बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कर्णालीका केही स्थान तथा कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मधेश, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। कर्णालीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका विभिन्न भूभागमा पनि केही तथा थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
मधेश तथा कोशी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। महाशाखाका अनुसार राति बागमती र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
.gif)

.png)

