रवि-बालेन साढे ५ घण्टा छलफल, सुनारदेखि आईजीपी र राजदूत नियुक्तिसम्मका विषय

बिहान ९ः४५ बजे लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो पौने ३ बजे त्यहाँबाट बाहिरिएका थिए।


२०८३ कार्तिक १२ बुधबार २२:५० बजे

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा लामो छलफल भएको छ। सरकार सञ्चालन, विवादमा परेका सांसद खगेन्द्र सुनारको विषय, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विकल्प र राजदूत नियुक्ती सहितका विषयमा दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बूढानीलकण्ठ पुगेका थिए। ती स्रोतका अनुसार बिहान ९ः४५ बजे पुगेका शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट बाहिरिएका थिए। लामो समय चलेको भेटमा दुवै नेताले सरकार र पार्टीसँग सम्बन्धित संवेदनशील विषयमा धारणा आदानप्रदान गरेका थिए।

छलफलको एउटा महत्त्वपूर्ण विषय रास्वपाका सांसद खगेन्द्र सुनारसँग जोडिएको विवाद रहेको बताइएको छ। एक महिलालाई गम्भीर गालीगलौज गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि प्रश्न उठेको छ। उक्त प्रकरणले पार्टीको सार्वजनिक छवि र राजनीतिक जवाफदेहितामाथि प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको स्रोतको दाबी छ।

स्रोतका अनुसार सुनारलाई पदबाट हटाउने वा राजीनामा गराउने विषयमा दुवै नेता सकारात्मक देखिएका छन्। तर, त्यसका लागि आवश्यक प्रमाण, कानुनी प्रक्रिया र निर्णय कार्यान्वयनको विधिबारे छलफल भएको बताइएको छ। ‘प्रमाण पुगेका आधारमा सुनारलाई बर्खास्त गर्ने विषयमा दुवै नेता सकारात्मक देखिएका छन्,’ स्रोतले भन्यो। 

दुई नेताबीच नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भूमिकाबारे पनि कुराकानी भएको स्रोतको दाबी छ। केही व्यक्तिसँगको उठबस र सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै प्रधानमन्त्री शाहले प्रहरी नेतृत्वको विकल्प खोज्ने विषयमा लामिछानेसँग परामर्श गरेको बताइएको छ।सभापति लामिछानेले भने सुरक्षा निकायका प्रमुखलाई बर्खास्त गर्दा गलत सन्देश जानसक्ने बताएको स्रोतको भनाई छ । 

आईजीपी कार्कीसँग जोडिएको प्रहरी पोशाक खरिदबारे छलफल गर्न भोलि सिंहदरबारमा संसदीय उपसमितिको बैठक बोलाइएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको दोस्रो बैठक बिहीबार बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा रहेको उपसमितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत १६ असोजमा पोशाक खरिदसम्बन्धी अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको पहिलो बैठक २१ असोजमा बसेको थियो । उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।

उपसमितिलाई दुई महिनाभित्र प्राप्त उजुरीको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । उक्त खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले प्रश्न उठाउँदै आएका छन् ।

लामो छलफलका क्रममा दुई नेताले लञ्चसहित खानपिन गरेका थिए। भेट औपचारिक राजनीतिक विषयमा मात्रै सीमित नभई निजीस्तरका कुराकानीमा समेत केन्द्रित भएको स्रोतको भनाइ छ। तिहारपछि थप छलफल गर्ने समझदारीसहित दुवै नेता छुट्टिएका थिए।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७