बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ घाइते

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु भएको छ भने भाइ घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार बुधबार बिहान झापा काँकडभिटबाट धरान जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो ।
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दाहालले मृतक आचार्य उदयपुर बेलका नगरपालिका निवासी भएको जानकारी दिए । त्यसैगरी, घटनामा मोटरसाइकलमा हाँकिरहेका इटहरी नगरपालिकाका हरि शर्मा भने घाइते भएका छन् ।
घाइते शर्मालाई उपचारका लागि विराटनगर र मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा लगिएको दाहालले जानकारी दिए । प्रहरी नायब उपरिक्षक दाहालका अनुसार मोटरसाइकल चालक र मृतक दुई जना दिदी–भाइ हुन् । प्रहरीले दुर्घटनामा संलग्न कन्काई नगरपालिकाका ५१ वर्षीय बस चालक सोमलाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।