कार्यदलको प्रतिवेदनलाई लिएर ओली-शंकर टकराव : शंकर लैजाँदै, ओली रोक्दै
शंकरको तयारीलाई ओलीको रोक : कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा जाँदैन
काठमाडौं : नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई लिएर अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहितका नेताहरुबिचको मतभेद सतहमा आएको छ। कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने तयारी भइरहेका बेला ओलीले भने त्यसलाई केन्द्रीय कमिटीमा नलैजाने अडान लिएका छन्।
आइतबार बसेको सचिवालय बैठकले कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन ग्रहण गरेको थियो। उपमहासचिव लेखराज भट्टले कार्यदलले चार महिनाको कामपछि सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेको र सचिवालयले त्यसलाई ग्रहण गरेको बताएका थिए। उनका अनुसार प्रतिवेदनमा नेतृत्वसम्बन्धी विवादित विषय हटाइएको थियो। तर सोमबार बिहान च्यासलमा बसेको सचिवालय बैठकमा त्यही प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लैजाने विषयमा विवाद देखियो।
बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन केन्द्रीय कमिटीमा नलैजाने स्पष्ट धारणा राखेको एक सचिवालय सदस्यले बताए। ‘यो प्रतिवेदन मैले बुझेँ, अब यही रहन्छ । केन्द्रीय कमिटीमा जाँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले बताए।
एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर नेता–कार्यकर्ताका सुझाव संकलन गरेको थियो।
त्यस क्रममा पार्टीभित्र नेतृत्व र संगठन पुनर्गठनको विषय जोडतोडका साथ उठेको थियो। ती सुझावका आधारमा महासचिव शंकर पोखरेलले छुट्टै प्रतिवेदन तयार गरेका थिए। त्यसमा पार्टी पुनर्गठनसँगै नेतृत्व पुनर्गठनको विषयसमेत उठाइएको थियो।
तर कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले त्यससँग फरक धारको प्रतिवेदन तयार गरे। त्यसपछि दुई प्रतिवेदनलाई एउटै दस्तावेजमा समेट्ने प्रयास सुरु भयो। दुवै प्रतिवेदनबीच सहमति जुटाउन नसकेपछि अध्यक्ष ओलीले कार्यदलका सदस्यसमेत नरहेका प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार गर्न लगाएका थिए। ज्ञवालीले तयार पारेको प्रतिवेदनले नेतृत्व परिवर्तनको प्रस्तावलाई अघि नबढाउने धारणा लिएको सार्वजनिक विवरण छ।
अन्ततः विभिन्न मस्यौदा र सुझावलाई समेटेर कार्यदलले नेतृत्व परिवर्तनसम्बन्धी प्रत्यक्ष विवाद हटाएको एकीकृत प्रतिवेदन तयार गरेको थियो। उपमहासचिव भट्टले समेत नेतृत्व परिवर्तनसम्बन्धी विषय हटाएर सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताएका थिए।
कार्यदलको साझा प्रतिवेदन आइतबार सचिवालयमा पेस भएपछि विवाद सकिने अपेक्षा गरिएको थियो। तर उल्टै विवाद झन् सतहमा आयो। अध्यक्ष ओलीले प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘चिर्कटो’को संज्ञा दिएका थिए। उनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्तावप्रति समेत प्रश्न उठाएका थिए। सार्वजनिक रिपोर्टअनुसार ओलीले यसलाई कांग्रेस सभापति गगन थापाको शैलीसँग जोडेर प्रश्न गरेका थिए।
बैठकमा ओलीको आपत्तिपछि प्रतिवेदन तत्कालै निष्कर्षमा पुग्न सकेन। यद्यपि, ओलीनिकट मानिने केही नेताले समेत प्रतिवेदनमा अध्यक्ष हटाउने वा नेतृत्व परिवर्तन गर्ने विषय स्पष्ट रूपमा नरहेको भन्दै त्यसलाई केन्द्रीय कमिटीमा लैजानुपर्ने धारणा राखेको थिए।
.gif)

.png)

