विपद्मा प्रचार होइन, परिणाम देऊ : सचेतक राई
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद्को समयमा अहंकारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राईले रसुवाको भोटेकोशी बाढीपीडितको पुनर्स्थापना तथा पुनर्निर्माणको कार्ययोजना तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकलाई कहिले र कहाँ पुनर्स्थापना गरिन्छ भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने उनले बताए। ‘पीडित नागरिक अब कहिले, कहाँ बास पाउँछन् ? कति लामो समयपछि उनीहरूको आफ्नै घर हुनेछ ? त्यो समयसम्म कहाँ र कसरी पुनर्स्थापित गरिनेछ ?’ उनले प्रश्न गरे। राईले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी तथा सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य संकट र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै तत्काल एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना योजना सञ्चालन गर्नुपर्ने बताए।
उनका अनुसार घर तथा आफन्त गुमाएका परिवार, रोजगारी गुमाएका युवा र महँगीबाट प्रभावित नागरिकले सरकारसँग भाषण र आश्वासन नभई परिणाम खोजिरहेका छन्। ‘जसले परिवारका सदस्य गुमायो, घर गुमायो र आफ्नै आँखाअगाडि सम्पत्ति बगाएको देख्यो, उसको पीडा केवल आर्थिक होइन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायले तत्काल मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणको एकीकृत योजना बनाउनुपर्छ।’
विपद् व्यवस्थापनमा सुरुदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या देखिएको उनले बताए। राईले सरकारले प्रतिपक्षी दलहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न नखोजेकोप्रति समेत प्रश्न उठाए। विपद्को समयमा सरकार थप जिम्मेवार, संवेदनशील र उत्तरदायी भएर पुनर्स्थापना तथा पुनर्निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ।
.gif)

.png)

