भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ३९५ पुग्यो
५ हजार १३० अझै बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३९५ पुगेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबारसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।
चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा दुई जनाको पनि मृत्यु भएको प्राधिकरणले जनाएको छ। फेला परेका शवमध्ये हालसम्म १०४ जनाको मात्र सनाखत भएको छ। पहिचान हुन बाँकी शवको सनाखतका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका तथा विस्थापितमध्ये नुवाकोटका होल्डिङ सेन्टरमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन्। बाढी प्रभावितको उपचारतर्फ विभिन्न १९ अस्पतालमा ३४१ जनालाई उपचार गरिएकोमा २७८ जना उपचारपछि घर फर्किसकेका छन्। सुरक्षा निकायमार्फत थप ९ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।
विपद्पछि प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगलाई समेत प्राथमिकता दिइएको छ। स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ भने नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श दिइएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भएपछि अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको छ। सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायको समन्वयमा खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम जारी रहेको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

