बाढीपीडितको आक्रोश राज्यप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कार : रवि लामिछाने


२०८३ भदौ २४ बुधबार १५:२७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा बुझ्न सरकार र राजनीतिक दलका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई विशेष सम्बोधन गर्दै सभापति लामिछानेले त्यस्तो बताए।

गहिरो चोट र अप्रत्याशित शोकमा परेका नागरिकले राज्यप्रति आक्रोश व्यक्त गर्नु अस्वाभाविक नभएको भन्दै उनले त्यस्तो आक्रोशलाई आफूहरूमाथिको प्रहारका रूपमा लिन नहुने बताएका हुन् । लामिछानेले विपद्मा सर्वस्व गुमाएका नागरिकको आक्रोश राज्यप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कार भएको बताए । ‘जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ? नागरिकको त्यो आक्रोश हामीविरुद्धको प्रहार होइन,’ उनले भने, ‘हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ।’

उनले विपद्का बेला नागरिकको आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने क्षमता नै राज्यसत्ताको वास्तविक परीक्षा भएको बताए । ‘त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ लामिछानेले भने । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्था र मानसिक पीडालाई सहानुभूतिका साथ बुझ्नु राज्य र राजनीतिक दलका सदस्यको दायित्व भएको उनको भनाइ छ ।

नेता लामिछानेले महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा तुच्छ टिप्पणी, कटाक्ष र आलोचना नगर्न सरकारका संयन्त्र तथा राजनीतिक दलका शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । ‘सरकार र दलका शुभेच्छुकहरूलाई गम्भीर अपिल गर्न चाहन्छु । यो महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौँ,’ उनले भने ।

उनले विपद्बाट पीडित नागरिकको आक्रोशको जवाफ प्रतिवाद वा कटाक्षबाट नभई सहानुभूति, उद्धार, राहत र राज्यको प्रभावकारी उपस्थितिबाट दिनुपर्ने सन्देश दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७