कांग्रेसमा दुई धार : देउवा पक्षको वडा अधिवेशन आज


२०८३ असोज १५ बिहीबार ०९:२२ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि आजदेखि समानान्तर अधिवेशन प्रक्रिया अघि बढाउँदैछ। देउवा पक्षले आज असोज १५ गते वडा अधिवेशन गर्न लागेको हो। 

कांग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो। देउवा पक्षले आफ्नो महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ। 

उसको कार्यतालिकाअनुसार आज वडा अधिवेशनपछि असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।

देउवा पक्षले महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तथा विभिन्न जिल्लामा संयोजक खटाएको जनाएको छ। आज हुने वडा अधिवेशनका लागि भने ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको बताइएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने अडान देउवा पक्षले राख्दै आएको थियो। 

तर संस्थापन पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिकासहित अधिवेशनको तयारी थालेको हो।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।

देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साहका साथ वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७