कोशीदेखि गण्डकीसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सुदूरपश्चिमको तराईका थोरै स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
.gif)

.png)

