भोटेकोशी बाढीमा १ हजार ४०९ जना शव फेला
४ हजार ८९ अझै बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लामा १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव छन्। बाढीमा अझै ४ हजार ८९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।
बाढीमा ज्यान गुमाएकाको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्रता दिइएको छ। हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ९७९ जना रहेका छन्। प्रहरीले बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
.gif)

.png)

