यूएईमा २३ सवारीसाधन आपसमा ठोक्किएर आगलागी, १४ जनाको मृत्यु
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा २३ वटा सवारीसाधन एकापसमा ठोक्किएर आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
यूएईको गृह मन्त्रालयका अनुसार पाँच ट्रक र १८ कार दुर्घटनामा परेका हुन् । मध्यरात हुनुअघि फुजैराह प्रवेशद्वारमा ट्राफिक सुस्त गतिमा चलिरहेका बेला एउटा ट्रकका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो ।
नियन्त्रण गुमाएको ट्रक अर्को गाडीसँग ठोक्किएपछि अन्य सवारीसाधन पनि एकपछि अर्को गर्दै ठोक्किएका थिए ।
दुर्घटनापछि ट्रकमा आगलागी भएको र आगो नजिकै रहेका अन्य सवारीसाधनमा समेत फैलिएको मन्त्रालयले जनाएको छ । आगलागीका कारण ठूलो मानवीय क्षति भएको हो ।
फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल पुर्याइएको जनाएको छ । मृतकहरूको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा यूएईका केही नागरिक पनि छन् । यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको समेत मृत्यु भएको पुष्टि गरेको छ ।
दूतावासले मृतकका परिवारसँग सम्पर्क गरिरहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
.gif)

.png)




