बाढीपहिरोले बागमती र कर्णालीका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडक अवरुद्ध


२०८३ भदौ २६ शुक्रबार ०८:४२ बजे
फाइल फोटो

काठमाडौं : बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। केही सडक खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा समय तोकेर वा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा पनि सडकको स्थलगत अवस्था मूल्यांकन गरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा बन्द भएको छ। रसुवाका अन्य मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्म बन्द छन्। नुवाकोटको टोखा–छहरे सडक खण्डको घट्टेखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। पासाङ ल्हामु सडक खण्डअन्तर्गत बेत्रावती–१० सिमटारमा भने बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

धादिङको बेनीघाट रोराङ–७ कृष्णभिर र थाक्रे–२ कमेरेभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। जबाङखोला तथा थाक्रे–२ बाह्रकिलो क्षेत्रमा पहिरो पन्छाएर यातायात एकतर्फी रूपमा सञ्चालन गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

यता कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो जाँदा मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। अवरुद्ध सडक खुलाउन सडक विभाग र सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७