनले सदनलाई जानकारी दिइन्।

तामाङले सरकारभन्दा पनि बजारमा ग्यास रोक्ने माफिया शक्तिशाली भएको हो कि भन्ने प्रश्नसमेत उठाइन्। ‘सरकारभन्दा ठूलो माफिया नै हो त ?’ भन्दै उनले ग्यास आपूर्तिको समस्या तत्काल समाधान गर्न माग गरिन्। उनले ग्यास अभाव समाधान गर्न नसकेको भन्दै मन्त्री परिवर्तन गर्दैमा समस्या समाधान नहुने टिप्पणी गरिन्। ‘महिनैपिच्छे ग्यासकै लागि मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,’ उनले भनिन्।

तामाङले ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै तत्काल आपूर्ति सहज बनाउन आग्रह गरिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७