बुढीगण्डकीमा बाढीको वितण्डा : उद्धारका लागि हेलिकोप्टर परिचालन, सतर्क रहन आग्रह


२०८३ असोज २५ आइतबार ०८:०० बजे

गोरखा : बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन्।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न परिचालन गरिएको बताएका छन्।

चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको गृहमन्त्री गुरुङले बताए। नदीको बहाव निरन्तर बढिरहेको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।

उनले नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू पनि त्यसतर्फ जाने उनले बताएका छन्।

आज बिहान करिब ४ बजे आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्‍याएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्। बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए।

बाढीको जोखिम बढेपछि सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको जानकारी दिए।

गृह मन्त्रालयले आपत्कालीन सहायताका लागि १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। बाढीले पुर्‍याएको भौतिक क्षतिको विस्तृत विवरणसमेत संकलन भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७