बाढीपहिरोको वितण्डा : २७ जनाको मृत्यु

६३० मेगावाट विद्युत् प्रभावित


२०८३ असोज १५ बिहीबार ०९:०२ बजे
फाइल फोटो

काठमाडौं : असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ। बागलुङमा मात्रै १२ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना भएका छन्। घटनामा अझै चार जना बेपत्ता छन् भने ८ जना घाइते भएका छन्।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण लगातार चार दिन वर्षा भएको थियो। वर्षाका कारण देशभर १ हजार ८२ परिवार प्रभावित भएका छन्। गण्डकी र लुम्बिनी प्रदेशमा बढी क्षति पुगेको प्राधिकरणले जनाएको छ।

विशेषगरी गण्डकीका बागलुङ र म्याग्दीमा मानवीय तथा भौतिक क्षति धेरै भएको छ। म्याग्दीको पर्यटकीय क्षेत्र तातोपानीकुण्डसमेत बाढी र पहिरोबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्राधिकरणका अनुसार ३०४ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ। पहिरोमा चार जना बेपत्ता र सात जना घाइते भएका छन्। 

त्यस्तै, ८७ वटा बाढीका घटनामा चार जनाको मृत्यु भएको छ। भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।

हिमाली पदयात्रामा गएको २२ नेपालीको टोलीमध्ये हालसम्म चार जनाको शव फेला परेको छ। बाँकीको खोज तथा उद्धारका लागि हेलिकोप्टरबाट हवाई खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। बुधवार ११ जना सम्पर्कमा आएका थिए।

विपद्का कारण उपत्यका प्रवेश गर्ने सबै नाका केही समय बन्द भए पनि बुधवारदेखि अधिकांश नाका सञ्चालनमा आएका छन्।

प्राधिकरणका अनुसार विपद्का कारण २२७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। बाढीले दुई वटा पुल बगाएको र आठ वटा पुलमा क्षति पुर्‍याएको छ।

बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवासमेत प्रभावित भएको छ। म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ। 

कालीगण्डकी करिडोरमा क्षति पुगेपछि मुस्ताङको कोरला नाकासमेत बन्द भएको छ। कोरला नाकासम्म यातायात सञ्जाल पुनः जोडिन अझै करिब डेढ साता लाग्ने अनुमान गरिएको छ।

बाढीपहिरोले कृषि तथा पशुपालन क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ पशुचौपाया मरेका छन्। जोखिमयुक्त क्षेत्रबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

उद्धार तथा राहतमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालित भएका थिए। उद्धारमा नेपाली सेनाका २६५ र सशस्त्र प्रहरी बलका ४ हजार ३९५ जना परिचालित भएको प्राधिकरणले जनाएको छ।

बाढीपहिरोका कारण विद्युत् उत्पादन र प्रसारणसमेत प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा त्यसबाट विद्युत् प्रवाह हुने १३ वटा उत्पादन केन्द्रको करिब ३७० मेगावाट उत्पादन बन्द भएको छ।

त्यस्तै, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप १४ वटा विद्युत् उत्पादन केन्द्र नदीमा आएको अत्यधिक बहावका कारण बन्द भएका छन्। 

ती केन्द्रबाट उत्पादन हुने करिब ६३० मेगावाट विद्युत् प्रभावित भएको प्राधिकरणले जनाएको छ। बाढीले रघुगंगा जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७