मोबाइल एपमा रहेको डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी
काठमाडौं : अध्यागमन विभागले आफ्नो मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, भिसालगायतका अभिलेखलाई आधिकारिक मान्यता दिने तयारी गरेको छ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी पर्यटकले होटल चेक–इन, सुरक्षा जाँच, मनी एक्सचेन्ज तथा आन्तरिक हवाई टिकट काट्दा भौतिक राहदानी वा भिसा साथमा नभए पनि मोबाइल एपमा रहेको डिजिटल अभिलेख देखाउन सक्ने व्यवस्था गर्न लागिएको बताए।
नेपाल आएका विदेशी नागरिकले विभागको मोबाइल एपमा लगइन गरी राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरसँग जोडिने तिवारीले जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क राखेर विदेशी नागरिकलाई एप डाउनलोड तथा प्रयोगमा सहजीकरण गर्ने तयारी भइरहेको उनले बताए।
तिवारीका अनुसार हालैको विपद्का क्रममा करिब १ हजार विदेशी नागरिक हराएको प्रारम्भिक जानकारी आएपछि विभिन्न कूटनीतिक नियोगले खोजीका लागि आग्रह गरेका थिए। अध्यागमनको ‘इन/आउट’ विवरण र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा होटलमा दर्ता भएका व्यक्तिको अवस्था पत्ता लगाउन सकिए पनि अन्यको यकिन विवरण तत्काल पत्ता लगाउन कठिन भएको उनले बताए। मोबाइल एपमार्फत विदेशी नागरिकको विवरण अध्यागमन प्रणालीसँग जोडिएपछि विपद् वा संकटका समयमा उनीहरू कहाँ छन् भन्ने तत्काल ‘ट्रेस’ गर्न तथा उद्धारमा सहज हुने विभागको भनाइ छ।
.gif)

.png)

